साउने झरीका कारण पाँचको मृत्यु
भैरहवा : रूपन्देही र कपिलवस्तुमा बुधबारदेखि परेको अविरल साउने झरीका कारण शुक्रबार यस क्षेत्रमा पाँचजनाको ज्यान गएको छ। मायादेवी गाउँपालिका २ तिलौरीमा घरको पर्खालले च्यापेर २८ वर्षीया गीता हरिजनको ज्यान गएको छ। यसैगरी पानीमा ढुवेर तीन बालक र एक वृद्धसहित चार पुरुषको ज्यान गएको छ।
राति सुतिरहेको अवस्थामा शुक्रबार बिहान ३ बजेतिर घरको कच्ची माटोको पर्खाल लडेर च्याप्दा गीताको ज्यान गएको हो। २८ वर्षीय गीताका ५ सन्तान छन्। दुर्घटनामा बालबालिका समेत घाइते भएका छन्।
ढुवान प्रभावित क्षेत्र रोहीणीमा पौडी खेल्ने क्रममा १४ वर्षीय परशुराम चौधरीको शुक्रबार दिउँसो ढुवेर ज्यान गएको छ। यसैगरी कपिलवस्तु वाणगंगा ११ मधुनी खोलामा भैंसी तार्ने क्रममा स्थानीय १७ वर्षीय सागर थारूको ज्यान गएको छ। शिवराज नगरपालिका ९ शिवगढी बानियाँ भारमा कक्षा ४ मा अध्ययनरत ८ वर्षीय सन्दीप विकको स्थानीय खोलामा डुबेर ज्यान गएको छ। खोला किनारको निउरो टिप्ने क्रममा चिप्लिएर उनको ज्यान गएको हो।
यसैगरी विजयनगर गाउँपालिका १ नौडिहवामा छोरीको घरमा आएका रोल्पाका ५१ वर्षीय नेत्र सुनार खोलामा डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए।
वर्षाका कारण हुलाकी मार्गदेखि दक्षिणको अधिकांश भूमि जलमग्न भएको छ। रूपन्देही सदरमुकाम भैरहवा, लुम्बिनी सांस्कृतिक नगरपालिकालगायत जिल्लाको दक्षिण एवं भारतीय सीमावर्ती क्षेत्रका गाउँ एवं नगर क्षेत्रमा होचो सतहमा बनेका पुराना घरभित्र पानी पस्दा लाखौं मूल्यका धनमाल भिजेर नष्ट भएको छ।