पूर्व सभासद् मियाँको हत्या आरोपित श्रीमति छुटिन्
राजविराज: पूर्वसभासद सदरुल हक मियाँको हत्या आरोपमा कारागारमा थुनामा रहेकी उनकी श्रीमति ५४ वर्षीया नुरजहाँ खातुन थुनामुक्त भएकी छिन्।
जिल्ला अदालतको फैसलालाई आंशिक रुपमा उल्टाउँदै उच्च अदालत राजविराज इजलाशले बुधबार गरेको फैसला बमोजिम नुरजहाँ थुनामुक्त भएकी हुन् । जिल्ला अदालतले मियाँको हत्यामा उनकी श्रीमति र छोरी रुबेदा खातुनलाई दोषी ठहर गर्दै ०७३ असार २० गते जन्मकैदको फैसला गरेको थियो।
तर उच्च अदालत राजविराजले तीन वर्ष मात्र कैद हुने फैसला गरेको नुरजहाँका वकिल श्याम पोखरेलले बताए। यो फैसलापछि तीन बर्षभन्दा बढी जेल सजाय भोगिसकेकोले नुरजहाँलाई रिहा गरिएको कारागारले जनाएको छ। जिल्ला अदालतले हत्याका मुख्य योजनाकार एवं संलग्न मियाँकी छोरी रुबेदाको हकमा गरेको जन्मकैद र सिरहाको चतरी गाविस-६ घर भई लहान नगरपालिका ५ पानीट्यांकी बस्ने ४२ वर्षीय चाँद भन्ने अब्दुल रउफको हकमा गरेको सर्वस्वसहितको जन्मकैदको फैसला उच्च अदालतले सदर गरेको छ। जसअनुसार रुबेदा र रउफ राजविराज कारागारमै छन्।
हत्याको मुख्य योजनाकार रुवेदाका प्रेमी लहान ५ बसेर झारफुकको काम गर्ने मौलवी ४१ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस २ का ३६ वर्षीय एनुल शेख भने फरार छन्। सप्तरीको कल्याणपुर २ विसनपुर निवासी ५५ वर्षीय पूर्व सभासद मियाँलाई उनकै श्रीमति नुरजहाँ र माहिली छोरी रुबेदाको योजनामा अभियुक्तहरुले ०७० जेठ ६ गते राती घरदेखि पाँच सय मिटर पश्चिम रहेको खोजपुर ७ स्थित निजकै हुमा आयल ट्रेर्डस पेट्रोल पम्पमा धारिलो हतियारले घाँटीमा रोपेर हत्या गरेका थिए।
रुवेदा र जमिरुलको प्रेमविवाहमा आमा नुरजहाँको सहमति रहे पनि बाबुले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक भन्दै हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको थियो।