स्वाइनफ्लु परीक्षणमा समस्या

स्वाइनफ्लु परीक्षणमा समस्या

नेपालगन्ज : ‘किट' नभएपछि बाँकेमा अहिले बिरामीको रोग पत्ता लगाउन समस्या भएको छ । टाउको दुख्ने, ज्वरो आउने र शरीर दुख्ने लक्षण लिएर आएका बिरामीलाई यहाँका चिकित्सकले ‘स्वाइनफ्लु' को आशंका गरेका छन् । भेरी अञ्चल अस्पतालमा केही दिनदेखि दैनिक १० जना बिरामी यही लक्षण लिएर आउने गरेका छन् । तर, अस्पतालसँग रोग पत्ता लगाउने किट नहुँदा रोग एकीन हुन सकेको छैन । त्यसैले सामान्य रोकथामबाहेक बिरामीका लागि औषधिसमेत चलाउन समस्या देखिएको डाक्टरले बताएका छन् ।

अस्पतालका फिजिसियन डा. खगेन्द्र शाहीका अनुसार अञ्चल अस्पताल नेपालगन्जमा मात्र दैनिक ८-१० जना शंकास्पद स्वाइनफ्लुका बिरामी आउने गरेका छन् । तर, स्वाइनफ्लु पत्ता लगाउने किटको अभाव हुँदा बिरामीको औषधोपचारमा समस्या देखिएको छ । टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षण भएका बिरामी दैनिक १० जनासम्म आइरहेको डा. शाहीले बताए । यस्तो लक्षण स्वाइनफ्लुका बिरामीमा देखिन्छ । ‘पछिल्लो समय उपचारका लागि आएका धेरै बिरामीमा देखिएका लक्षण ‘इन्फ्लुएन्जा लाइक इलनेस' भित्र पर्छ', उनले भने, ‘सिम्टम हेर्दा स्वाइनफ्लुसँग मिल्दोजुल्दो देखिन्छ ।

तर अस्पतालमा स्वाइनफ्लु रोग पत्ता लगाउने किटको अभाव भएकाले यही नै हो भन्न सकिएको छैन ।' यी बिरामीमा देखिएको लक्षण र अन्य जिल्लामा पनि यो रोग देखिइसकेकाले यहाँ पनि स्वाइनफ्लु हुनसक्ने अनुमान मात्रै चिकित्सकले गरेका छन् ।

देशका अन्य भागमा पनि स्वाइनफ्लुका बिरामी भेटिएकाले शंकास्पद बिरामीलाई गम्भीरतापूर्वक हेरिरहेको डा. शाहीको भनाइ थियो । ‘तर रोग पत्ता लगाउने किट नहुँदा उपचारमा समस्या भइरहेको छ । जतिसक्दो चाँडो किटको व्यवस्था गर्न हामीले जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमार्फत र आफ्नै च्यानलबाट पनि पहल गरिरहेका छौं', उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी तथा सरुवा रोग नियन्त्रण फोकल पर्सन रामबहादुर चन्दले स्वाइनफ्लुको भाइरस पत्ता लगाउने किट १÷२ दिनमै ल्याउने तयारी भइरहेको बताए । ‘शंकास्पद स्वाइनफ्लुका बिरामी भेटिएको जानकारीमा आएपछि हामीले महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पत्राचार गरेर किट मगाइसकेका छौं', चन्दले भने, ‘शुक्रबारसम्ममा किट आइपुग्ने छ ।'

सरकारसँग अहिले स्वाइनफ्लु पत्ता लगाउने किट नै छैन । बजारमा नपाइने यो किट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले उपलब्ध गराउँदै आएको छ । डा. शाहीले चाँडो किट उपलब्ध गराइदिन बिहीबार बिहान मात्र डब्ल्यूएचओका प्रतिनिधिसँग आग्रह गरेका थिए । तर, त्यहाँ पनि पर्याप्त किट उपलब्ध नभएको जानकारी आएकाले केही दिन अँझै बिरामीको उपचारमा समस्या आउने देखिएको डा. शाहीले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा. मधु अर्यालले पनि शंकास्पद स्वाइनफ्लुका बिरामी उपचारार्थ आउने गरेको बताए । तर भाइरस पत्ता लगाउने परीक्षणको अभावमा स्वाइनफ्लु भए÷नभएको एकिन गर्न नसकिएको उनको भनाइ छ । ‘दुई सातायता उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा आउने ५० प्रतिशत बिरामीमा स्वाइनफ्लुजस्तो लक्षण देखिएको छ', डा. अर्यालले भने, ‘ज्वरो आउने, घाँटी दुख्ने, ज्यान दुख्ने, टाउको दुख्नेजस्ता लक्षण बिरामीमा पाइएको छ ।' नेपालगन्ज मेडिकल कलेजले चाँडै नै स्वाइनफ्लु भाइरस पत्ता लगाउन किटको प्रबन्ध गर्न लागेको पनि उनले जानकारी दिए ।

स्वाइनफ्लु एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्छ । यो रोग फैलाउन मुख्यतया चार प्रकारका भाइरस एच वान एन वान, एच वान एन टु, एच थ्री एन टु र एच थ्री एन वान जिम्मेवार मानिन्छन् । जसमध्ये एच वान एन वान भाइरस सबैभन्दा खतरनाक मानिन्छ । यसको संक्रमण संसारका करिब दुई सय देशमा देखिइसकेको छ ।

भेरी अञ्चल अस्पतालका फिजिसियन डा. शाहीका अनुसार समयमै स्वास्थ्य संस्थाको सम्पर्कमा आएर रोग पत्ता लाग्यो भने स्वाइनफ्लुको उपचार सम्भव छ । ‘बिरामीले समयमै उपचार नपाउँदा जटिल किसिमको निमोनिया हुन जाने र छातीमा गम्भीर प्रकृतिको समस्या आउने हुन्छ । यसका कारण बिरामीको मृत्यु हुनसक्छ', डा. शाहीले भने, ‘तर समयमै उपचार गर्न सक्यो भने निको हुन्छ ।'

दुईजनामा स्वाइनफ्लु

बुटवल : रूपन्देहीका दुईजना व्यक्तिमा स्वाइनफ्लु देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरूमा स्वाइनफलु देखिएको हो ।

रूपन्देहीका जनस्वास्थ्य प्रमुख केयरसिंह गोदारले दुईजनामा सिजनल इन्फ्लुन्जाको जिवाणु भेटिएको बताए । ‘हामीले उनीहरूको बसोबास भएको क्षेत्र आसपासमा निगरानी ग-यौं तर अरूमा त्यस्तो लक्षण भेटिएको छैन', उनले भने ।

जनस्वास्थ्य कार्यालयले उच्च ज्वरोसहित उपचारमा आउने बिरामीको निरन्तर निगरानी गरिएको जनाएको छ । रूपन्देहीका अस्पतालमा फ्लु परीक्षण गर्ने किट नहुँदा बिरामी काठमाडौं जान बाध्य छन् ।

लुम्बिनी अञ्चल अस्पतालमा अहिले ज्वरो आएर उपचारमा आउने बिरामीको संख्या अत्यधिक बढेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । जनस्वास्थ्य कार्यालयले उच्च ज्वारो, शरीर दुख्नेजस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा चेकजाँच गर्न आग्रह गरेको छ । ‘डराइहाल्नुपर्ने अवस्था त छैन तर रोग प्रतिरोध क्षमता कम भएकाहरू सचेत हुनुपर्छ', जनस्वास्थ्य प्रमुख गोदारले भने, ‘अन्य रोगका बिरामी, वृद्ध, गर्भवती, बालबालिकाहरूमा यो संक्रमण बढी हुनसक्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.