आउँदै जाँदै सुन्दरीहरू
लगभग डेढ दशकअघिको कुरा हो । उषा खड्गी नेपाल टेलिभिजनमा 'म्युजिक प्लस' कार्यक्रमकी भीजे थिइन् । मिस नेपाल हुनुभन्दा अघि नै उनले आफ्नो पहिचान बनाएकी थिइन् । त्यस बेला उनलाई चलचित्रका लागि अफर आयो । चलचित्र थियो, आशीर्वाद । शम्भु प्रधानको निर्देशनमा बनेको सो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, जल शाह लगायतले अभिनय गरेका थिए । तीमध्ये उषालाई कुन भूमिकाका लागि अफर गरिएको थियो, त्यो उनलाई पनि थाहा भएन । तर, अभिनयमा रुचि नभएकाले चलचित्र आशीर्वादका लागि आएको प्रस्ताव अस्वीकार गरिन् । '१६ वर्ष अघिदेखि अहिलेसम्म पनि चलचित्रका लागि प्रस्ताव आइरहेको छ तर अभिनयमा रुचि नभएकाले काम गरिनँ', उषाले भनिन् ।
मिस नेपाल २००० को ताज चुमेपछि उषाको क्रेज झनै बढ्यो । म्युजिक भिडियोमा मोडलिङ गरिन् । उनको अदा र अभिनयकौशल देखेर चलचित्रमा ल्याउन खोज्नेहरू निकै भए तर अभिनयप्रति उनमा मोह बस्न सकेन । म्युजिक भिडियोमा मोडलिङ गरे पनि चलचित्र क्षेत्रसँग कुनै नाता भएन । तर, अभिनयका लागि आफूलाई प्रस्ताव आएको लगभग डेढ वर्षपछि उनी यो क्षेत्रसँग नाता जोड्ने तयारीमा छिन् । चलचित्र 'आउँदै जाँदै'बाट निर्मात्रीका रूपमा यो क्षेत्रमा प्रवेश गर्न लागेकी उनलाई अभिनयमा भने अझै रुचि छैन । 'उस बेला लिड रोलका लागि प्रस्ताव आएको बेलामा त अभिनय गरिनँ भने अब के गर्नु र ? ', उषाले भनिन्, 'तैपनि भविष्यका बारेमा यसै भन्न सकिन्न । कुनै बेला आमा वा त्यस्तै भूमिका मन पर्यो भने नहोला भन्न पनि सकिँदैन तर सम्भावना कम छ ।'
उषाको अनुभवमा डेढ दशकअघि र अहिले नेपाली चलचित्र क्षेत्रमा धेरै परिवर्तन आएको छ । त्यस बेला न चलचित्र उद्योगको छवि राम्रो थियो न त कलाकारको नै । तर अहिले यो क्षेत्र व्यावसायिक र सम्मानित उद्योगका रूपमा स्थापित भएकाले आफू निर्मात्रीका रूपमा आएको उषाको भनाइ छ । उनी एउटा प्रतिनिधि पात्रमात्रै हुन् । एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिताका विजेता चलचित्र क्षेत्रमा आउन थालेका छन् । कोही अभिनयमार्फत त कोही निर्माताका रूपमा । तर, उषा खड्गीले निर्माण गर्न लागेको चलचित्र आउँदै जाँदैजस्तै सौन्दर्य प्रतियोगिताका विजेता चलचित्रमा केवल आउँदै जाँदैजस्तै मात्र बनेको छ । कसैले प्रभावकारी उपस्थिति जनाउन सकेका छैनन् ।
१६ वर्ष अघिदेखि अहिलेसम्म पनि चलचित्रका लागि प्रस्ताव आइरहेको छ तर अभिनयमा रुचि नभएकाले काम गरिनँ । अहिले यो क्षेत्र व्यावसायिक र सम्मानित उद्योगका रूपमा स्थापित भएकाले निर्माणमा लागेकी हुँ ।-उषा खड्गी, पूर्वमिस नेपाल
हुन त विश्व चलचित्र र सौन्दर्य प्रतियोगिताबीच अन्योन्याश्रित सम्बन्ध छ । छिमेकी मुलुक भारतमा पनि मिस इन्डियालगायत अन्य सौन्दर्य प्रतियोगिताका विजेताले बलिउडमा राम्रो सफलता पाएका छन् । ऐश्वर्या राय, सुस्मिता सेन, प्रियंका चोपडालगायत यसका उदाहरण हुन् । नेपाली चलचित्रमा पनि सौन्दर्य प्रतियोगिताका विजेता एवं सहभागीहरू प्रशस्त आएका छन् तर प्रतियोगितामा जसरी चम्के पर्दामा त्यसरी चम्किन सकेका छैनन् ।
मिस नेपाल विजेताको प्रभाव पर्दामा कमजोर छ । धेरैजसोले चलचित्र क्षेत्रमा आउने रुचि नै देखाएका छैनन् भने आएकाहरूले पनि पर्दामा चमत्कार देखाउन सकेका छैनन् । पहिलो मिस नेपाल रुवी राणाले 'भुतुक्कै भएँ नि', 'अनमोल'जस्ता चलचित्रमा अभिनय गरिन् । मिस नेपाल प्रतियोगितामा पहिलो भएर चलचित्रमा प्रवेश गर्ने कोही पनि अभिनयमा भने पहिलो हुन सकेका छैनन् । चलचित्र 'हतियार'बाट अभिनय सुरु गरेकी झरना वज्राचार्यको प्रयास भने निकै सराहनीय छ । हतियारपछि 'भुतुक्कै भएँ नि', 'भाइटीका', 'सिउँदोको सिन्दूर', 'अञ्जुली', 'माया गर्छु म', 'चाहन्छु म तिमीलाई नै', 'सञ्जीवनी', 'फेरि अर्को साइनो', 'परे नि माया जालैमा', 'कोही मेरो'लगायत दर्जन चलचित्रमा अभिनय गरिन् । तर, झरना अभिनीत कुनै पनि चलचित्र दर्शकका लागि सम्झनायोग्य भएन ।
मिस नेपाल विजेतामा प्रतिभावान् मानिने माल्भिका सुब्बाका लागि पनि चलचित्र यात्रा सुखद हुन सकेको छैन । मिस नेपाल २००२ को ताज जितेकी उनले सुरुमा चलचित्रमा रुचि नभएको बताइन् । तापनि सन् २००८ मा बनेको चलचित्र 'गड लिभ्स इन हिमालय'बाट अभिनय सुरु गरिन् । 'गुडबाई काठमाडौं', 'हाम्री शिवानी'जस्ता चलचित्रमा अभिनय गरी उनी चलचित्र 'हाउ फन्नी'मा कार्यकारी निर्माताका रूपमा देखा परिन् । माल्भिकाले भविष्यमा कुनै न कुनै रूपमा चलचित्र क्षेत्रलाई निरन्तरता दिने सम्भावना भने छ ।
अलि सानै उमेरदेखि चलचित्र क्षेत्रमा लागेको भए हुन्थ्योजस्तो लाग्छ । तर, अभिनयमा रुचि भए पनि व्यावसायिक रूपमा यो क्षेत्रलाई अँगाल्ने सम्भावनाचाहिँ कमै छ । -सपना रोका, पूर्वमिस मंगोल
मिस नेपाल २०११ मलिना जोशीले पनि सुरुमा अभिनयमा रुचि छैन भनेकी थिइन् । तर, उनी पनि अन्ततः चलचित्र क्षेत्रमै आइन् । मलिनाले चलचित्र 'ऋतु', 'द विनर', झुम्की, लीला, संरक्षण, रानीजस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् । मिस नेपाल विजेतामध्ये मलिनाले राम्रो सम्भावना देखाएकी छन् । उनका सुरुका चलचित्रलाई दर्शकले खासै नरुचाए पनि मलिनाको कामको भने प्रशंसा भएको छ, जसका कारण चलचित्र नचले पनि उनलाई कामको खाँचो भएको छैन ।
चलचित्रमा अभिनय गर्ने मिस नेपाल विजेतामा जेनिशा मोक्तान, सृष्टि श्रेष्ठको पनि नाम आउँछ । भिडियो मोडलिङमा सफल मानिएकी मिस नेपाल २००९ जेनिशा चलचित्रमा भने नोटिस हुन सकिनन् । चलचित्र 'मेरो एउटा साथी छ'मा सानो भूमिकामा देखिएकी उनी पछिल्लो समय कला क्षेत्रबाट अलग छिन् । मोडलिङमार्फत अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएकी सृष्टि श्रेष्ठ मिस नेपाल २०१२ को उपाधि जितेपछि नेपालमा चम्केकी हुन् । सन्नी लियोन अभिनीत हिन्दी चलचित्र 'ज्याकपोट'मा समेटिएको 'कभी जो बादल बर्से' गीतको अनप्लग्ड भर्सनको भिडियोमा मोडलिङ गरी उनले बलिउडमा समेत पाइला राखेकी छन् । त्यसपछि 'गाजलु'बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उनी पनि प्रतियोगितामा जस्तो पर्दामा चम्किन सकेकी छैनन् ।
मिस नेपालमात्र होइन, अन्य सौन्दर्य प्रतियोगिताका विजेता पनि चलचित्रमा छाएका छन् । मिस मंगोल नेपाल २०१२ की विजेता सपना रोकाले चलचित्र 'डु यु लभ मी', 'उहिले बाजेको पालामा'जस्ता चलचित्रमा अभिनय गरिन् । 'उहिले बाजेको पालामा' प्रदर्शन भइसक्यो भने 'डु यु लभ मी' दर्शकमाझ आउन बाँकी छ । 'अभिनयमा रुचि भए पनि व्यावसायिक रूपमा यो क्षेत्रमा लाग्ने सम्भावना कमै छ', सपना भन्छिन्, 'उमेर पनि बढ्दैछ । अलि सानै उमेरदेखि चलचित्रमा लागेको भए हुन्थ्योजस्तो लाग्छ ।' नायिकाका रूपमा भन्दा पनि चरित्र अभिनेत्रीका रूपमा अभिनय गर्दा प्रभावकारी र लामो समय काम गर्न सकिने सपनाको भनाइ छ ।