प्रधानमन्त्रीको सडक चासो

प्रधानमन्त्रीको सडक चासो

 

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ-मुग्लिन सडकको दुरवस्थाप्रति गम्भीर चासो देखाएका छन् । देउवा आफैंले पहिरो गएका ठाउँ र सडक स्तरोन्नति भएका ठाउँहरूमा पुगेर तत्काल काम सक्न निर्देशन दिएका छन् । उनले सरकारले 'आवश्यक कुरा जुटाइदिने' आश्वासन पनि दिए । सत्तारोहणसँगै एकपछि अर्को विवादमा तानिएका देउवाले डेढ महिनापछि लाखौं जनताको सरोकारको विषयमा चासो देखाएपछि यसलाई सकारात्मक रूपमा लिइएको छ ।

यसलाई प्रचारका रूपमा मात्रै नलिई सरकारले निर्देशनको पालना भए÷नभएको निरन्तर अनुगमन गर्न सक्नुपर्छ । सरकारले निर्देशन दिने, प्रतिबद्धता व्यक्त गर्नेजस्ता औपचारिकता पटकपटक गर्ने गरेको छ, तर प्रश्न सधैं कार्यान्वयनमा आएर अड्किन्छ । त्यसकारण यस सन्दर्भमा पनि कार्यान्वयन मूल प्रश्न हो भन्ने बिर्सनु हुँदैन ।

नारायणगढ-मुग्लिन सडक स्तरोन्नतिको काम सुरु भएको २८ महिना बितिसक्दा पनि सकिएको छैन । उक्त सडक खण्ड पूर्णरूपमा सुचारु हुन नसक्दा राजमार्गको दैनिक जनजीवन अत्यन्त प्रभावित छ । बुधबार बेलुकादेखि त आवागमन ठप्पै भएको छ । एकातिर स्तरोन्नतिको काम व्यवस्थित र चुस्त हुन नसक्दा उसै पनि आवागमन प्रभावित थियो, त्यसमाथि करिब एक दर्जन ठाउँमा पहिरो जाँदा यो सडक खण्ड पूरै ठप्प छ । अस्थायी रूपमा बाटो खोल्ने प्रयास भइरहे पनि उक्त सडक खण्ड हुँदै यात्रा गर्नु अति नै जोखिमपूर्ण देखिएको छ । बुधबार बेलुकी पहिरो जाँदा त्यहाँ दुईवटा सवारी साधन पुरिएका थिए भने यात्रुहरूले भागेर ज्यान जोगाएका थिए । बिहीबार पनि दुईवटा ट्रक पुरिए ।

यो सडक खण्डमा भयग्रस्त अवस्थामा यात्रुहरू यात्रा गर्न बाध्य छन् । हरेक नागरिकले सहज र भयरहित आवागमन गर्न पाउनुपर्छ । नागरिकको सबैखाले अधिकारको सुनिश्चितता गर्ने दायित्व बोकेको सरकार यसतर्फ गम्भीर हुनुपर्छ ।

पूर्व र पश्चिम नेपाललाई राजधानीसंग जोड्ने एउटा मुख्य मार्ग हो, नारायणगढ-मुग्लिन सडक खण्ड । यो सडक खण्ड हुँदै सहज आवागमन नहुँदा हजारौं मानिस प्रभावित छन् । अन्तर्राष्ट्रिय बजार हँदै आपूर्ति हुने र निर्यात हुने मालवस्तुहरू लैजाने मार्ग पनि यही हो । यो हाम्रो लागि 'लाइफलाइन' नै हो । यात्रुहरूको दैनिक जीवन र आवतजावत मात्रै होइन, यसको दुरवस्थाको असर राष्ट्रिय अर्थतन्त्रसँग जोडिन्छ ।

यसको संवेदनशीलता बढी भएकैले देउवा स्वयं स्थलगत निरीक्षणमै पुगेका छन् । त्यसकारण यसको स्तरोन्नतिको काममा संलग्न सरकारी निकाय र ठेकेदार कम्पनीहरूले यो संवेदनशीलतालाई महसुस गर्नु जरुरी छ । निर्माण कम्पनीहरूले समयमै काम सम्पन्न नहुनुलाई नाकाबन्दी र भूकम्पलाई कारक देखाउने गरेका छन् । तर अब बहानाबाजी सुन्ने होइन, परिणाम खोज्नेतिर सरकारी अग्रसरता हुनुपर्छ ।

एकातिर सडक स्तरोन्नति र अर्कोतर्फ दर्जनौं पहिरो गएर बाटो अवरुद्ध भएकाले दोहोरो काम परेको छ । त्यसकारण काम द्रूतगतिमा हुनुपर्छ । प्रधानमन्त्रीले निर्देशन दिएसँगै सरकारी नियमनकारी निकायहरूले यसको पालना भएनभएको सूक्ष्म निरीक्षण गरिरहनुपर्छ । जोखिम र भयग्रस्त मानसिकतामा यात्रा गर्नुपर्ने अहिलेको अवस्थाको अन्त्यको लागि सरकारले वैकल्पिक उपाय खोजी गर्नु आवश्यक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.