प्रदेश २ को निर्वाचन कांग्रेसका लागि जीवनमरणको सवाल: प्रधानमन्त्री देउवा

 प्रदेश २ को निर्वाचन कांग्रेसका लागि जीवनमरणको सवाल: प्रधानमन्त्री देउवा

जनकपुरधाम: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले प्रदेश नम्बर २ मा स्थानीय निकायको निर्वाचन पार्टीको लागि जीवन मरणको सवाल भएको बताएका छन्। विहीबार कांग्रेसले जनकपुरमा आयोजना गरिएको बृहत्त प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

सभापति देउवाले भने, 'मधेसको मुद्दा र माग सम्बोधन गराउनका लागि संविधान संशोधन गराएरै छाड्ने छौं । तर, मधेसी जनताले पनि आफ्ना हितमा काम गर्नेलाई जिताएर देखाउनुपर्छ।'

उनले मधेसको मतपरिणामले कांग्रेसको भविष्य निर्धारण गर्ने हुनाले यस प्रदेशमा जसरी पनि विजय हासिल गरेरै छाड्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन।

नेता कार्यकर्तालाई सम्बोधित दिँदै उनले भने, 'यदि यो पटक मौका हातबाट गयो भने फेरी फर्किन गाह्रो हुन्छ। त्यसैले निर्वाचनको मतपरिणाम हात पार्न पार्टीले केन्द्रबाट जे जति सहयोग गर्नुपर्छ हामि गर्न तयार छौं।'

नेकपा एमालले पहाडिया राष्ट्रवादको नारा दिएर देशलाई विखण्डनतिर लगेको हुनाले यस्ता विखण्डनकारी शक्तिहरुलाई जनताले परास्त गर्नुपर्ने उनको भनाई थियो। अबको लगानी र विकास मधेसमै केन्द्रित गर्ने कांग्रेसको योजना भएको हुँदा त्यसको सदुपयोगका लागि पनि पार्टीलाई मत दिन मतदाताहरुलाई उनले आग्रह गरे।

दुई चरणको निर्वाचनमा राम्रो मत परिणाम आउन नसक्नुको एक प्रमुख कारण उम्मेदवार चयनमा भएको ढिलाई समेत रहेको औल्याउँदै सभापति देउवाले यसपाली टिकट वितरण मेरो र तेरो नभनी जित्नेलाई दिनका लागि छनौट प्रक्रिया अघि बढाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिए।

कार्यक्रममा सहभागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले तराई मधेसको सवाल सिङ्गो राष्ट्रको सवाल भएको हुनाले यसप्रति वेइमानी गर्नेलाई मधेसी जनताले मताधिकारको प्रयोग गरि सखाप पार्नु पर्ने बताए।

उनले भने, 'एमालेका भ्रष्ट पार्टी रहेको छ र उसले सरकारी बजेट पायो भर्ने बाउको सम्पक्ति' ठानेर सिध्याउने काम गर्छ त्यसैले यस्ता पार्टीबाट सचेत भई मधेसी जनताले मताधिकारको प्रयोग गर्नुपर्दछ।

त्यसैगरी कार्यक्रममा सहभागि कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेसीनै भएको हुंदा पार्टी भित्र एकता अतिनै आवश्यक रहेको बताए। पार्टी हार्यो भने त्यसको कारण आफ्नै भित्रको अन्तरघात हुने हुनाले उनले गुप उपगुट भन्दा माथी भई एकताका साथ निर्वाचन जित्न सबै लाग्नु पर्ने धारणा राखे।

कांसलाई हराउने शक्ति मात्र कांग्रेसीहरुमा रहेको हुंदा आफूभित्रका मतान्तरहरुलाई एक गरि निर्वाचनमा एकताबद्ध भई भाग लिन उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे।

त्यसैगरी कार्यक्रममा सहभागि नेकाँ केन्द्रीय सदस्य र श्रम तथा रोजगार मन्त्री फरमुल्ला मंसुरले एमालेले पटक पटक मधेसी जनताको भावनासँग खेलवाड गर्ने अभिव्यक्तिहरु दिएको र यसबाट मधेसीको अपमान भएको हुंदा असोज २ गते आफ्नो अपमानको बदला मताधिकारको प्रयोग गरि जनताले दिनुपर्ने बताए।

उनले मधेसको मसिहा बनेर मधेसीको मत पाएका मधेसवादी दलहरुले जहिले पनि सत्तामोहमा परि यहाँका जनताको भावनासंग खेलवाड गरेको हुनाले मधेसी दलको नौटंकी हेरेर नबस्न र निर्वाचनको पक्षमा उभ्न मधेसी जनतालाई आग्रह गरे।

सभामा नेकाँका केन्द्रीय सदस्य तथा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव, कृषि विकास मन्त्री रामकृष्ण यादव, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, आनन्द ढुंगाना, विमलेन्द्र निधि लगायतले आफ्ना अभिव्यक्तिहरु दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.