सेक्सप्रति उदार हुँंदै नेपाली समाज
लिभिङ टुगेदरमा बसेको दुई वर्ष भइसक्दा पनि सुवास सापकोटा (२८) यसबारे बोल्न डराउँछन् । उनलाई लाग्छ, यो कुरा कसैले थाहा नपाओस् । सिन्धुपाल्चोकका सापकोटा बानेश्वरमा दुई वटा कोठा लिएर बसेका छन् । बेलुकीको ६ बजेको छ, उनीसँग बस्दै आएकी युवती यतिबेला तरकारी किन्न बजारतिर निस्किएकी छन् । उनी कानेखुशी गर्छन्, ‘ऊ नभएकै बेला कुरा गरिहालौँ, नभए रिसाउँछे ।’ कतै प्रेमिका बजारबाट तुरुन्तै फर्किएर आउने त होइन ? यही भयको वातावरणमा कुरा गरिरहँदा उनी बारम्बार कोठाबाट बाहिर नियाल्छन् । उनलाई अब छुट्टिएर बस्नुपर्छ भन्ने लागेको छ ।
छोटो समयको भेटघाट गहिरो प्रेममा झ्यागिंएपछि उनीहरू सँगै बस्न थालेका थिए । यसरी बस्दा गाह्रो/साह्रोमा सहयोग हुने दुवैको अपेक्षा थियो । यौन आधारभूत आवश्यकता भएको र त्यसका लागि पनि सहज हुने कुरामा उनको संकेत थियो । सापकोटाजस्तै नुवाकोट घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएका सन्तोष थापा (२६) पनि अहिले ‘लिभिङ टुगेदर’मा छन् । उनी माइक्रोबस चलाउँछन् । उनीसँगै बस्दै आएकी युवती कस्मेटिक पसलमा काम गर्छिन् । डेढ वर्षको मायाप्रेमपछि उनीहरू सँगै बस्न थालेका हुन् । खर्चलगायत ‘अन्य’ कुरामा पनि सहज हुने देखिएपछि आफूले सँगै बस्ने प्रस्ताव राखेको थापा बताउँछन् । भन्छन्, ‘एक ठाउँमा बसेपछि एकअर्कालाई सहयोग त भइहाल्छ ।
त्यस्तै, शारिरीक सम्बन्धमा पनि सजिलो हुुन्छ ।’ तर, आफूहरूले विवाह गर्ने/नगर्ने भन्ने विषयमा धेरै नसोचेको थापा बताउँछन् । ‘सम्बन्ध राम्रो हुँदै गयो भने विवाह गर्न पनि सकिन्छ,’ उनले थपे, ‘सँगै बसेको भन्दैमा विवाह गर्नैपर्छ भन्ने पनि छैन । भोलि कुरा नमिलेर छुट्टिन पनि सकिन्छ ।’ शहरी क्षेत्रमा देखिएको लिभिङ टुगेदरका उदाहरण हुन्, सापकोटा र थापा ।यसरी बस्नेहरूको संख्या पछिल्लो समय शहरी क्षेत्रमा उल्लेख्य छ । र, विवाहअघि नै सँगै बस्ने कारणहरूमा सेक्स पहिलो प्राथमिकतामा पर्छ । कुनै समय सेक्सलाई ‘ट्याबु’को रूपमा लिइएको नेपाली समुदाय पछिल्लो समय लिभिङ टुगेदरको वातावरणलाई पचाउने संघारमा छ ।
धारणामा परिवर्तन
प्रविधिको सहज उपलब्धताले पनि सेक्स दालभात बराबरको गफझैं भएको छ । पोर्नमुभी अब एक ‘क्लिक’ मै हेर्न सकिन्छ । नेपाली समाज पनि विस्तारै यौनप्रति खुला हुँदै गएको अनुमान लगाउन सकिन्छ । विश्वव्यापीकरणसँगै विश्व नै एउटा गाउँजस्तो बनिदिँदा पश्चिमा समाजलाई हेरेर नक्कल गर्नेहरूको संख्या पनि बढ्न थाल्यो । यसरी सेक्सप्रति उदार रहेको पश्चिमा समाजको प्रभाव नेपालजस्तो मुलुकमा पनि पर्न गयो । सेक्सलाई बुझ्ने कुरामा नेपाली समाजको युवापुस्ता अलि उदार देखिन्छ भने अघिल्लो पुस्ताले लुकाउनुपर्ने विषयकै रूपमा लिँदै आएको छ ।
सेक्स भनेको ‘प्युरिटी’ नभएर यो मनको कुरा मात्र हो भन्ने बुझाइ छ। बृहत रूपमा नभएर यसलाई व्यक्तिपिच्छे फरक–फरक बुझ्न थालियो। सम्राट शर्मा समाजशास्त्री
अन्य मामिलामा जस्तै यौनका विषयमा पनि दुई पुस्ताबीच अन्तरविरोध रहेको बताउँछन्, मानवशास्त्री सुरेश ढकाल । ‘परिवर्तनलाई ग्रहण गर्ने क्षमता पुरानो पुस्ताभन्दा नयाँ पुस्तामा अलि धेरै हुन्छ,’ उनी भन्छन् । उत्पादन सम्बन्धहरू पुँजीवादी बन्न थालेसँगै यौनलाई बुझ्ने धारणामा पनि परिवर्तन आउन थालेको लेखक तथा विश्लेषक आहुतीको धारणा छ । ‘नेपाली समाज पुँजीवादमा गएसँगै मानिसको चेतना पनि संकीर्णताबाट खुकुलो भएको छ,’ उनले भने ।
समाजकै डर
यौनसम्बन्धी कुरा गर्नेलाई अझैँ पनि समाजले ‘बिग्रिएको’ आरोप लगाउँछ । यसबारे भुक्तभोगी लिभिङ टुगेदरमा बस्दै आएका सापकोटा भन्छन्, ‘केटा र केटी विवाहअघि नै सँगै बस्ने त परको कुरा हामीले गाउँघरमा गएर यौनबारे बोल्यौँ भने पनि गाली खाइन्छ ।’परम्परागत विचारलाई अपनाउने पक्षमा नभए पनि समाजको डरले मान्छे यौनबारे बोल्न नसकेको ठान्छन्, विश्लेषक मदन राई । ‘भित्रभित्रै सबै यौनकार्यमा संलग्न भए पनि यसबारे बाहिर कुरासमेत गर्दैनन् । सबैले गरिरहेको कुरा किन लुकाउने ?,’ उनको भनाइ थियो ।
तर, अहिलेका पुस्ता यसबारे खुल्न थालेको उनले प्रस्ट पारे । सेक्सबारे आफ्नै साथीसंगीसँग कुरा गर्ने तर गाउँसमाज, घरपरिवारमा नबोल्ने नेपाली युवाको विशेषता हो । यस अर्थमा उनीहरूले सेक्सलाई सामान्य क्रियाकलापको रूपमा लिएपनि लाज मान्नुपर्ने कुरा हो भन्ने मानसिकताले डोरिएका छन् । समाजले कहिल्यै पनि मुखसमेत नखोलेको कुरामा एकाएक सबैका अघि कुरा गर्दै हिँड्दा लाज लाग्नु स्वभाविक पनि हो । यही लाज सडक गल्लीदेखि लिएर शौचालयका भित्तामा प्रदर्शित हुन्छ । सडकमा युवायुवतीले एकअर्कालाई जिस्काउनु यौनकुण्ठाकै परिणाम मान्छन्, मनोविद्हरू । त्यस्तै, शौचालयका भित्ता अश्लील शब्दले भरिनु युवाहरूको यौन चाहनाको पराकाष्ठा हो ।
उन्मुक्त पुस्ता
हरेक नयाँ पुस्ता समाजमा चलिरहेको एउटा परम्परागत मान्यता भत्काउन तयार हुन्छ । उनीहरू समाजले बनाएको सीमित दायरामा बसेर आफ्नो जिन्दगीलाई खुम्च्याउन चाँहदैनन् । समाजका हरेक परिवर्तनमा उनीहरूको प्रमुख भूमिका रहन्छ । यस्ता परिवर्तन कत्तिको जायज हुन्छन् भन्ने विषय बहसको फरक पाटो हो । सेक्स एउटा त्यस्तो विषय हो, जसबारे युवाले समाजको परम्परागत धारणालाई अस्वीकार गरिरहेका छन् । पढाइ, जागिर तथा अन्य क्रियाकलापका लागि घरपरिवारबाट बाहिर बस्नेहरूको संख्या बढेसँगै सेक्सबारे कुरा गर्नेहरू पनि बढेको बताउँछन्, ढकाल । भन्छन्, ‘अलग रहेर बसेका मान्छेहरूले आफ्ना निर्णय, व्यक्तिगत स्वतन्त्रताका कुरालाई नितान्त व्यक्तिगत तहमा निक्र्योल गर्न सक्छन् ।
तर, परिवार, गाउँमा अथवा आफ्नै समुदायमा बस्दै आएकाहरूमा भने त्यो सम्भव हुँदैन ।’ साथीहरूसँग हिँड्दा, खाँदा या स्कुल÷कलेजमा सेक्सबारे कुरा नगर्नेहरू कमै हुन्छन् । प्रेमीसँग घुम्न जानु वा सेक्समा सहभागी हुनु अब नौलो कुरा भएन । तर, यी सबै कुरा समाजमा गुपचुप हुन्छन् । किनकि, समाजमा यस्ता कुरालाई सकारात्मक रूपमा लिँइदैन ।पछिल्लो समय युवायुवतीमा प्रेमी÷प्रेमिका बनाउनु नौलो कुरा भएन । काठमाडौंका पार्कहरूमा बेलुकीपख टाँसिएर बसेको देखिने जोडीले प्रेम संस्कृति झ्याँगिदै गएको देखाउँछ । यसरी बस्नु फगत प्रेम दर्शाउनु मात्र होइन, त्यहाँ यौनिकता पनि लुकेको हुन्छ । हात समाएर हिँड्ने, अंगालोमा बेरिनेजस्ता युवायुवतीको खुला व्यवहारले समाजको अघिल्लो पुस्तालाई भने असहज बनाइरहेको छ । उनीहरूकै भाषामा अहिलेका मान्छे ‘उत्ताउला’ भएका छन् ।
तर, टिनेजर यही उत्ताउलोपनमा रमाउन सहज मानिरहेका छन् । अहिलेका युवाले प्रेम, सेक्सजस्ता कुरालाई पहिलेजस्तो बोल्न नहुने विषयको रूपमा नलिएको बताउँछन्, समाजशास्त्री सम्राट शर्मा । ‘अहिले त यस्तो भइसक्यो कि तपार्इं सम्बन्धमा हुनुहुन्छ भने आफ्नो इज्जत बचाउनुभयो,’ उनले थपे, ‘सेक्स भनेको ‘प्युरिटी’ नभएर यो मनको कुरा मात्र हो भन्ने बुझाइ छ । बृहत रूपमा नभएर यसलाई व्यक्तिपिच्छे फरक–फरक बुझ्न थालियो ।’ बोल्नु, जिस्किनु, अंकमाल गर्नु टिनेजरका लागि सामान्य जस्तै भएको शर्मा बताउँछन् । समाजले ट्याबु मानेका कुराप्रति उदार हुँदै संस्थागत गर्नमा प्लस टु कल्चर, निजीकरणले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । गतिशील समाजमा एउटै कुरा धेरै लामो समयसम्म टिक्दैन । तन्नेरीका लागि यो लजाउनुपर्ने विषय बन्न छाड्दै गएको छ, जुन अघिल्लो पुस्तामा हाबी थियो ।
समाजअनुसार हेराइ
नेपाली समाज विविध संस्कृति र मूल्य मान्यतामा आधारित छ । यसरी समाजमा सेक्सप्रतिको धारणा एउटै छैन, कुनै समुदाय उदार छ भने कुनै परम्परागत धारणाअनुसार सेक्सलाई गोप्य राख्नुपर्ने विषय ठान्छन् । ‘हिन्दु र इस्लाम धर्मलाई आफ्नो आदर्श मान्ने समाजमा यौन भनेको सबैभन्दा वर्जित विषय हो,’ आहुती थप्छन्, ‘प्रकृतिपुजकहरूको यौनजीवन सबैभन्दा खुकुलो देख्छु म ।’ मुन्धुममा आधारित सांस्कृतिक जीवन बिताउने किराँत र ल्होछार परम्परालाई समाएका र मगरसम्मको यौन दृष्टिकोण हिन्दु, मुस्लिमभन्दा खुकुलो रहेको उनको विश्लेषण छ । नेवारभित्र पनि थरअनुसार सेक्सलाई हेर्ने दृष्टिकोणमा फरक रहेको आहुती बताउँछन् ।
नेपाली समाज पुँजीवादमा गएसँगै मानिसको चेतना पनि संकीर्णताबाट खुकुलो भएको छ। आहुति लेखक तथा विश्लेषक
भन्छन्, ‘श्रेष्ठ थरभन्दा माथिको यौन जीवन अलि संकीर्ण र अरूको अलि उदारजस्तो देखिन्छ ।’ सेक्सप्रतिको धारणा समुदायपिच्छे फरक रहेको कुरा मानवशास्त्री ढकाल पनि स्वीकार्छन् । उनले भने, ‘सेक्स बायोलोजिकल कुरा मात्र हैन । त्यसको विचार निर्माण हुनका लागि मनोविज्ञान तयार हुन पर्यो । त्यो मनोविज्ञान सांस्कृतिक हुुर्काइले तयार पार्छ ।’ सेक्सप्रतिको दृष्टिकोण निर्माणमा सामाजिकीकरण, सांस्कृतिक पक्ष महत्वपूर्ण भूमिका हुने उनको बुझाइ छ ।त्यसो त सेक्सलाई हेरिने दृष्टिकोण समुदायपिच्छे मात्र हैन, महिला र पुरुषबीच पनि फरक छ । पुरुषहरू सेक्सबारे अलि खुलेर बोल्ने गरेको पाइन्छ भने महिलाहरूमा यस्तो सहजता छैन ।
हिन्दु समुदायमा त झन् सेक्सबारे कुरा गर्ने महिलाहरूलाई ‘चरित्रहीन’को आरोप लगाइन्छ । सेक्सबारे कुरा गर्ने महिलालाई अहिले पनि नेपाली समाजमा नकारात्मक तरिकाले हेरिने शर्मा बताउँछन् । भन्छन्, ‘पितृसत्ताले महिलाहरूलाई यौनबारे बोल्नै नहुने र यसलाई उनीहरूको ‘प्युरिटी’सँग लगेर जोडिदियो ।’ तर, यही चरित्र भने काठमाडौंलगायत शहरी क्षेत्रका महिलामा त्यति कठोर ढंगले लागु नहुने उनको बुझाइ छ । शर्मा भन्छन्, ‘समाज जति व्यक्तिवादी हुँदै गयो, अरूप्रति गरिने चासो त्यति हराउँदै जान्छ । स्वभाविक रूपमा शहरी क्षेत्रका हुर्केबढेकाहरू खुला हुन्छन् ।’
विवाहअघि यौनसम्पर्क
कुनै समय नेपाली समाजमा विवाहअघि यौनसम्पर्क अवैध मानिन्थ्यो । यो धारणामा अहिले परिवर्तन आएको छ । यतिमात्र होइन कोहीकोही त एकभन्दा धेरै पार्टनरसँग सेक्स सम्बन्धमा रहन्छन् । लिभिङ टुगेदरमा बसेका थापा भन्छन्, ‘मैले पाँच जना युवतीसँग सेक्स प्रस्ताव राखे । मन मिलेपछि यो खासै ठुलो कुरा होइन ।’ परिवारमा सेक्सबारे कुरा नभए पनि साथीहरूबीचमा भने यसबारे खुलेरै कुरा हुने गरेको बताउँछन्, थापा । साथीहरूबीच यौनसम्बन्ध रहे÷नरहेको, कोसँँग, कहिलेजस्ता विषयमा कुरा हुनु नौलो होइन ।
आफूसँग परामर्श लिन आउनेहरूमध्ये विवाहअघि नै यौनसम्पर्क गर्नेहरू धेरै हुने बताउँछिन्, मनोविद् करुणा कुँवर ।स्वस्थ यौनसम्पर्क हुन्छ भने विवाहअघि र पछिले खासै केही फरक नगर्ने कुँवरको भनाइ छ । सेक्समा स्वस्थता जरुरी रहेको कुरालाई आवश्यक ठान्दै उनले थपिन्, ‘मुख्य कुरा त सेक्सलाई कसरी लिइएको छ, स्थिर पार्टनर छ कि छैन भन्ने कुरा हो, यो स्वस्थ छ भने एउटा उमेर पुगेपछि सेक्स गर्नु सामान्य हो ।’
बढ्दो बलात्कार
रेपलाई धेरैले यौनकुण्ठाको परिणाम मानेका छन् भने केही विज्ञ यसलाई कुण्ठा नभएर रोगका रूपमा विश्लेषण गर्छन् । विश्वभरि नै बलात्कारका घटना उच्च छ । नेपालमा पनि दिनहुँजसो बलात्कारका समाचार आउँछन् । समाजमा यसले पार्ने प्रभाव र दिने सन्देश दुवै नकारात्मक हुन्छन् । डीआईजी सर्वेन्द्र खनालका अनुसार बलात्कारका घटनामा संलग्न हुनेमा धेरैजसो युवापुस्ता छ । उनीहरूलाई कानुन अनुसार सजाय गर्नुपर्ने उनको भनाइ छ । बलात्कार भनेको मानसिक समस्या हो र यो ‘प्लेजर’सँग सम्बन्धित नभएको बताउँछिन्, कुँवर । उनले थपिन्, ‘यहाँ बलात्कृतलाई पीडा हुन्छ, तर बलात्कार गर्नेलाई त्यही पीडामा रमाइलो लाग्छ ।’
बलात्कारका घटनामा संलग्न हुनेमा धेरैजसो युवापुस्ता छ। उनीहरूलाई कानुन अनुसार सजाय गर्नुपर्छ। सर्वेन्द्र खनाल डीआईजी, नेपाल प्रहरी
उनले भनिन्, ‘रेप गर्नेहरू बिरामी हुन् र यिनलाई मानसिक उपचार गर्न जरुरी छ ।’ तर, बलात्कारलाई यौनकुण्ठाकै रूपमा व्याख्या गर्छन्, शर्मा । भन्छन्, ‘हामीले यसलाई बोल्नै नहुने गोप्य विषयका रूपमा हेरेका छौँ । स्वभाविक रूपमा बुझेर यौनप्रति उदार हुने हो भने यो केही पनि होइन । नत्र, यौनकुण्ठा बलात्कारमा परिणत हुन्छ ।’नेपालमा बलात्कारका घटनाहरू वर्षैपिच्छे बढ्दै गएको छ । तर, लोकलाजको डरले गुपचुप रहनेहरू पनि धेरै रहेको अनुमान गर्न सकिन्छ । बलात्कार कम गर्नका लागि मानिसहरूलाई नैतिक शिक्षा दिन जरुरी रहेको डीआईजी खनालको भनाइ छ । भन्छन्, ‘बलात्कारपछि एउटा मान्छेको जिन्दगी नै बर्बाद हुन्छ भन्ने कुरा बुझाउनुपर्छ ।’
रोगको घर
सेक्सको विषयमा खुल्दै गरे पनि यसको प्रभावबारे धेरै जानकारी युवापुस्तामा नभएकाले यौनरोगको खतरा बढ्दै गएको छ । आधुनिकीकरणसँगै भित्रिएको डिस्को, बारमा जाने चलन र यस्ता ठाउँबाट युवायुवतीमा हुने असुरक्षित यौन सम्पर्कले यौनरोग बढेको चर्म तथा यौन रोग विशेषज्ञ डा. अनिलकुमार झा बताउँछन् । गाइनोलोजिस्ट डा. मिता सिंह पछिल्लो समय यौनरोग लागेर उपचार गर्न आउने महिला अत्याधिक रहेको बताउँछिन् । त्यसमा पनि अविवाहित धेरै रहेको छन् । भन्छिन्, ‘धेरैलाई असुरक्षित यौनसम्पर्कबारे थाहा भए पनि ‘केयर’ गर्दैनन् ।’ यौनरोग लागेर अस्पताल आउने अधिकांश १८ देखि ५५ वर्ष उमेर समूहका हुने डा. झा बताउँछन् । सेक्सबारे खुला भएसँगै आजका पुस्ता यौनसम्पर्कबाट लाग्ने रोगबारे झनै सचेत हुन जरुरी भएको बताउँछन्, झा ।
सेक्स र सिर्जनशीलता
कुनै पनि कुरालाई ‘गोप्यता’को रूपमा परिभाषित गरिँदा यसप्रतिको खोजी पनि तीव्र हुन्छ । सेक्स पनि लुकाउन खोजेसँगै यसप्रतिको खोजी तीव्र छ । अधिकांशको धेरै समय सेक्सबारे सोचेरै बित्छ । जसले अन्य सिर्जनशील काममा समेत बाधा पुर्याउँछ । अधिकांश समय सेक्सकै विषयमा घोत्लिरहँदा यसले पार्ने प्रभाव पनि गहिरो हुन्छ । टिनेजर भनेको ऊर्जाशील समय भएकाले यसलाई सही ठाउँमा सदुपयोग भयो भने राम्रो काम गर्न सकिने शर्माको भनाइ छ । ‘सेक्सबारे मात्र सोचेर बस्दा अन्य धेरै महतवपूर्ण काम छुटिरहेको हुन्छ ।’ उनले थपे, ‘बरु स्कुल तहदेखि नै यसलाई सामान्य रूपमा बुझाउँदै लैजाने हो भने धेरै ध्यान नदिई रचनात्मक काममा लाग्थे कि !’
शर्माको कुरामा सहमत छिन्, कुँवर पनि । यौन फगत दिमागको कुरा भएको र स्वस्थ रूपमा हुने सेक्सले मान्छेलाई सिर्जनशील र उत्पादक बनाउने कुरामा उनको जोड छ । भन्छिन्, ‘अस्वस्थ अभ्यासले मानिसको दैनिक क्रियाकलापमा असर गर्ने तर सेक्सलाई राम्रोसँग लिने हो भने यसले रिफ्रेस बनाउँछ ।’
उदारता नै ठिक
समुदायअनुसार सेक्सप्रतिको धारणा फरक फरक छ । समग्रमा नेपाली समाजको चरित्र भनेको सेक्सप्रति उदार नहुनु नै हो । समाजशास्त्री शर्मा भन्छन्, ‘यहाँको समाज सेक्सलाई सजिलो रूपमा लिने पक्षमा छैन । किनकि, हाम्रो विगत नै सेक्स लुकाउनपर्छ भन्ने हो ।’तर, सेक्सप्रति जति उदार र खुकलो भइयो, त्यति नै समाजमा अपराध घट्ने विज्ञहरू बताउँछन् । यसलाई सधैँभरि लुकाएर राखियो भने यसप्रतिको जिज्ञासा झनै बढ्ने र मान्छेले ‘एक्सप्लोर’ गर्ने नाममा नकारात्मक गतिविधितिर उन्मुख हुने मनोविद् कुँवर बताउँछिन् । ‘हामीलाई कुनै कुरा गर्न हुँदैन भनियो भने किन गर्न हुँदैन, के रहेछ भन्नेजस्ता जिज्ञासा बढ्न थाल्छ ।
त्यसैले हामी यसबारे खोज्न थाल्छाँ’ उनले थपिन्, ‘सेक्सलाई पनि लुकाएर राख्ने हो भने अपराध बढ्दै जाने निश्चित छ ।’ समाजको चरित्र सधँ एकनासे हुँदैन । युवा पुस्तामा हुने खुलापन, स्वच्छन्दता र स्वतन्त्रताले सेक्सबारे बहसका लागि महवपूर्ण भूमिका खेल्यो । समाजले यसलाई जतिसुकै लुकाउन खोजे पनि आजको पुस्ता अनभिज्ञ रहने सम्भावना छैन । किनकि, प्रविधिको सहज उपलब्धताले हरेक कुरा इन्टरनेटमा पाउन सहज भएको छ । बरु लुकाउन खोजियो भने साइबर क्राइमजस्ता अपराध बढ्ने सम्भावना उत्तिकै छ । विश्लेषक राई भन्छन्, ‘अपराध घटाउनकै लागि भए पनि सेक्सलाई लुकाइनु हुँदैन ।
नयाँ पुस्ता सेक्सप्रति खुला छ
मदन राई, विश्लेषक /तस्बिर : सुनिता डंगोल
विगतमा नेपाली समाजमा सेक्सलाई हेर्ने दृष्टिकोण कस्तो थियो ?
जब खेती युग शुरु भयो, मान्छेको लोभ बढ्यो । खेतीका लागि लोग्नेले धेरै श्रीमती भित्र्याउन थाले । सेक्सलाई गलत प्रयोग गरिदिए । यस्तो देखेर त्यतिखेरका समाजका बुज्रुकहरूले धर्मको नामबाट नैतिक शिक्षा दिएर यस्ता क्रियाकलाप रोक्न थाले । अत्यन्तै जान्नुपर्ने/बुझ्नुपर्ने र उचित प्रयोग गनुपर्ने सेक्सजस्तो कुरालाई लुकाएर कसैले बोल्न नहुने विषय बनाइयो । आफैँजानिन्छ भन्न थालियो । कुनै कुरा आफैँ कसरी जानिन्छ ? यौनांग भनेको अन्य नाक, मुख, आँखा जस्तै त हुन् नि । तर, यसबारे बोल्नै नहुने प्रतिबन्ध लगाइएको छ ।
अब सेक्सलाई कसरी लिनुपर्छ ?
नेपाल पिछडिएको देश भएकाले हाम्रो समाजमा सेक्सलाई झनै बुझ्न जरुरी छ । दुई जना महिला पुरुष सेक्सका लागि योग्य भइसकेपछि सहवास त गर्छन् । नयाँ पुस्तालाई यौनबारे राम्रो ज्ञान दिने हो भने अहिले भइरहेको यौन दुराचार, महिलाहिंसा घट्छ । नेपालमा यौन शिक्षा दिन जरुरी भइसकेको छ ।
पहिलेभन्दा अहिले उदार रूपमा हेर्न थालिएको हो कि ?
हो, अहिले सेक्सलाई हेरिने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको छ । हाम्रो ‘राई’हरूमा पनि हामी ढुक्कैसँग कुरा गथ्र्याैँ । सेक्स भनेको प्राकृतिक हो । प्रकृतिलाई कसैले जित्न सक्दैन । अहिले प्रविधिले सेक्सबारे सोच्न सजिलो बनाएको छ । सबैको मोबाइलमा ‘पोर्नाेग्राफी’ भेटिन थालेको छ । अहिलेचाहिँ प्रविधिको विकासले सेक्सबारे समाज अलि खुला हुँदै गएको हो भन्न सकिन्छ ।
तपाईं आफैँ ‘टिनेजर’ हुँदा सेक्सबारे कतिको कुरा गर्नुहुन्थ्यो ?
मैले १३ वर्षको उमेरमा विवाह गरेको हुँ। त्यसैले, सेक्सबारे त्यति ‘क्युरिसिटी’ पनि भएन । उमेर बढ्दै जाँदा श्रीमती भए पनि केटीहरूमा आँखा जान्थ्यो । को–कोसँग सेक्स गरियो भन्ने सम्मका कुरा हुन्थ्यो ।
साथी भाइहरूसँग पोर्नाेग्राफीचाहिँ कत्तिको हेर्ने चलन थियो ?
त्यतिबेला ‘ब्लु फिल्म’ भनिन्थ्यो । त्यो खोजी खोजी हेरिन्थ्यो । मैले चिनेका साथीहरू प्रायः सबैले हेर्थे । तर, त्यतिबेला मोबाइल, इन्टरनेट थिएन । घरमा सीडी चक्का लगेर हेरिन्थ्यो । यतिमात्र नभई भ्वाइस रेकर्डरमा ब्लु फिल्मको आवाज रेकर्ड गरेर समेत सुनियो । यसलाई गलत रूपमा लिनु हुँदैन । यो पनि एक प्रकारको शिक्षा नै हो ।
युवापुस्ताले अहिले सेक्सलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
अहिले सेक्सलाई हेर्ने दृष्टिकोणमा फरक आउँदैछ । पहिले आमाबाबुसँग मान्छे डराउँथे । तर, पोर्नाेग्राफीले उनीहरूको चेत अलिकति खुलायो । सेक्स केही हैन रै’छ भन्नेसम्म पुगे । अहिलेका किशोरकिशोरीहरू विवाहअघि नै सेक्समा सहभागी हुन थालिसकेका छन् । अहिले पहिलेको भन्दा धेरै खुला र सुरक्षित छ । सेक्सलाई बुझ्ने प्रविधि आयो, विभिन्न पुस्तक लेखियो । त्यसैले अहिलेको पुस्ताले यसलाई सामान्य रूपमा बुझ्न थालेका छन् ।
समाजमा सेक्सलाई किन ‘ट्याबु’ बनाएर राखिएको हो ?
पहिलेको पुस्ताले समाजलाई जहिले पनि बाँधिरहन खोज्छ । दुई पुस्ताबीचमा अन्तर सधैँ हुने कुरा हो । पहिलेदेखि सेक्सलाई दुराचारको रूपमा बुझिँदै आयो । राज्य, समाज र धार्मिक कानुनले सेक्सलाई दबाउँदै आयो । यसले गर्दा सेक्सबारे कुरा गर्न मान्छे डराउन थाले । यौनलाई निषेध गर्नु भनेको प्रकृतिसँग जुध्नु हो । विवाहअघि नै सेक्स गर्दा भगवान रिसाउँछन् समेत भनिन्थ्यो । नयाँ पुस्ताले सेक्सप्रति खुल्ला हुन खोजेर ठिक गरिरहेको छ ।
खुल्ला भएर सेक्सलाई गलत रूपमा प्रयोग गर्न खोजिएको हो ?
हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । यौनांग सही तरिकाले प्रयोग गरियो भने यसबाट आनन्द पाउन सकिन्छ, नभए विनास हुन्छ । पोर्नाेग्राफी पनि धेरै हेर्नु हुँदैन । कहिलेकाहीँ हेर्दा राम्रै पनि हुन्छ । तर, सानैदेखि यौनांगदेखि ‘स्वप्नदोष’सम्मको कुरा सिकाउने हो भने सेक्सलाई सामान्य रूपमा बुझिन्थ्यो । नेपाली समाजमा सेक्सबारे शिक्षा नदिई आफैं सिकिहाल्छन् नि भन्ने चलन छ । राम्रो गर्नका लागि सिकाउनु जरुरी छ ।
के समाज सेक्सलाई सहज ढंगले लिन तयार छ ?
समाज तयार नभए पनि सेक्स त भइराखेकै छ । अहिले यही काठमाडौंमा यौन व्यवासाय गर्नेहरू छैनन् र ? यौन भनेको सामान्य कर्म हो भन्ने जसरी बुझिएपछि यसलाई सहज लिन वातावरण तयार हन्छ । नेपाली समाज पनि त्यतैतिर लम्किरहेको छ । पहिलेजस्तो अहिले छैन र अहिले जस्तो पछि नहुन सक्छ । समाज भनेको गतिशील हुन्छ ।
यौनबारे स्कुल तहदेखि पढाइनुपर्छ
करुणा कुँवर,मनोविद
यौनप्रति युवाको धारणा कसरी निर्माण भएको छ ?
पछिल्लो १० वर्षमा प्रविधिको विकास द्रुत गतिमा भयो । प्रविधिले दिने शिक्षा माथिल्लो तहसम्म पुग्यो भने समाजबाट आउने शिक्षा तल्लोस्तरमै रह्यो । अहिले इन्टरनेटमा सबैथोक हेर्न मिल्छ, तर समाजमा सेक्सबारे बोल्न लाज हुन्छ । यसरी यौनको कुरा गर्दा युवाले जसरी प्राकृतिक र स्वस्थ रूपमा बुझ्दै जानुपर्ने हो, त्यो हुन सकेन । एक्सप्लोर गर्ने नाममा उनीहरू पोर्न साइटमा पुग्न थाले । इन्टरनेटमा उपलब्ध असल कुरा के, कसो हो भनेर जान्नुभन्दा पहिले नै गलत अभ्यास भइसक्छ ।
अहिलेको पुस्ताले सेक्सलाई कुन रूपमा बुझ्छ ?
आधुनिक समाजले यौनप्रति अलि खुला हुन माग गरिरहेको छ, तर केहीले यसलाई पापसँग जोडेर पनि हेर्छन् । अर्काेतिर सामाजिक, सांस्कृतिक र अहिलेको आधुनिक कुरालाई सँगै जोडेर लगियो भने नेपालजस्तो देशमा मान्छेलाई अप्ठ्यारो पर्ने रहेछ । युवा दोधारमा छन् ।
सेक्सलाई कसरी लिनुपर्छ ?
सेक्स नितान्त आत्मासँग जोडिएको कुरा हो । एक किसिमको सम्मान र आत्मीयता भएको व्यक्तिसँग हुनुपर्छ । मन परेको मान्छेसँग जतिबेलासम्म मन मिल्छ, त्यसबेलासम्म स्वस्थ यौनसम्बन्ध राख्न सकिन्छ । यसो हुनसके आनन्ददायक पनि हुन्छ । सेक्स जोसँग पनि हुन सक्छ भनेर दिनैपिच्छे फरक मान्छेसँग सम्बन्ध राख्नु भनेको यौनप्रतिको सम्मान हैन । सेक्सलाई सम्मान नगर्दा मान्छेलाई पनि सम्मान हुँदैन । यसले विभिन्न अप्ठ्याराहरू समेत ल्याउन सक्छ । स्वस्थ यौनले सम्बन्धलाई प्रगाढ गर्न पनि सहयोग पु¥याउँछ । त्यसैले सेक्सलाई आनन्दको रूपमा मात्र नहेरौँ ।
समाजले यौनलाई कसरी हेर्नुपर्छ ?
पहिले समाजले यौनलाई चरित्रसँग जोडेर हेरेको थियो । यो लज्जास्पद कुरा हो भनिन्थ्यो । अब पाठ्यक्रममा पनि यो विषय राख्नुपर्छ । अब स्वस्थ यौन शिक्षाबारे कुरा गर्नुपर्छ । सानैदेखि यसलाई सामान्य रूपमा बुझ्न सक्ने बनाइनुपर्छ । जस्तो : अहिले पाठ्यक्रममा यस्ता विषय समावेश नहुँदा अचानक किशोर किशोरीले यस विषयमा कुरा उठाएमा खराब कुरा गर्यो भन्ने सोचिन्छ । यदि यौनबारे लुकाइयो भने त्यसले झनै असर गर्छ । त्यसैले, यौन/यौनिकताकाबारे स्कुल तहदेखि नै पढाइनुपर्छ ।