अस्वस्थ र जीर्ण बन्दै गएको बहस

 अस्वस्थ र जीर्ण बन्दै गएको बहस

नेपाली साहित्यको स्तर र गुणवत्ताबारे बेलाबेला अनौपचारिक÷औपचारिक मञ्चहरूमा बहस चल्छ । पत्रपत्रिकामा, सामाजिक सञ्जालहरू र भेलाहरूमा यस्तो बहस हुनु राम्रो हो । तर, हाम्रो बहसको केन्द्र के हो भन्ने स्पष्ट छैन । यस्ता बहसमा तर्क र प्रामाणिकताभन्दा अहम् र जिद्दी प्रकट भएपछि बहस व्यक्तिगत तुस पोख्ने माध्यममा बदलिन्छ र त्यसले उपयुक्त निष्कर्षमा पुग्न पाठकलाई मद्दत पुर्‍याउँदैन ।

अहिले कुनै रचना विशेष वा रचनाकार विशेषको उदाहरण दिएर बहस गर्नु अतिरिक्त जोखिम मोल्नुसरह भएको छ । बहसकर्ताहरू अलोकप्रिय होइने आशंकाले सत्य बोल्न हिच्किचाइरहेका छन् । बहसको भाषा अस्वाभाविक किसिमले अस्वस्थ र जीर्ण बन्दै गएको छ । सामाजिक सञ्जालहरू ह्रिंसक मनोविज्ञानका वाहक बन्दै गएका छन् । आलोचकहरूको जिब्रो नराम्ररी बटारिएको छ ।

उनीहरूले गर्ने संवाद या स्त्तोत्रपाठजस्तो बनेको छ या त ती अनुष्ठानमा अनुपस्थित हुन्छन् । यस्तो लाग्छ, उनीहरू आफूले आर्जन गरेको ज्ञान र अनुभवभन्दा पर अजातशत्रु बन्ने ध्याउन्नामा गम्भीर बहसबाट भागिरहेका छन् र हल्काफुल्का टिप्पणी गरेर वाहवाही बटुलिरहेका छन् । तिनका गला कि खादा, कि त मालाले लत्रेका छन् । त्यसैले यस्ता आयोजनले विवेकको भाषा चाहनेहरूको आकर्षण गुमाइरहेको हुनुपर्छ ।

जस्तोसुकै किन नहोस्, बहस अब प्रारम्भ गर्नुपर्छ, रोक्नुहुन्न । सत्यको उद्घाटन र पक्षधरता अब नितान्त जरुरी भइसकेको छ । बहसकर्ताले शालीन र तार्किक भाषामा आफूलाई उपस्थित गर्नुपर्छ । बहसको अर्को पक्षले उस्तै शालीन भाषाको प्रयोग गर्दै यावत् विकृतिहरूको चिरफार गरेर साहित्य र कला जगत्लाई स्वस्थ बनाउने यत्न गर्नैपर्छ ।

केहीअघि नेपाल प्रज्ञा प्रतिष्ठानको षष्ठीपूर्तिको सन्दर्भमा आयोजित केही बहस कार्यक्रम सम्पन्न भए । एक संवाद कार्यक्रममा म पनि सहभागी थिएँ । म सहभागी कार्यक्रममा नेपाली कविताको बारेमा समकालीन रचनाकारहरूसँग संवाद गरिएको थियो । अहिलेकी चर्चित युवा कवि सरिता तिवारी मोडरेटर रहेको त्यस संवाद कार्यक्रममा अर्का चर्चित युवा कवि मनु मञ्जिल, समालोचक ताराकान्त पाण्डे, दिनेश अधिकारी र म बहसकर्ताका रूपमा आमन्त्रित थियौं ।

आफ्ना विचार राखिसकेपछि फ्लोरबाट जिज्ञाशा आमन्त्रित गर्दा सुरुमा संवाद राम्रैसँग गएको अनुभव भएको हो । तर, छन्दमा कविता रचना गर्ने केही मित्रहरूले डायसमा बोलाइएकाहरूमध्येमा छन्दवादी कवि समावेश नगरिएकोमा राम्रै आक्रोश पोखे ।

त्यहाँ संवादको विषय कविताको थियो, छन्द वा छन्दमुक्त रचनाको बारेमा थिएन । कुरो गुणात्मकताको थियो, समानुपातिकताको थिएन । तर, हाम्रो राजनीतिक युगलाई जबर्जस्ती समानुपातिक बनाइसकेपछि कविहरूमा पनि त्यसको छाया परिसकेको रहेछ । आखिर राजनीति नै समाज सञ्चालनको मियो न हो । अरूबेला राजनीतिमुक्त या राजनीतिलाई पनि मार्गदर्शन गर्ने साहित्यको बखान गर्ने ती मित्रहरू यतिबेला समानुपातिक पक्षधर भइरहेको देख्ता एक प्रकारको विसंगतिबोध त भयो नै सँगसँगै उनीहरू आवेगमा आएर स्वयं आफ्ना मान्यतालाई कसरी बिर्सिदिन्छन् भन्ने कुराले सोचमग्न पनि तुल्यायो ।

 अहिले कुनै रचना विशेष वा रचनाकार विशेषको उदाहरण दिएर बहस गर्नु अतिरिक्त जोखिम मोल्नुसरह भएको छ । बहसकर्ताहरू अलोकप्रिय होइने आशंकाले सत्य बोल्न हिच्किचाइरहेका छन् । बहसको भाषा अस्वाभाविक किसिमले अस्वस्थ र जीर्ण बन्दै गएको छ । सामाजिक सञ्जालहरू ह्रिंसक मनोविज्ञानका वाहक बन्दै गएका छन् ।

यसअघि झोराहाट नाट्यघरको ‘गाउँको कविता' कार्यक्रमको वार्षिकोत्सवमा आयोजित विशेष समारोहमा निम्त्याइएको म अचानक मकालु टेलिभिजनको लाइभमा पुर्‍याइएको थिएँ । त्यहाँ छन्दमा कवितावाचन चलिरहेको थियो र विराटनगरका सबैजसो वरिष्ठदेखि कनिष्ठ कविहरू भाका हालीहाली कविता वाचन गरिरहेका थिए । मैले छन्द कविताको परम्परालाई उनीहरू छन्दमा कविता रचना गर्नुलाई विशेष महत्ववको विषय ठानिरहेका थिएँ ।

कार्यक्रम सञ्चालकले मलाई मन्तव्यका लागि बोलाएपछि मैले कविताको प्राथमिक सर्त कविता-कला नै हो, छन्दमा बाँधिएर वा मुक्त भएर लेख्नु रचनाकारका रुचि र क्षमताका विषय भएकाले त्यसलाई नै काव्यशक्तिको तौल नमान्न आग्रह गरेको थिएँ । सँगसँगै भनेको थिएँ- आज लेखिएका छन्द कविताले आजको प्रविधि र मनोविज्ञानलाई आत्मसात् गर्नैपर्छ र नयाँनयाँ चुनौतीको सामना गर्न सक्नैपर्छ । उनीहरूले नयाँ पुस्तालाई ध्यानमा राख्नैपर्छ । हाम्रा केही मित्रहरू अझै मंगलाचरणको युगमा हुनुहुन्छ भने छन्दको विकास अवरुद्ध हुन्छ ।

नेपाली गजल युवा पुस्तामाझ निकै लोकप्रिय छ । गजल निकै गम्भीर गेय काव्यरूप हो । हामीले मिर्जा गालिब, मिर तकी मिर, मोहम्मद इकबाल, फैज अहमद फैज, कैफी आजमी आदि सयौं गजलकारहरू पढेका छौं । हामी वेगम अख्तर, मेहदी हसन, गुलाम अलीजस्ता गजलगायकहरूका स्वरमा गजल सुन्ने गर्छौं । उर्दुभाषी जगत्मा त गजल जीवनपद्धतिको महत्ववपूर्ण पाटो हो । तसर्थ उर्दु भाषीसँगको हाम्रो संगतका कारण हामी नेपालीको गजल साइनो हाइकु र ताङ्काजस्ता जापानी शैलीसँगको साइनोभन्दा धेरै पुरानो र बलियो छ ।

त्यतिमात्र होइन, उर्दु भाषामा रहेको लयात्मकताले कविको भाव-अभिव्यक्ति क्षमतालाई दिएको आधार अन्य भाषामा उत्तिकै मात्रामा पाइनु दुर्लभ छ भन्ने हामी अनुभव गछौं । हरेक भाषाको आफ्नो भाषिक संस्कृति हुन्छ र त्यसका सीमाहरू पनि हुन्छन् भनी बुझ्ने हो भने अंग्रेजी, रुसी वा पोर्चुगिज भाषामा गजलको मिठास आउन दुर्लभ छ । मलाई लाग्छ, भारतसँग भुटानको जतिसुकै विशेष राजनीतिक सम्बन्ध भए पनि जोङ्खामा गजल मीठो सुनिने छैन ।

नेपालमा नेपाली भाषामा गजल लेखन परम्परा बनारसमा पढाइ गरेका र त्यहाँको साहित्यिक मण्डलीको संगत गरेका मोतीराम भट्टले सुरु गरे र नेपाली साहित्यको कथित माध्यमिक कालभर त्यसको प्रभाव रह्यो । उनको पालामा हिन्दी लोकप्रिय साहित्यिक र कामकाजी राष्ट्रभाषा भइसकेको थिएन । उत्तर भारतमा उर्दु नै बहुप्रचलित भाषा थियो । त्यसैले त्यतिबेलाका साहित्यिकहरूमा उर्दुमा रचना गर्नु प्रतिष्ठाको विषय बन्थ्यो । अथवा उर्दुका विधागत मान्यताहरू अन्य भाषामा पनि प्रवेश गर्दै थिए । हिन्दीमा गजल रचनाको निकै प्रारम्भिक समय थियो त्यो ।

तैपनि उर्दुको मोहमा परेका मोतीराम भट्टजस्ता नेपालीभाषी साहित्यिकहरूले नेपालीमा गजल प्रारम्भ गरे र उनको समय (जसलाई नेपाली साहित्यमा माध्यमिक काल भनिएको छ) गजलमय बन्यो । त्यसपछि पनि खासगरी भीमनिधि तिवारीले गजललाई अघि बढाउने प्रयास गरेका थिए । भीमनिधिको समयमा देवकोटा र माधव घिमिरे, सिद्धिचरण र युद्धप्रसाद मिश्रका शास्त्रीय छन्दमा बाँधिएका कविताले लामो समयसम्म नेपाली समाजमा कविताको प्रतिनिधित्व गरिराखेकै थिए । तर, यसैबीच देवकोटा, रिमाल, विजय मल्ल, भूपीजस्ता गद्य कविताका अभ्यासकर्ताहरूले गद्यमा नेपाली कविताको गम्भीरतम अभिव्यक्ति सम्भव छ भन्ने मात्र देखाएनन्, त्यसलाई अन्तर्राष्ट्रिय आयाम पनि दिए जुन अहिलेसम्म जारी छ ।

यीभन्दा पर, नेपाली गजलको उन्नयन वा पुनरुत्थानको काम ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, बुँद राना, ललिजन रावल र रवि प्रान्जलले गरेको देखिन्छ । पश्चिम नेपालमा रहेर चुपचाप तर स्तरीय गजल लेखिरहने प्रकाश राजापुरी पनि यसै पंक्तिका हुन् । यिनीहरूकै प्रयासले अहिले गजल लेखन नेपाली युवा पुस्तामाझ निकै आकर्षणको विषय बनेको छ । यिनमा खोजिपस्ने हो भने, केही गजल र गजलकार नमूनाका रूपमा देखिन सक्लान् पनि । यो गजलकारहरूमा आउने भाषासम्बन्धी चेतना र नेपाली भाषाको गजलीकरणको क्षमतामा भर पर्ने कुरा हो ।

तर, गजल पनि समानुपातिक हुँदो छ । र, गजललाई कविताको एक रूप स्वीकार्ने परम्पराविरुद्ध यसले भिन्नै विधाको मान्यता खोजिरहेको देखिन्छ । यो खोजाइ कसैका लागि पनि आपत्तिको विषय त बन्दैन, तर नेपाली भाषालाई उर्दु गजलले आजसम्म प्राप्त गरेकोे गहिराइमा अभिव्यक्त हुन क्षमतासम्पन्न बनाउने प्रतिभा भने अझै सतहमा आइपुगेको देखिन्न । यसो भनियो भने नेपाली गजल लेखनका अभ्यासकर्ताहरू क्रुद्ध नहोऊन् भन्ने कामना गर्नुपर्छ जुन पद्य कविहरूबाट हामीले अपेक्षा गरेका हुन्छौं ।

मलाई लाग्छ, यदि त्यस्तो क्षमता नेपाली गजलकारहरूले हासिल गरे भने गजलको दुनियाँमा नेपाली गजलको उचाइ थपिनेछ र गजलकै क्षेत्रमा पनि हाम्रो प्रतिष्ठा बढ्नेछ । अहिलेसम्मको अवस्था के हो भने तपाईंले तर्कसहित आलोचना गर्नुभयो भने पनि उनीहरू धैर्यधारण गर्न सकिरहेका देखिन्नन् । र, यसरी मात्र नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित गर्न सकिन्छ भन्नेमा केहीलाई विश्वास छ जसरी कुनैबेला अनुष्टुप् छन्दमा लाखौं कविता लेखेर देखाइदिने महान् अभ्यासमा नीरविक्रम प्यासी लागेका थिए । लोकप्रियता सबैका लागि प्रिय हुन्छ तर यो म्याराथन साहित्यमा रुचिकर हुन्न भन्ने कुरा बिर्सिएजस्तो छ ।

तीसको दशकसम्म नेपाली कथा भनेको गुरुप्रसाद मैनाली, बीपी कोइराला, भवानी भिक्षु, गोविन्द गोठाले र रमेश विकल अथवा पोषण पाण्डेसम्म आएर रोकियो भन्ने धेरैका बुझाइ हुन्थ्यो जतिबेला मदनमणि दीक्षित र मनु ब्राजाकीहरू नयाँ छाँटका कथाहरू लेखिरहेका थिए । रुढ पन्थले विकासलाई सजिलै ग्रहण गर्दैन पनि । त्यसैले नेपाली कथालाई पुरानै मानापाथी मुरीले नाप्ने गरिएको थियो ।

विश्व बजारमा म्याट्रिक प्रणाली लागू भइरहँदा अझै पनि नेपालका दूरदराज गाउँघरमा मानापाथी विस्थापित नभएजस्तो अवस्थालाई मानक बनाउँदा परिणाम यस्तै हुन्छ । त्यसैले समालोचकहरू मनु ब्राजाकी, मोहनराज शर्मा, भाउपन्थी, राजव, नारायण ढकाल, किशोर पहाडी, नारायण तिवारी, अविनाश श्रेष्ठ आदि आधुनिक कथाकारहरू कतिसम्म हस्तक्षेपकारी थिए भन्ने विषयमा अझै प्रवेश गर्न अझै सकेका छैनन् । अनि तिनले पछिल्लो समयका नयनराज पाण्डेलाई कसरी आत्मसात् गरून् !

उपन्यासका बारेमा अचेल निकै चर्चा हुन्छ, तर त्यो समालोचनामा वा पत्रपत्रिकामा हुँदैन, त्यो सामाजिक सञ्जालले हामीलाई दिएको असीमित स्पेसमा हुन्छ । दस-बीस वर्षयता आएका ‘उलार', ‘प्रेतकल्प', ‘सोटिट' वा ‘दमिनी भीर'जस्ता दुई चार उपन्यास पनि गम्भीर चर्चाबाहिरै छन् । कुनै ठूलो पुरस्कार पाएपछि गरिने मौखिक वा बजारु चर्चाले कलाकृतिको मूल्य निरूपण गर्दैन । समालोचकीय दृष्टिसम्पन्न चर्चा यसकारण चाहिएको हो कि ‘समर लभ' वा ‘खेलौना'को सापेक्षतामा तिनको लेखन र प्रकाशनको अर्थ के हो भन्ने कुरा नेपाली पाठकहरूले थाहा पाउनुपर्छ । अन्यथा समालोचनाको कुनै अर्थ छैन ।

नेपाली निबन्धमा पनि पुनर्जागरण आएको अनुभव हुन्छ । नत्र यो शंकर लामिछानेबाट अघि बढेन कि भन्ने धेरैलाई लागिरहेको थियो जसरी नेपाली कविता भूपी शेरचन र मोहन कोइरालामा रोकिएको ठानिन्थ्यो । यथार्थ त्यो थिएन । यथार्थ गम्भीर अध्ययन र समालोचकीय दृष्टिमा कतै थामिएर बसेजस्तो थियो । प्रज्ञा प्रतिष्ठानको रजत जयन्तीमा प्रकाशित केही विशेष ग्रन्थहरूले सीमित मात्रामा भए पनि नेपाली साहित्यमा भइरहेको विकासको क्रमलाई संकेत गर्नेसम्मका काम गरेका थिए । नेपाली निबन्धमा नयाँ-नयाँ विषय र शिल्प देखिइरहेको हेर्न समालोचकहरूले दीपक सापकोटाको सम्पादनमा पछिल्लो समयमा प्रकाशित निबन्धसंग्रह ‘निर्बन्ध मोन्टाज'का पृष्ठ पल्टाउने र तिनमाथि विमर्श सुरु गर्ने चेष्टा अझसम्म गरेका छैनन् ।

निश्चय नै नेपाली साहित्यले विश्वको साहित्य बजारमा आफ्नो सम्मानजनक उपस्थिति देखाउन सकेको छैन । यसमा समालोचकहरूको अभावलाई मात्र एक्लो जिम्मेवार ठान्नु उचित हुने छैन । पक्कै पनि लेखकीय गुणवत्ता धेरै सीमासम्म यसका निम्ति जिम्मेवार हुन्छ । उत्कृष्ट प्रतिभा भयो भने लेबनानजस्तो मुलुकले पनि विश्व साहित्य जगत्मा प्रतिष्ठापूर्ण स्थान सुरक्षित गर्न सक्तो रहेछ भन्ने कुरा त खलिल जिब्रानले नै प्रमाणित गरेका छन् । हाम्रै महाकवि देवकोटाको तासकन्द सम्भाषणले मात्र पनि यस सन्दर्भमा धेरै अर्थ राख्छ ।

तथापि खराब रचनाको उत्कृष्ट अनुवाद न सम्भव हुन्छ न त त्यसले हाम्रो साहित्यलाई विश्वका विभिन्न भागमा छरिएका गम्भीर पाठकहरूको ध्यान आकर्षित गर्न सक्छ । राज्यको साहित्य र कलासम्बन्धी नीति कतिसम्म अनुकूल र विवेकसम्मत ढंगले तयार गरिएको छ ? त्यसले नेपाली साहित्यलाई विश्वमा प्रतिष्ठा दिन सक्षम औजार र शक्ति तयार गर्न कति लगानी गरेको छ ? उसले कस्ता प्रतिभासम्पन्न र सुदृष्टियुक्त व्यक्तिहरूको छनोट गरेको छ जसले राज्यलाई उपयुक्त नीति बनाउन सकारात्मक दबाबको सिर्जना गर्छन् ?

त्यस्तो स्थानमा निहित स्वार्थमा खुम्चिएका दल वा नेताविशेषका विवेकविहीन भाट पात्रहरू त उकालिएका छैनन् ? तिनले कसरी विश्वका विभिन्न भागमा आइरहेका सिर्जनाका तरंगहरूलाई बुझ्न सक्छन् ? यी प्रश्नहरू पनि उत्तिकै बलशाली छन् । यिनको उत्तर नखोजेसम्म न हामीले आफ्नै उत्कृष्ट प्रतिभाहरूको पहिचान गर्न सक्छौं, न त अनुवादका निमित्त उपयुक्त प्रतिभाहरूको विकास गर्न सक्छौं ।

नेपालमा नेपाली साहित्य किन विश्व साहित्यको स्तरमा पुगेन भन्नेबाट हाम्रो स्तरीयताको चर्चा सुरु हुन्छ । यहाँनिर प्रश्न उठ्छ, विश्वसाहित्य भनेको के हो ? बढी विकसित, बढी संख्यामा पाठक बनाएका भाषामा लेखिएका पश्चिमा मुलुकका अंग्रेजी, फ्रेन्च, जर्मन, पोर्चुगिज, स्पेनिस वा रसियन साहित्य नै विश्व साहित्य हो वा अरु पनि छन् ? बेलाबेला नोबल पुरस्कार वा बुकर पुरस्कार पाइरहने भाषामा लेखिएको साहित्य विश्व साहित्य हो कि साना, अविकसित तर कठिन संघर्षबाट गुज्रिरहेका मुलुकहरूका साहित्यसम्पन्न भाषा र तिनमा रचना गरिएका कलाकृतिहरू पनि यसमा आउँछन् ?

के अंग्रेजीमा अनुवाद नगरी कुनै कृतिको उत्कृष्टताको मापन गर्न सकिन्न ? यी प्रश्न पनि उत्तिकै महत्ववपूर्ण छन् । मेरो बुझाईमा विश्व साहित्य भन्ने कुनै स्पष्ट आकारसहितको साहित्य हँदैन । त्यो फिजीदेखि बेलिज वा नर्वेदेखि मालद्विप्सम्म, नेपालका कुनाकाप्चादेखि ग्लोबल सिटी भनी दाबी गरिएका महानगरसम्म अस्तित्ववान् छ । तर, त्यसको महत्ववलाई आत्मसात् गर्ने र त्यसलाई व्यापकता दिने काम भएन भने त्यो आफ्नै लयमा बगिरहन्छ, भूगर्भस्थ नदीजस्तो, सुषुप्त ज्वालामुखीजस्तो, वा जलकणहरूले भरिएको घना बादलजस्तो । जब त्यसले आफ्नो दिशा खोज्न थाल्छ, भूपीले भने झैं, वरिपरिका चट्टानहरू फोडेर निस्कन्छ । यसका लागि समय लाग्छ ।

साहित्यको उत्कृष्टता पुरस्कारको फिताले नापिँदैन । तर, हामी प्रायशः त्यसरी नाप्ने गल्ती गरिरहन्छौं । हामी अन्य सम्पन्न भाषाका कृतिहरू छान्दा नोबल पुरस्कार वा बुकर पुरस्कार प्राप्त लेखक वा पुस्तकको नाम हेर्छौं । नेपालमा हामी मदन पुरस्कार वा साझा पुरस्कारको फिताले नाप्छौं । यसर्थ लेखकहरू प्रायसः तिनका गुठियारकहाँ पुग्न अनेक उपाय अपनाइरहेका देख्छौं या तिनका यावत् प्रयत्नका किस्सा बनाउँछौं ।

केही समययता त जातीय दबाबले पुरस्कार हात पार्ने कसरत गरिएका किस्सा पनि हामीले सुन्यौं । केही वर्षयता केही अकांक्षीहरूले समेत त्यस्तो पहुँचका लागि मसँग समेत याचना गरे । तिनलाई यो लेखक त्यस्तो दौडमा कहिल्यै सामेल हुन नचाहने प्राणी हो भन्नेसम्मको हेक्का रहेनछ । त्यसैले तिनले मसँग ‘लविइङ'को व्यर्थको प्रयास गरेका थिए । एक समर्थ रचनाकारका लागि तिनले उस्तो भारी लोभको सिर्जना गर्न सक्तैनन् भन्ने थाहा हुँदाहुँदै पनि केही मानिस मान्यता प्राप्त गर्ने अस्वस्थ होडमा सामेल हुन्छन् । हाम्रो नेपाली साहित्यको विडम्बना के हो भने पुरस्कारहरू सायद यसरी नै चलेका छन् ।

म मूलतः कविता विधामा समर्पित लेखक हुँ । त्यसैले कविताको बारेमा अलि बढी चासो राख्दो हुँ । नेपाली कविताको रूपाकार र अन्तर्वस्तुमा आएको परिवर्तनलाई पुराना आँखाले हेरियो भने यसमा केही पनि नौलो भएको देखिने छैन । यता नेपालमा भएको राजनीतिक र सामाजिक हलचलले कविताका परम्परागत मान्यतालाई हल्लाउने प्रयत्न गरेको छ भन्ने धेरैलाई लागेको छ तर यो राजनीतिक र सामाजिक हलचलको सतही आभास मात्र हो । गहिराइमा पुग्न अझै बाँकी छ । अहिले दुर्गम र दमित मानिसका चिन्ता कवितामा अभिव्यक्त हुन थालेका छन् ।

तर, ती कतिसम्म सतही छन् भने तिनको चिन्ता कर्णालीको भए पनि मूल्यको जरा र दृष्टिकेन्द्र काठमाडौंमै छ । ती त्यहाँ नपुगेरै वा त्यहाँको समाजमा प्रवेश नगरिकनै क्यामराम्यानको सहायता बिना डेस्कमा रहेको सम्पादकले फोटोमा लेखिदिएका हलुका क्याप्सनजस्ता लाग्छन् । कर्णालीको मानिसको चिन्ता यहाँबाट बुझेर गम्भीर कलात्मक रूप दिन सकिन्न भन्ने कुरालाई तिनले उपेक्षा गरेजस्तो भयो । यो त गरिबका बारे धनीले गरेको चिन्ता जस्तो हुन्छ । हुन पनि तीन दिन जापान बसेको एकजना कविले जापानी समाजलाई बुझेको हुन्छ भन्ने हुँदैन ।

बाहिरी आँखा र सतही अनुभवले कवितालाई जीवन्त र प्रभावकारी बनाउन सक्तैन । चलिरहेको त्यस्तै छ । प्रशंसा र पुरस्कार तिनकै थाप्लामा छन् । पद र प्रतिष्ठा तिनकै वरिपरि घुम्दा छन् । समाजसँगको अन्तरंग सम्बन्ध र जीवन्त संवादले मात्र त्यस पीडाले आधिकारिक कला रूप पाउन सक्छ भन्ने कुरा सैद्धान्तिक रूपमा सही तर व्यावहारिक रूपमा गलत बनाइएको छ । कवि वा साहित्यकारले राजनीति गर्न हुँदैन भनेर कोकोहोलो मच्चाउनेहरू नै रचनाको दबाबले होइन आ-आफ्ना संगठनको शक्तिका दबाबले राज्यमा हावी छन् र अरूलाई उपदेश दिइरहेका छन् । तिनको काम कसैको स्तुतिगान गर्नु र कसैलाई बदनाम गर्नु हो ।

अब यस्ता यावत् प्रश्नमा प्राज्ञिक बहस थाल्नुपर्छ । त्यो असल नियतका साथ स्वस्थ विमर्शतिर लक्षित हुनुपर्छ । अनि मात्र हाम्रा अग्रजका महत्ववपूर्ण अवदानप्रति हाम्रो ध्यान जानेछ र नेपाली साहित्यलाई विश्वमञ्चमा लैजाने हाम्रो चिन्ता सार्थक हुनेछ । तर, हुँदै नभएको विश्वसाहित्यको कुरा गरेर केहीलाई झुक्याउन त सकिन्छ, यथार्थ धरातलमा पुग्न भने सकिन्न । नेपाली साहित्य विश्व साहित्यकै एक अंश हो र यसलाई विश्व रंगमञ्चमा पुर्‍याउन सकिन्छ भन्नेबाट सोच्न सुरु गर्नुपर्छ । मेरो जातिको भन्दैमा त्यही उत्कृष्ट प्रतिभा हो भन्ने अज्ञानबाट हामी स्वयं मुक्त हुनुपर्छ ।

अजातशत्रु बन्ने ध्याउन्नामा जो कोहीलाई पनि नेपाली साहित्यको उज्ज्वल नक्षत्र हो भन्ने रोगबाट हामी मुक्त हुनुपर्छ । मेरो दल वा गुटको भनेर त्यो महान् हो भन्ने संकुचित मानसिकताबाट हामी मुक्त हुनुपर्छ । यसरी मुक्त नभई स्वस्थ विमर्शतर्फ जान सकिने छैन । स्वस्थ विमर्शमा नगई आफूलाई चिन्न सकिने छैन । आफूलाई नचिनी अरूमाथि औंला ठड्याउने काम प्रत्युत्पादक चेष्टा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.