१० बैंकले तिरे साढे १४ अर्ब राजस्व
काठमाडौं : गएको आर्थिक वर्षमा १० वटा वाणिज्य बैंकले मात्रै राज्यको ढुकुटीमा करिब साढे १४ अर्ब रुपैयाँ जुटाएका छन् । बैंकहरूले राजस्वको माध्यमबाट सरकारी कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थालाई सेवामूलक क्षेत्र भन्दै सरकारले आयकरमात्रै तिरे पुग्ने व्यवस्था गरेको छ । बैंकहरूले कर्पोरेट ट्याक्स र ब्याजकर तिर्ने गरेको आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक चन्द्रकला पौडेलले जानकारी दिए । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै जाँदा आयआर्जन पनि बढ्दै गएको र आय बढ्दा कर पनि बढ्न गएको बैंकर्सले बताएका छन् ।
गएको वर्ष सबैभन्दा बढी राजस्व नबिल बैंकले तिरेको छ । बैंकले दुई अर्ब २१ करोड ४७ लाख राजस्व तिरेर सबैभन्दा बढी राजस्व तिर्ने बैंकको रूपमा स्थापित भएको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंक बढी कर तिर्ने वाणिज्य बैंकको दोस्रो नम्बरमा परेको छ । बैंकले गएको वर्ष दुई अर्ब तीन करोड ४७ लाख २० हजार रुपैयाँ कर तिरेको छ । बढी कर तिर्ने तेस्रो सूचीमा कृषि विकास बैंक स्थापित भएको छ । बैंकले एक अर्ब ६४ करोड ७३ लाख ५१ हजार रुपैयाँ कर तिरेको छ ।
नेपाल बैंकले भने एक अर्ब ३९ करोड ४६ लाख ५० हजार रुपैयाँ कर तिरेको छ ।
अर्का अर्बपति करदाता हिमालयन बैंकले एक अर्ब ३८ करोड ३० लाख ५८ हजार रुपैयाँ कर तिरेको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा राज्यलाई एक अर्ब २९ करोड १३ लाख ६२ हजार रुपैयाँ कर तिरेको छ । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा एक अर्ब २५ करोड ३७ लाख ६७ हजार रुपैयाँ कर तिरेको छ ।
नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा एक अर्ब १० करोड तीन लाख रुपैयाँ कर तिरेको छ । अर्का वाणिज्य बैंक एनआईसी एसिया बैंकले एक अर्ब आठ करोड १७ लाख रुपैयाँ कर तिरेको छ । अर्बभन्दा बढी कर तिर्ने १० बैंकको अन्तिम करदाताको सूचीमा एभरेस्ट बैंक परेको छ । एभरेस्टले गत आर्थिक वर्षमा एक अर्ब चार करोड ५१ लाख रुपैयाँ कर तिरेको छ ।