स्वाइन फ्लुको त्रासले दर्जन स्कुल र क्याम्पस बन्द
पोखरा : साधारण भाषामा स्वाइन फ्लु भनिने ज्यानलेवा मौसमी रुगाखोकीको त्रासका कारण स्याङ्जाको वालिङमा प्लस टुसहित एक दर्जन विद्यालय बन्द भएका छन्।
निजी विद्यालय सञ्चालक, नगरपालिका र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिको बैठक गरी एक साताका लागि विदा दिइएको निजी विद्यालय पायोनियर एकेडेमीका प्रिन्सिपल मेघराज गैरेले बताए।
मौसमी रुगाखोकीका कारण वालिङका एकजनाको ज्यान गइसकेको छ। निजी तथा सरकारी अस्पतालमा दिनहुँ सयौं बिरामी थपिन थालेपछि त्रास फैलिएको छ। ‘अहिलेको अवस्था अलिकति सहज नभइन्जेल भनेर आउँदो शुक्रबारसम्मलाई विदा ग¥यौं,’ गैरेले अन्नपूर्णसँग भने, ‘यो विदा दसैं र जाडो विदाका सट्टाभर्ना गर्नेछौं।’ उनका अनुसार सामुदायिक विद्यालयहरुमा भने अहिले नै ग्रीष्मकालीन विदा छ।
स्वाइन फ्लुकै कारण अहिलेसम्म देशभर ६ जनाको ज्यान गइसकेको छ। त्यसमध्ये १ स्याङ्जाको वालिङ र ३ पोखराका हुन्। बाँकी भने काठमाडौं र ललितपुरका हुन्।
वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका २० बिरामीको नमुना परीक्षण गर्दा ६ जनामा स्वाइनफ्लु पुष्टि भएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंले बुधबार पठाएको रिपोर्टले ६ जनामा त्यस्तो समस्या देखिएको वालिङ प्राथमिक केन्द्रका प्रवक्ता देवेन्द्र भट्टराईले जानकारी दिए। उनीहरुमा एचवाएनवापीडीएमजिरो नामको भाइरस देखिएको उनले बताए।
प्राथमिक स्वास्थ्य केन्द्रमा दिनमा सयजना बिरामी आइरहेकोमा आधा रुगाखोकी र ज्वरो आएको बिरामी रहेको जानकारी भट्टराईले दिए। ‘एकजना प्रतिष्ठित व्यक्तिको मृत्यु भइसकेको खबर फैलिएपछि बिरामी थुप्रिन थालेका छन्’, उनले भने, ‘निजी क्लिनिकमा झन् धेरै बिरामीको चाप छ।’
सिकिस्त जस्ता बिरामीलाई पोखरा पठाउने गरिएको र कतिपयलाई औषधि खाएर आराम गर्न भनेको उनले बताए। स्वाइन फ्लुका बिरामी बढेपछि स्वयंस्वास्थ्यकर्मी समेत त्रसित भएका छन्। आफूहरु सुरक्षित हुने गरी भ्याक्सिन, औषधी लगायत सामग्री उपलब्ध गराइदिन स्वास्थ्य विभागसँग प्रास्वाके अधिकारीहरुले माग गरेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालका अनुसार काठमाडौंमा उपचार गराइरहेका पोखराका १ महिला र १ पुरुषको बुधबार ग्रान्डी र ग्रिन सिटी अस्पतालमा मृत्यु भएकाहरु पोखरा-१५ र १७ का ३६ र २९ वर्षका महिला र पुरुष हुन्। उनीहरुको नाम सार्वजनिक गरिएको छैन।
केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले उनीहरुको मृत्युको कारण एचआवएनवान भाइरस पुष्टि गरेको जानकारी बरालले अन्नपूर्णलाई दिए। पोखरा १४ की एक महिलाले पनि ग्रान्डी अस्पतालमा ज्यान गुमाएकी थिइन्। ‘६ जनाको ज्यान जाँदा ३ जना पोखराका भएकाले हामी उच्च जोखिममा देखियौं,’ उनले भने, ‘यहाँ धेरै नै सतर्कता अपनाउनुपर्ने देखिएको छ।’
पोखराका सरकारी र निजी अस्पतालमा आएका रुगाखोकी र ज्वरोका बिरामीमा पनि स्वाइनफ्लुका लक्षण देखिएको तर परीक्षण नगरिएको हुँदा पुष्टि नभएको बरालले सुनाए। ‘परीक्षण पनि नेपालमा जम्मा ३ ठाउँमा मात्रै हुन्छ,’ उनले भने। सयौंको संख्यामा पोखराका अस्पतालमा रुगाखोकी र ज्वरोका बिरामी आइरहेको बरालले बताए।