बोक्सी आरोपमा यातना पाएकी मरणीलाई ७५ हजारको सम्मान
बर्दिबास: बोक्सीको आरोपमा १६ बर्षअघि चरम यातना पाएकी महोत्तरीको सिमरदहीकी मरणी देवी साह काठमाण्डौंमा सम्मानित भएकी छिन्।उनी ७५ हजार ५ सय ५५ रुपैंया नगद सहित सम्मानित भएकी हुन्।
अन्नपूर्ण पोष्टको जेष्ठ २९ गतेको अंकमा 'मरणीदवीको नयाँ अवतार' भन्ने समाचार प्रथम पृष्टमा प्रकाशित भएको थियो।सोही समाचारले मरणीको ६० बर्षीय जीवनलाई सुख्द बनाइदिएको छ।
छत्रपाटी निःशुल्क चिकित्सालय काठमाण्डौलें उनलाई एक समारोहका बीच नगद रकम र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो।
गरिव परिवारकी मरणीले सम्मान पाउँदा खुशी व्यक्त गरेकी छिन्।पत्रकारलाई उनले धन्यवाद दिएकी छिन्। ग्रामिण भेगमा बसोबास गर्ने मरणीलाई गाउँलेहरुले बोक्सीको आरोपमा १६ बर्ष अघि चरम यातना दिदा झन्डै मरेर बाँचेकी थिइन्।
रक्षा मन्त्री भीमसेनदास प्रधानले मरणीलाई नगद रकमको चेक र प्रशंसा पत्र प्रदान गरेका थिए। २०५८ साल साउन ३० गते गाउँलेहरुले बोक्सी आरोप लगाउँदै अमानवीय व्यवहार गरेको कुरा सम्झिदा मरनीको आँखामा गहभरी आँसु छचलकियो।
'म स्वंयमसेवीका छु।घर-घर आमा र बच्चाबच्चीको ज्यानजीउको हालखवर बुझ्न जान्छु। स्वास्थ्य चेतना फेलाउन खट्छु।सबैले मलाई गाउँको आमा भनेर बोलाउँछन् अहिले।मलाई निकै खुशी लाग्छ,' मरनी देवीले सम्मान ग्रहणपछि भनिन्, 'जसले मलाई बोक्सी बनेर होच्याए।
कुटपीट गरे उहाँहरुनै आज मलाई आमा भनेर बोलाउँछन्।डाइनजोगीन(बोक्सी) हुदैंन भन्ने कुरा सबैले बुझ्नुभयो। गाउँका बच्चाहरु स्कूल गएर पढ्न थाले दिमाग खुल्यो।'
रक्षा मन्त्री भीमसेनदास प्रधानले समाजमा बोक्सी आरोपमा कुटिएकी मरणीलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए। उनले भने, 'गाउँका मानिसहरुले मरणीलाई बोक्सीको आरोपमा कुटे। तर, उनी अहिले गाउँको आमा र बच्चाको सेवा गर्छिन्।' मरणीबाट समाजले सिक्नु पर्ने मन्त्री प्रधानले औंल्याए।
वरिष्ठ पत्रकार कनकमणी दीक्षितले मरनीदेवी आफै गाउँलेको सेवा गरी समाजको नमुना बनेको बताए।उनले भने, 'समाजमा रहेको छाउपडी, बोक्सी जस्ता अन्धविश्वासलाई चेतनशील नागरिक मिली समाप्त पार्नु पर्दछ।' ‘बोक्सीको अन्धविश्वासमा परि सिमरदही गाउँवासीहरुले मरनीदेवीलाई मरणासन्न अवस्थामा पुर्याए।
यति मात्रै हैन आँखा समेत फुटाल्न र विष ख्वाउन पछि परेनन्,'छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष बिजय बहादुर मालीले भने,‘ आफ्नै गाउँका मानिसहरुले अमानविय व्यवहार गर्ने लाई पनि आफू सक्षम भएर सेवा गर्नु मरणीदेवीको मानवता मनलाई म शलाम गर्छू।' छत्रपाटी निःशुल्क चिकित्सालय काठमाण्डौंले दीन दुःखीको सेवा गरिरहेको छ।