उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै प्रचार गर्ने भारतीय नागरिकलाई कारबाही गर्न माग
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को राजनीतिक तथा सांस्कृतिक विशिष्ट सल्लाहकार हुँ भन्दै एक भारतीय नागरिकले गलत प्रचार गरिरहेका भनी सञ्चार माध्याममा आएका समाचारप्रति उपराष्ट्रपतिको स्वकीय सचिवालयले ध्यानाकर्षण भएको बताएको छ।
उपराष्ट्रपति पुनको सचिवालयले भारतीय नागरिक सल्लाहकार नरहेको र यस प्रकारको गलत प्रचारबाट भ्रममा नपर्न आग्रह गरेको छ।
उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीले उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै गलत प्रचार गर्ने भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयलाई पत्रचार गरिसकेको समेत जानकारी गराएका छन्।
‘सम्माननीय उपराष्ट्रपतिज्यूको सल्लाहकार हुँ भनी गलत प्रचार गरिरहेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि उपराष्ट्रपति कार्यालयको तर्फबाट परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकिएको र कानुनी कारबाही गर्न नेपाल सरकार र नेपाल स्थित भारतीय राजदूतावासमार्फत् भारत सरकारलाई समेत अनुरोध गरिन्छ’, प्रेस संयोजक घर्तीले जारी गर्नु भएको प्रेस नोटमा भनिएको छ।