खिम्तीका बाढीपीडितलाई पिरलो :‘हामी कहाँ बस्ने ?

खिम्तीका बाढीपीडितलाई पिरलो :‘हामी कहाँ बस्ने ?

काठमाडौं : रामेछापको लिखु गाउँपालिका-६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै' छन् । उनलाई शरीर र हात-गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा मुस्किलले उनको ज्यान बचेको थियो । उक्त घटनाबाट पीडित उनमा शरीर र हात-गोेडा काँप्ने समस्या देखिएको हो ।

बाढीले धार परिवर्तन गरी बस्तीमा पसेपछि उनको साढे दुईतले घर मात्रै बगेन, दुहुनो भैंसीसहित खसी-बाख्रा, कुखुरा र झन्डै ३५ धार्नीको सँुगुर पनि बगाएको थियो । गेलुपिटासीका उनी परिवारसहित केही वर्षअघि मात्रै खिम्ती झरेका थिए । उनले दुई वर्षअघि जनहित सहकारीमा लालपुर्जा धितो राखेर कर्जा लिएको दुई लाख ६८ हजार रकमले चार रोपनी दुई आना जग्गा किनेका थिए । उनले त्यहीं नै घर पनि ठड्याएका थिए । बाढीले उनको घरजग्गालाई बगरमा परिणत गरिदिएको छ । सहकारीलाई तिर्न ठिक्क पारेर बाकसभित्र राखेको दुई लाख ६८ हजार पनि बाढीले बगायो । बाढीले पैसाभन्दा पनि घरजग्गा पूर्णरूपमा स्वामित्वमा ल्याउने उनको सपना बगाएर लग्यो ।

‘एक-दुई मिनेट ढिला गरेको भए हामी पनि बाढीसँगै बग्थ्यौं । ज्यान बचेकोमा खुसी लागेको छ । तर, यति खेर हामीसँग आफ्नो शरीरभन्दा केही छैन । न बस्ने ठेगान छ न त खाने कुरा नै', छिमेकीको कटेरोमा आ श्रय लिइरहेका उनले बिलौना गर्दै भने, ‘ऋण गरेर किनेको जग्गा र जोडेको घर बग्यो । त्यही ऋण तिर्न तयार पारेको पैसा पनि बग्यो । अहिले घरबारविहीन छु । शरीर काँप्ने रोग थपिएको छ ।'

अर्का पीडित होमबहादुर खत्री पनि उस्तै पीडामा भेटिए । बाढीको समयमा उनी जिल्लाबाहिर रहे पनि आमालाई बगाएर बेपत्ता बनायो । बोल्न-सुन्न नसक्ने दाजु र भाउजूसहित उनीहरूका दुई छोरी घाइते भए । उनीहरूको राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाढीले परिवारलाई छिन्नभिन्न पारिदिएपछि उनी पनि गाउँमै विरक्त अवस्थामा भेटिएका हुन् । ‘आमा बित्नुभयो । बोल्न र सुन्न नसक्ने दाइको सम्पत्ति केही बाँकी छैन ।


पहिले घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ । छिमेकीको घरमा आ श्रय लिएर बस्नुपरिरहेको छ । यसरी कति दिन बस्न दिन्छन् ?
शम्भु विक, बाढीपीडित

परिवारका सबैले उपचार गराइरहनुपरेको छ', आमाको अन्तिम कर्म सकाएर बरखीको सेतो कपडामा भेटिएका उनले भने, ‘दाइको परिवारको बिचल्ली हुने भयो ।' बाढीमा जायजेथा सबै गुमाएका टंक खत्रीको व्यथा पनि उस्तै छ । बाढीले घर र १० रोपनी खेत बगाएपछि उनी पनि घरबारविहीन बनेका छन् ।

मध्यरातमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएका थिए । तीन जना बेपत्ता भएका थिए । उनीहरूको मृत्यु भएको ठानी मृत्युपछि गरिने सबै कर्म गरिसकिएको छ । बाढीले अन्य सम्पत्तिसँगै १२ परिवारको घर बगाएको छ भने ६० घरधुरी बस्न नहुने अवस्थामा छन् ।

बाढीबाट ज्यान जोगाए पनि घरजग्गा र भएका सम्पत्ति गुमाउनुपरेकाले पुनःस्थापनाको चिन्ताले सताएको छ । लिखु गाउँपालिकाले मृतकका परिवारलाई जनही २५ हजार तथा घर पूर्णरूपमा क्षतिग्रस्त बनेको १२ घरलाई पुनर्वासका लागि ५० हजार, लत्ताकपडाका लागि १५÷१५ हजार उपलब्ध गराएको छ । त्यससँगै अन्य निकाय र सहयोगी संस्थाबाट पनि राहत सामग्री उपलब्ध भइरहेका छन् ।

उनीहरूलाई कहाँ र कसरी पुनःस्थापित गराउने भन्नेबारे केही निर्णय भएको छैन । चाँडै पुनःस्थापना प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ । ‘पहिले घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ । छिमेकीको घरमा आ श्रय लिएर बस्नुपरिरहेको छ', भविष्यप्रति चिन्तित हुँदै शम्भुले भने, ‘अर्काको घरमा यसरी कति दिन बस्न दिन्छन् ? थाहा छैन । हामी त्यसपछि कहाँ जाने । सरकारले चाँडै व्यवस्था गरिदियोस् ।'

अर्का पीडित टंकको पनि यस्तै माग छ । ‘हाम्रो कमाई खाने खेतको नामोनिसान छैन । अब खेती-किसानी गरेर खाऊँ भने पनि ठाउँ छैन । टाउको लुकाउने घर बनाउन पनि ठाउँ छैन', उनले भने, ‘अब सरकारले नै हेरिदिनुपर्छ । तर, चाँडै गरिदियोस् ।'

गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहालले बाढीपीडितलाई पुनःस्थापनाको प्रयास भइरहेको बताइन् । ‘बाढीबाट पीडितको तत्काल उद्धार गर्नु थियो । त्यो मानवीय उद्धार भइसकेको छ । त्यसपछि उनीहरूको पुनर्वासका लागि गाउँपालिकाले तत्काल केही रकम उपलब्ध गराइसकेको छ । उनीहरूको पुनःस्थापनाका लागि पनि गाउँपालिकाले पहल गर्ने नैछ', उपाध्यक्ष दाहालले भनिन्, ‘तत्काललाई बाढीले ठप्प भएको खानेपानी र सिँचाइको सम्बन्धमा पनि काम गर्नुपरेको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.