‘प्रधानमन्त्रीज्यू, नर्कमा स्वागत छ

 ‘प्रधानमन्त्रीज्यू, नर्कमा स्वागत छ

साहित्यकार पारिजातले ‘साल्गीको बलात्कृत आँसु' लेख्नुअगाडि नै सुरु भएको नेपाली चेली बेचबिखन आजपर्यन्त छ। यस बीचमा शासन फेरिए, शासक फेरिए तर भारतका मुम्बई, कलकत्ता, दिल्लीदेखि पछिल्लो समय अरब भूमिका साहुका खोपी र अफ्रिकी मुलुकका डान्सबारसम्म नेपाली चेलीहरू यौनप्यास मेटाउने साधन बनाउन छोडिएको छैन। केवल नयाँ बजार र नयाँ पात्रहरु फेरिएका छन्।

यौनप्यास मेटाउने ‘धन्धा' कै लागि लोभलालच, धम्की, परिबन्द आदिको सिकार भएर ‘कोठी'मा बस्न बाध्य चेलीका आँसु देख्ने कसले ? उनीहरूका पीडा सुन्ने कसले ? आशा थपलियाले भारतमा पछिल्लो पाँच महिनामा नेपाली दूतावास तथा विभिन्न गैरसरकारी संस्थाद्वारा उद्धार गरिएका चेलीहरूसँग कुराकानी गरेर यो पत्र तयार गरेकी छन्।


सम्माननीय प्रधानमन्त्रीज्यू सामूहिक नमस्कार,
यो पत्र तपार्इंलाई सम्बोधन गरेर लेखेको भए पनि यसभन्दा अघि भारत भ्रमणमा आएका प्रधानमन्त्री तथा राष्ट्रप्रमुख सबैका लागि भएको अवगत गराउँछौं।

सुन्दैछौं, तपाईं यही महिना भारत भ्रमणमा आउँदै हुनुहुन्छ। तपाईंकी धर्मपत्नी पनि भ्रमणमा सरिक हुनुहुनेछ भन्ने सुनेका छौं। प्रधानमन्त्रीकै रूपमा तपाईंको यो भ्रमण त चौथो पटक हुँदै रहेछ। हेर्नुस् न, तपाईं आउँदा हामी हर्षले विभोर हुनुपर्ने हो तर खुसी हुने कुनै कारण नै भेटेनौं हामीले।

भारत आउँदा विगतका कुनै प्रधानमन्त्रीले हाम्रा लागि केही कोसेली ल्याएका थिएनन्। त्यसैले तपाईंबाट हामीले केही आशा राख्नुले कुनै अर्थ राख्ने छैन।
कोठीको यो जिन्दगी नै ‘घर' बनिसकेको छ हाम्रा लागि। तपाईंले कमैया प्रथा उन्मूलन गराउनुभएको थियो क्यारे। त्यसैले पनि तपाईंमार्फत आफ्नो कथा र व्यथा सुनाउने कोसिस गर्दैछौं।

अभिशाप बनेको हाम्रो जिन्दगीका भोगाइहरू एकपटक पढिदिने फुर्सद निकालिदिनुहोला। सीमासँग जोडिएको हाम्रो मुलुकका अधिकांश छोराहरू मजदुरी गर्न भारतकै विभिन्न सहरमा छिर्छन्। चेलीहरू ठगिँदै, फकाइँदै विभिन्न कोठीहरूमा बेचिन्छन्। बेचिएपछि त्यो चेलीको भोगाइ र पीडा कस्तो होला ? यो सानो पत्रमा त्यसको बेलीविस्तार लगाउन सम्भव पनि छैन। कहिले घर, कहिले समाज, अनि मुलुकबाटै कुनै न कुनै हिंसामा परेर पीडित बन्दै गरेका चेलीहरू बेचिएर आएपछि यहाँ कोठीका बाई (कोठा चलाउने मालिक्नी)हरू र उनीहरूका मुस्टण्डे बडीगार्डहरूबाट समेत झनै अपहेलित भइरहेका छन्।

बेचिएका सुरुवाती दिनमा मानसिक रूपमा हामी कोही पनि ‘काम'का तयार हुँदैनौं तर हामीलाई खरिद गर्ने बाईका लागि पसल बनाइन्छौं। हामीलाई त्यसपछि जेलजस्तो कालकोठरीमा थुनेर राखिन्छ। डर, त्रास धम्कीले हुन्छ या चिप्लो घसेर प्रेमको बहाना; हामीलाई सकेसम्म फकाउँछन्। नमान्नुको विकल्प हुन्न हामीसँग। न यहाँ हामीलाई उद्धार गर्ने कोही छ, न त हामी गुहार माग्न नै सक्ने अवस्थामा हुन्छौं। अन्ततः आँसुको नदीमा पीडा र चित्कार बगाउँदै‍-बगाउँदै यही पेसा अपनाउन बाध्य हुन्छौं।

सुनिता दनुवार दिदीले लेखेको किताब ‘आँसुको शक्ति' तपाईंले पढनुभएको छ प्रधानमन्त्रीज्यू ? छैन भने, एकपटक अवश्य पढ्नेहोला। हामीजस्तै बेचिएकीमध्येकी एक ती दिदीले सबैको पीडा, कथाव्यथालाई त्यहाँ उतारेकी छिन्। दिनको पाँच सातजना पुरुषसँगे जबर्जस्ती शारीरिक सम्पर्क गर्नुपर्ने, नमानेमा पिटाइ, चुरोटको ठुटाले डामेको पीडा, गालीगलौज...ती सबै यथार्थ उनले पुस्तकमा लेखेकी छिन्। हामी त यहाँ त्यस्तै जर्जर पीडामा जीवनका कहालीलाग्दा क्षणहरू बिताइरहेका छौं। हामीलाई कस्तो भइरहेको होला ?

यहाँ बेचिएर आइसकेपछि हाम्रो हरप्रयास कसरी यो नर्कबाट उम्कने नै हुन्छ। जबसम्म मनले विरोध गरिरहन्छ तबसम्म भाग्ने कोसिसमा हुन्छौं हामी। चारैतिर पहाडझै लाग्ने तगारा र पर्खाल नाघेर जब हामी उम्कन सक्दैनौं, तब भाग्यलाई दोष दिएर लत्रिन्छौं। थाकेपछि रुन्छांै, कराउँछौं, चिच्याउँछौं। आफैंलाई धिक्कार्छौ। तर, कसले बुझ्छ र यहाँ ! हाम्रो नांगो शरीरलाई खेलौना बनाएर आनन्द लिनेहरूका लागि यो चित्कार अर्को आनन्दको रूप हुन सक्छ। उनीहरूको पत्थर मनमा हाम्रो चित्कारले छुँदा पनि छुँदैन।

प्रधानमन्त्रीज्यू, के यही हो हाम्रो नियति ? एउटा स्वतन्त्र सार्वभौम मुलुकको नागरिक हामीलाई पनि संविधानले बाँच्न पाउने अधिकार दिएको छ क्यारे, खोइ त त्यो अधिकार हामी नेपाली चेलीले पाएका छौं ? हेर्नुस् त, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकको हकहितका लागि चिन्ता गरेको। बाहिरका देशमा फसेका र पीडामा रुमल्लिएका नागरिकहरूको उद्धारका लागि प्रयास गरेको।

अस्ति भर्खरै भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानमा फसेकी एक चेलीको उद्धारको लागि गरेको प्रयास पक्कै पनि सुन्नुभयो होला नि। तर, हाम्रो हालत भने शरणार्थीको जस्तो छ। दिल्लीमा दूतावास छ, उद्धार गरिए पनि दूतावासका कर्मचारीहरूको रुखो व्यवहार हामीलाई सह्य हुँदैन। सरकारका कर्मचारी पनि जनताले तिरेकै करबाट पालिने होलान् नि ! तैपनि उद्धार गरेर उनीहरूले उपकार नै गरेजस्तो गर्छन्। तर, हामीलाई ‘सब नाटक हो, उद्धार गरे पनि फेरि फर्किएर आउने ठाउँ यही हो यिनीहरूको' भनेर लाञ्छना लगाउँछन्।

तपाईं ‘स्वर्ग' मा हुनुहुन्छ, हामी ‘नर्क'मा। सहन नसकिने पीडा हुन्छ यहाँ। फेरि पनि हामी चेलीहरूको तर्फबाट तपाईंलाई हाम्रो नर्कमा स्वागत छ। के हाम्रो कहानी सुन्न तयार हुनुहुन्छ, प्रधानमन्त्रीज्यू ?

रहरले कोही दिल्लीको जीबी रोड वा मुम्बईको कोठी पुगौं भन्ने ठान्छ होला र प्रधानमन्त्रीज्यू ? गरिबी, अशिक्षा तथा अज्ञानता, माया र आफ्नोपनको अपुरोपन अनि श्रम बेचेर पनि दैनिक जीवन धान्न नसक्ने अवस्थाजस्ता बाध्यताले पुर्‍याउँछ त्यहाँ। सबै चेलीहरूको समान बाध्यता त हुँदैन तर हरेक चेलीको आफ्नै कथा र व्यथा भने छ।

उद्धार गरेर घर त फर्काइन्छ तर विकल्प पाइन्न। सरकारले नै बेवास्ता गरेपछि समाज र परिवारले कुन आधारमा स्विकार्ला हामीजस्ता महिलालाई ? किनकि मानसिक र शारीरिक रूपमा हामी पीडित भएर अनेक रोग लिएर घर फर्किन्छौं।

केही दिनअघि उद्धार गरिएका हामी चौबीसजना चेलीहरू दूतावासमै बसेका थियौं दूतावासको एउटा कोठामा मालवाहक गाडीमा सामान कोचिएजस्तो हालतमा। आउने‍-जाने मान्छेले देख्लान् कि भनेर ढोका बन्द गरेर अपराधीजस्तो गरी बस्नुपरेको थियो। बाध्यताले बेचिन पुगेका हाम्रा लागि समाज कति क्रूर छ भने छुटेर आउँदा पनि मुख लुकाउँदै हिँड्नुपर्छ। के हाम्रो पीडामा सहानुभूति र प्रेमको मल्हम लगाउने कुनै मानवता जीवित छैन हाम्रो समाजमा ?

शान्तिका दूत भगवान् बुद्धको एउटा कथा याद आउँछ। कुनै गाउँकी एक यौनकर्मी स्त्रीले उनलाई आफ्नो घरमा आउनका लागि आमन्त्रण गर्दा समाजका मान्छेले उसको घरमा नजानु है भनेर रोकेका थिए। नराम्रो काम गर्छे, यौन व्यवसाय गर्छे भनेर बुद्धलाई रोकेका थिए। तर, बुद्धले उनीहरूलाई एउटा हातले ताली बजाउन भने, जुन सम्भव भएन। अनि उनले समाजलाई भने— जसरी एक हातले ताली बजाउन सकिन्न त्यसैगरी त्यो स्त्रीमात्रै कसरी खराब हुन सक्छे ? ऊ एक्लै त यौन पेसा चलाउन सक्दिनँ। आवश्यकता स्त्रीको कि पुरुषको ?

बुद्धको भनाइले निःशब्द भएको थियो त्योबेलाको समाज पनि। यो उपदेशलाई मनन् गर्ने हो भने लाज त समाज र मुलुकको नेतृत्वकर्तालाई लाग्नुपर्ने हो। तर, मुख छोप्न हामी बाध्य छौं।

दूतावास त हाम्रो लागि घरसरह हुनुपर्ने हो तर सरकार मनले यति गरिब छ कि नेपाली चेलीका लागि एउटा सानो अस्थायी संरक्षण गृह बनाउन पनि सक्दैन। पैसाले गरिब त छैन हाम्रो सरकार। तर कसले सोच्ने ? तपाईंजस्ता प्रधानमन्त्रीलाई यहाँ आउँदा हामीसँग भेट्ने र नजिकबाट पीडा बुझ्ने फुर्सद नै कहाँ छ र ?

बुलेट प्रुफ गाडी, अघिपछि सुरक्षा घेरा अनि राजषी स्वागतमा नै तपाईंहरू व्यस्त हुनुहुन्छ। सर्वहारा वर्गको हक‍-अधिकारका लागि आन्दोलन गरेर सत्तामा पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले त अब पुराना कुरा बिर्सिसक्नुभयो। वामपन्थी अधिकारको चर्का नारा लगाउँदै ‘राष्ट्रवादी' नेता बन्नुभएका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीलाई हाम्रो भावनासँग केको सरोकार र ?

दलालहरूको बिगबिगी छ मुलुकमा। एउटा गिरोह नै सक्रिय छ। देशका ठूला नेताहरूकै संरक्षणमा मौलाएका छन् उनीहरू। तलका कार्यकर्तादेखि माथिका नेता‍-मन्त्रीसम्मै पहुँच राख्ने उनीहरूको अन्त्यको कसरी कल्पना गरौं हामीले ? होइन भने त यी दलालहरू मासिनुपर्ने हो। कडा कारबाहीमा पर्नुपर्ने हो। तर, हाम्रो देशमा कहाँ त्यस्तो हुनु ? उनीहरू त खुलेआम घुमिरहेका छन्, छाती फुलाएर। यिनीहरूको सञ्जाल यति ठूलो छ, कुनै हालतमा हामी भारतका कोठीबाट उम्किएर नेपाल आयौं भने कतिपय पुनः कोठीमै आइपुग्छौं।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला भन्नुहुन्छ-यो संस्था चाँडै बन्द हुने दिन आओस्। यसको अर्थ चेलीबेटी बेचबिखन बन्द हुनु हो। तर, जबसम्म हाम्रो बाध्यता अनि दलालको सक्रियता रहिरहन्छ, अनुराधा दिदीहरूले कहाँ आराम पाउनुहुन्छ ? समस्याको जरोमा पुग्नुभयो भने अशिक्षा हाम्रो लागि अभिशाप बनेको थाहा पाउनुहुन्छ। खान नपाउनुको पीडा, गरिबीको चरम मारमा औषधोपचार नपाउनुको पीडा, हामी बेचिनुका मुख्य कारण हुन् प्रधानमन्त्रीज्यू।

हामीले सुनेका छौं, प्रधानमन्त्रीको एक्लो छोरा बेलायतमा पढ्दै छन् रे। तपाईंका मात्र होइन हाम्रा अधिकांश ठूला नेता तथा उच्च पदका कर्मचारीका छोराछोरीहरू विदेशमै पढछन्। कति आशा र अपेक्षा होला तपाईंहरूलाई आफ्ना सन्तानबाट। हाम्रा आमा‍-बाबालाई त घरखेत गरेर दुई छाक टार्नै धौ‍-धौ छ। उनीहरूलाई सघाउँदा‍-सघाउँदै हाम्रो जिन्दगी पनि उसैगरी बित्छ। पढेर उच्च शिक्षा हासिल गर्ने कुरा तपाईंहरूले हाम्रो भाग्यमा लेख्नै सक्नुभएन प्रधानमन्त्रीज्यू।

जसले अभाव र गरिबी भोगेको छैन अर्थात् तपाईंहरूका जस्ता नेताहरू (जो हामी जस्ताकै भोटले जितेर नेता बन्नुभएको छ, प्रधानमन्त्री बन्नुभएको छ) का सन्ततिलाई यी पीडा दन्त्यकथाजस्तो हुन्छ। तर, भोग्ने हामीजस्ताका लागि जिउनु नै कष्टकर हुन जान्छ। जसले अभाव र गरिबी भोगेको छैन त्यसका लागि यी सब कुरा दन्त्यकथा हुन्छन्। तर, भोग्नेका लागि जीवन जिउनु नै कष्टकर हुन जान्छ। गाँसबाँस र कपासको आवश्यकताको अगाडि सबै सिद्धान्त टुट्न थाल्छ। अनि त मनसँगको अन्तरद्वन्द्वमा यौन व्यवसाय पनि स्वीकार्य हुन जान्छ।

पछिल्ला वर्षहरूमा त नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमण पनि बाक्लिएको छ। पाँच वर्षको सरकार भन्छन् तर हाम्रो मुलुकमा त वर्षैपिच्छे सरकार ! वर्षैपिच्छे नयाँ प्रधानमन्त्री। तपाईंहरू जति फेरिए पनि हाम्लाई के नै फरक परेको छ र ? प्रधानमन्त्रीका कुर्सीमा नयाँ प्रधानमन्त्री फेरिइरन्छन् तर हाम्रो पीडा, व्यथा कहिले फेरिन सकेन। हाम्रा चित्कार तपाईंहरूका कानसम्म नपुग्ने गरी टाढा भइसकेको छ।

केही समयअघि महिला राष्ट्रपति नै भारत आउनुभयो। तर, हाम्रा लागि केही खुस‍-खबर आएन। न त हाम्रो अवस्थाबारे चासो र सोधखोज नै गरियो।
मान्छेले मरेपछि ‘स्वर्ग' र ‘नर्क' देख्छ भन्छन्। तर, एकपटक पाइने जुनीमा ‘स्वर्ग' र ‘नर्क' यहीं छ प्रधानमन्त्रीज्यू। तपाईं ‘स्वर्ग'मा हुनुहुन्छ, हामी ‘नर्क'मा। सहन नसकिने पीडा हुन्छ यहाँ। फेरि पनि हामी चेलीहरूको तर्फबाट तपाईंलाई हाम्रो ‘नर्क'मा स्वागत छ। के हाम्रो कहानी सुन्न तयार हुनुहुन्छ ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.