अस्ताए संस्कृतका ज्ञाता
काठमाडौं : धर्म, संस्कृतिका प्रकाण्ड विद्वान् आचार्य खेमराज केशवशरणको ८१ वर्षको उमेरमा निधन भएको छ । सन्त शिरोमणिका नामले पनि परिचित उनको बुधबार राति १० बजे सिफलस्थित निवासमा निधन भएको हो ।
उनका शिष्य नारायणशरण घिमिरेका अनुसार एक महिनाअघि मस्तिष्कघातबाट पीडित आचार्य केशवशरण उपचारपछि हेर्न र हात चलाउन सक्ने भइसकेका थिए । त्यसअघि उनलाई प्रेसर, सुगर, अल्जाइमर, कोलेस्ट्रोल, मुटु र मिर्गौलासम्बन्धी रोगले सताएका थियो । उनी भजन, कीर्तनका साथै संगीत सुन्न मन पराउँथे । ‘उहाँ संगीतप्रेमी, म उहाँको शिष्य, मैले नै गाएर सुनाउँथें', घिमिरेले भने ।
उनको बोली बन्द भएको एक महिनाजति भइसकेको थियो । देवघाटमा आफ्नो देह विसर्जन गर्ने इच्छाबमोजिम असार २४ गते उनलाई हेलिकोप्टर चार्टर गरी त्यता लगिएको थियो । त्यहाँ २२ दिन राखेर भागवत वाचन, गण्डकीको जलमा लगेर स्नानलगायत कर्मकाण्ड गरिएको थियो । आफैंले निर्माण गरेको शरणागती आ श्रममा बस्ने उनलाई त्यहाँको गर्मीले गाह्रो भएपछि पाँच दिनअघि मात्र काठमाडौं ल्याइएको थियो ।
२०२३ सालमा स्थापित सनातन धर्म सेवा समितिका संस्थापक सदस्य उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । कान्छो छोरो गिरिधर उपाध्याय स्वदेशमै रहे पनि जेठो छोरो मोहन अमेरिकाबाट शुक्रबार मात्र आइपुग्ने भएकाले उनको दाहसंस्कार शुक्रबार बिहान १० बजे गर्ने तय भएको छ ।
उनी नेपाली र संस्कृत भाषाका प्रकाण्ड विद्वान् हुनुका साथै अंग्रेजी, हिन्दी, मैथली, अवधिलगायत धेरै भाषाका पनि ज्ञाता थिए । उनी संस्कृत र नेपाली भाषामा ‘आँसु कवि' नै रहेको संस्कृतिविद् डा. गोविन्द टन्डन बताउँछन् । टन्डनका अनुसार २०१९ सालतिर भारतको वृन्दावनबाट खेमराज केशवशरण नेपाल आएदेखि नै आफ्नो बुबासँग भेटघाट गर्न घरमै आउने गर्थे । त्यही भएकाले सानै उमेरदेखि केशवशरणलाई चिनेको उनी सुनाउँछन् । ‘उहाँले मलाई हातै समातेर धेरै कुरा लेख्न सिकाउनुभयो', उनी सम्झन्छन् ।
केशवशरण ७५ वर्षको हुँदा भरत जंगमको अध्यक्षतामा हीरक महोत्सव समारोह समिति गठन गरी धुमधामसँग हीरक महोत्सव मनाइएको थियो । त्यतिबेला राष्ट्रपति, प्रधानमन्त्रीलगायत व्यक्तित्वको उपस्थितिमा केशवशरणलाई हात्तीमाथि राखेर अभिनन्दन गरिएको थियो । उनको व्यक्तित्व र कृतित्वमा आधारित रहेर थुप्रै विद्वान्ले लेखेका लेख समेटी १४ सय पृष्ठको अभिनन्दनग्रन्थ पनि प्रकाशन भएको थियो ।
उनको बोली बन्द भएको एक महिनाजति भइसकेको थियो । देवघाटमा आफ्नो देह विसर्जन गर्ने इच्छाबमोजिम असार २४ गते उनलाई हेलिकोप्टर चार्टर गरी त्यता लगिएको थियो । त्यहाँ २२ दिन राखेर भागवत वाचन, गण्डकीको जलमा लगेर स्नानलगायत कर्मकाण्ड गरिएको थियो ।
नेपालमा वैदिक सनातन धर्मको प्रचारमा उनले मुख्य भूमिका निर्वाह गरेको जंगम बताउँछन् । ‘कृष्णजन्माष्टमीको अवसरमा गाउँ-गाउँमा कृष्णको पूजाआराधना र भजन हुन्थ्यो तर काठमाडौंमा कुनै उत्सव हुन्थेन', उनी स्मरण गर्छन्, ‘आचार्य केशवशरणले कृष्णको मूर्तिलाई बग्गीमा हाली टुँडिखेलमा राखेर नगर परिक्रमा गराएपछि मात्रै यसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन थालियो ।' उनका अनुसार त्यसपछि मात्रै पाटनको कृष्णमन्दिरको पनि गरिमा बढेको र तत्कालीन राजा कृष्णजन्माष्टमीका दिन कृष्णमन्दिर जान थालेका थिए ।
भागवत् चिन्तन गर्ने, भगवान्कै नाम लिने अनि सबैलाई सहयोग गर्ने त्यागी स्वभावका केशवशरणले सनातन धर्म सेवा समितिलाई दिगो राख्न नौ लाख रुपैयाँ जम्मा गरिदिएका थिए । आफू बिरामी भएपछि करिब २० लाख रुपैयाँ जम्मा गरेर उनले सुरु गरेको ‘आचार्य खेमराज केशवशरण प्रतिष्ठान'ले धर्म, साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्दै आएको छ । पहिलोपटक सम्मानित हुनेमा भरत जंगम र प्रा. प्रयागराज वाशिष्ठ छन् । प्रा. वाशिष्ठका अनुसार एक दर्जनभन्दा बढी भाषा जान्ने आचार्य केशवशरण पूर्वीय दर्शन र भक्ति दर्शनका ज्ञाता हुनुका साथै संस्कृत साहित्यका धुरन्धर विद्वान् हुन् । उनले झन्डै साढे दुई दशक वाल्मीकि क्याम्पसमा प्राध्यापन गरेका थिए ।
मोरङको लेटाङ जाँतेमा १९९३ सालमा जन्मिएका उनको लेखनमा पनि रुचि थियो । उनले ‘गौरी' पत्रिकामा आठ वर्षदेखि ‘साधनाको पाइला' शीर्षकको स्तम्भ लेख्दै आएका थिए । उक्त स्तम्भका लागि अझै दुई वर्ष पुग्ने लेख आफूसँग रहेको सम्पादक अर्जुन लामिछानेले बताए ।
सामाजिक सेवा राष्ट्रिय परिषदन्तर्गतको हिन्दू धर्म सेवा समन्वय समितिको पहिलो अध्यक्षसमेत रहेका केशवशरणले अन्तर्राष्ट्रिय शरणागति आध्यात्मिक प्रतिष्ठान स्थापना गरेर सोहीमार्फत अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा पनि १२ वर्षसम्म श्रीमद्भागवत् वाचन र प्रवचन गराएका थिए । रेडियो नेपालमा प्रत्येक शनिबार बिहान झन्डै तीन दशक प्रसारित उनको कार्यक्रम ‘लक्ष्य चिन्तन' कार्यक्रम निकै लोकप्रिय मानिन्छ । उनले २०२४ सालमा संस्कृत कृति ‘हर्ष चरित्र'लाई नेपालीमा अनुवाद गरेका थिए ।
नेपाली, संस्कृत, अंग्रेजीलगायत भाषामा भजन र आह्वान संगीत गरेका उनका ४४ पुस्तक प्रकाशित छन् भने आठवटा प्रकाशनोन्मुख छन् । उनका थुप्रै भजन रेडियो नेपालमा रेकर्डिङ गरिएका छन् ।