भरतपुर–१९ मा मतदान सुरु
भरतपुर : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ का मतदाताले शुक्रबार पुनः मतदान गर्दै छन् । पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न विवाद सल्टाउँदै सर्वोच्च अदालतले दिएको आदेशअनुरूप पुनः मतदान हुन लागेको हो । यो वडामा ३ हजार ७ सय ९७ मतदाता छन् ।
जीवनज्योति आधारभूत विद्यालय केन्द्रमा १३०६, शारदा माविमा १२२३ र किरण माविमा १२४८ मतदाताले मतदान गर्दैछन् । निर्वाचन अधिकारीले तीन मतदान केन्द्रमा हुने निर्वाचनका लागि बिहीबार सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । मतदान केन्द्र व्यवस्थापनको काम पनि बिहीबार नै सकिएको थियाे । गुञ्जनगरस्थित जीवनज्योति आधारभूत विद्यालयको ‘क' केन्द्रका मतदान अधिकृत नाारायण पौडेलले सबै तयारी सकिएको बताए ।
जिल्लाका सुरक्षा निकायहरूको ध्यान पनि पुनः मतदानमै केन्द्रित भएको छ । ‘जिल्ला सुरक्षा समितिले अति संवेदनशील रूपमा विश्लेषण गरेर तयारी गरेका छौं', एसपी दीपक थापाले भने, ‘मतदातालाई सुरक्षाको अनुभूति दिलाउन सुरक्षा व्यवस्था मजबुत पारेका छौं ।' नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी नौ सय सुरक्षाकर्मी परिचालित छन् ।
तीन तहको घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । पहिलोमा नेपाल प्रहरी, त्यसबाहिर सशस्त्र र सेनाको गरी सुरक्षा घेरा बनाइएको हो । ‘विशेष परिस्थितिको निर्वाचन भएकाले नराम्रो नहोस् भनेर पर्याप्त तयारी गरेका छौं', प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘सुरक्षाको कुनै अभाव र कमी हुन दिँदैनौं ।'