प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय अड्को

प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय अड्को

काठमाडौं : भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी प्रतिष्ठान अझै अन्योलमा छ । नेपालले एकपक्षीय ढंगलले प्रतिष्ठानको गुरुयोजना बनाएको भन्दै भारतीय पक्ष असन्तुष्ट बनेपछि प्रतिष्ठान निर्माण अन्योलमा परेको हो ।काभ्रेको पनौतीमा अत्याधुनिक प्रहरी प्रतिष्ठान बनाउन भारतले १८ वर्षयता नेपाललाई आस देखाउँदै आएको छ । त्यसका लागि नेपाल सरकारले पनौतीमै ४२.२ हेक्टर जग्गा अधिग्रहण पनि गरिसकेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा प्रतिष्ठान बनाउने प्रतिबद्धता मात्र व्यक्त गरेनन्, सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहिर शिलान्याससमेत गरे । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा प्रतिष्ठानको शिलान्यास गरेका थिए।

शिलान्यासको फोटो अहिले पनि राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सजाएर राखिएको छ । कोइरालापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा प्रतिष्ठान बनाउने विषय उठाएका थिए । भारतीय पक्षबाट आश्वस्त रहन भनिए पनि अझै प्रतिबद्धताअनुसार काम हुन सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा पनि यो विषयले महत्व पाउने उच्च सरकारी अधिकारीको दाबी छ । देउवाको भारत भ्रमणको एजेन्डामा पार्न गृह मन्त्रालयले अर्थ मन्त्रालयको वैदेशिक महाशाखाको सहयोग लिएर डकुमेन्ट तयार पारिरहेको छ ।भारतले प्रतिष्ठान निर्माणका लागि नेपाललाई आठ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो । पछिल्लो समय भारतले समझदारीपत्र (एमओयू)मै संशोधन गर्नुपर्ने अडान राखेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतले प्रतिष्ठान निर्माणका लागि नेपाललाई आठ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो ।

नेपालले परामर्शदाता नियुक्तिका लागि आह्वान गरेको आवेदनमा १० वटा फर्मले दरखास्त हालेका थिए । भारतीय पक्षले परामर्शदाता नियुक्तिमा भारतीय पक्षको परामर्श लिनुपर्ने अडान राखेपछि उक्त प्रक्रिया रोकिएको छ । एमओयूमा पनि उक्त व्यवस्था उल्लेख छ ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव प्रमुख वैकुण्ठ अर्यालले प्रहरी प्रतिष्ठान बनाउने विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको बताए । भने, 'एक तहको छलफल भइसकेको छ फेरि एमओयू गर्ने विषय उठेको छ । दिल्लीबाटै यो विषयलाई गम्भीर ढंगले हेरिएको भन्ने कुरा आएको छ ।' भारतीय पक्षले भने हुलाकी मार्गको मोडलमा एमओयू गर्नुपर्ने अडान लिएको स्रोतले बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भारतीय सहयोगमा बनाउने भनिएको प्रहरी प्रतिष्ठानका विषयमा छलफल चलिरहेको बताए । भने, 'अर्थ मन्त्रालयको समन्वयमा बैठक भइरहेको छ, कसरी अगाडि बढ्ने भन्नेबारे निक्र्योलमा पुगिएको छैन ।'

चीन सरकारले भने सशस्त्र प्रहरी बललाई अत्याधुनिक एकेडेमी बनाउन गरेको सम्झौताको दुई वर्षमै सरकारलाई हस्तान्तरण गरिसकेको छ । मातातीर्थमा बनेको उक्त एकेडेमी तीन अर्ब ६० करोड रुपैयाँको लागतमा बनेको हो । चिनियाँ राजदूत यू होङले गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा गृहसचिव लोकदर्शन रेग्मीलाई एकेडेमी हस्तान्तरण गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.