विद्युत् आपूर्ति अवरुद्ध हुँदा उद्योग धराशायी

विद्युत् आपूर्ति अवरुद्ध हुँदा उद्योग धराशायी

वीरगन्ज : विद्युत् आपूर्ति सेवा अवरुद्ध (विद्युत् कटौती) हुँदा बारा पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगको उत्पादनमा असर परेको छ। लोडसेडिङबाहेकको समयमा पनि पटक पटक विद्युत् आपूर्ति बन्द हुँदा बारा पर्साको औद्योगिक करिडोरमा रहेका उद्योगमा असर परेको हो।

नेपाल विद्युत् प्राधिकरणले बारा पर्सा औद्योगिक करिडोरमा दैनिक २० घन्टा विद्युत् आपूर्ति गर्दै आएको छ। यस औद्योगिक करिडोरमा अहिले दैनिक चार घन्टामात्र लोडसेडिङ हुँदै आएको छ। दैनिक २० घन्टा विद्युत् आापूर्ति हुँदै आएको औद्योगिक करिडोरमा एक महिनायता दिनहुँ १० पटकसम्म विद्युत् कटौती हुने गरेको छ।

छिन छिनमा हुने विद्युत् कटौतीले उद्योगको उपकरणमा समस्या आउनुका साथै उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको उद्योगीले बताए।
विद्युत् कटौतीले सबैभन्दा बढी प्लास्टिक र फलामजन्य मालसामान उत्पादन गर्दै आएको उद्योगमा बढी असर परेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ताले बताए।

‘हुन त अहिले दैनिक चार घन्टामात्र लोडसेडिङ छ', उनले भने, ‘तर बाँकी २० घन्टाको अवधिमा पटक पटक गरेर दिनमा १० पटकसम्म विद्युत् कटौती भइरहेको छ, विद्युत् कटौतीले सबै उद्योग मारमा परेका छन्, त्यसमा पनि प्लास्टिक र फलामजन्य उद्योगलाई सबैभन्दा बढी समस्या छ।'

प्लास्टिकजन्य र फलामजन्य कच्चा पदार्थ प्रशोधन गर्ने भट्टीलाई तताउन लगातार १२ घन्टा विद्युत् चाहिने भन्दै उनले भने, ‘तर, हरेक एक दुई घन्टामा लाइन कट्छ जसले भट्टी तात्नै सक्दैन। यसको सिधा असर उत्पादनमा पर्ने गरेको छ।'

उद्योगमा प्लान्ट चलिरहेका बेला विद्युत् कटौती हुँदा उत्पादन गर्न लागिएका मालसामानको गुणस्तरमा नै असर परेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वमिन्त्रप्रसाद कलवारले भने, ‘विद्युत् कटौतीका कारण धेरै कच्चा पदार्थ खेर गइरहेको छ, उत्पादित तयारी सामानको गुणस्तर पनि कमसल छ। पटक पटकको विद्युत् कटौतीले हामीलाई रुवाएको छ।'

एक पटक विद्युत् कटौती हँुदा कम्तीमा १० देखि २० हजार रुपैयाँसम्मको नोक्सानी हुने गरेको संघका उपाध्यक्ष गुप्ताले भने, ‘विद्युत् कटौतीले उद्योगमा जडान गरिएका विद्युतीय उपकरण बिग्रिरहन्छन्, त्यसको त कुनै लेखाजोखा छैन, विद्युत् कटौतीका कारण हामी उद्योगी आजित भइसकेका छौं, यस्तै हो भने यहाँका उद्योग कलकारखाना छिट्टै धराशायी हुन्छन्।'

बारा पर्सा औद्योगिक करिडोरमा रहेका प्राधिकरणका पोलमा झुन्ड्याइएका तारको क्षमताभन्दा बढी मात्रामा विद्युत्् आपूर्ति भइरहेका कारण स्पाइरिङ भएर पटक पटक विद्युत् कटौती भइरहेको उनले बताए।

‘२० वर्ष पहिले जति विद्युत् आवश्यक थियो त्यही क्षमताका विद्युत्का पोल र तारमा अहिले पनि विद्युत् लाइन प्रवाह भइरहेको छ', उनले भने, ‘अहिले विद्युत्को माग अत्यन्तै बढी छ तर पोल र तारको स्तरोन्नति गरिएको छैन, त्यसैले हाई लोड थेग्न नसकेका कारण तारमा स्पाइरिङ भएर पटक पटक विद्युत् कटौती हुन पुगेको हो।'

बारा पर्सा औद्योगिक करिडोरमा एक सय ९० मेगावाट विद्युत् आवश्यक रहेकोमा अहिले एक सय २० मेगावाट मात्र विद्युत्् आपूर्ति भइरहेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ। भारतबाट मुजफरपुर ढल्केवर प्रशारण लाइनबाट आयात गरिएको एक सय २० मेगावाट विद्युत् नै यस औद्योगिक करिडोरमा आपूर्ति भइरहेको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए।

सात महिना पहिलेसम्म स्वदेशमै उत्पादित ५० मेगावाट विद्युत् पनि यस औद्योगिक करिडोरमा आपूर्ति हुँदै आएकोमा सरकारले त्यो ५० मेगावाट विद्युत् यहाँबाट कटौती गरेर काठमाडौं र पोखरामा आपूर्ति गरेको संघका उपाध्यक्ष गुप्ताले बताए।

‘पुस अन्तिम साता वीरगन्ज आएका बेला तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले बारा पर्सा औद्योगिक करिडोरलाई लोडसेडिङमुक्त बनाउने आश्वासन दिनुभएको थियो तर वीरगन्जबाट फर्किएलगत्तै यहाँ आपूर्ति भइरहेको ५० मेगावाट विद्युत् पनि कटौती गरिदिनुभयो, यहाँबाट कटौती गरेर लगिएको विद्युत्ले काठमाडौं र पोखरामा लोडसेडिङ मुक्त भयो', उपाध्यक्ष गुप्ताले भने, ‘वीरगन्जसँग उहाले गद्धारी नै गर्नु भयो।

रक्सौल परवानीपुर प्रशारण लाइनबाट भारतले बारा पर्साका लागि थप ५० मेगावाट विद्युत् दिने सम्झौता गरेको भए पनि अहिलेसम्म उक्त विद्युत् उपलब्ध नभएको गुप्ताले बताए।

‘दुई देश बिचको सम्झौतामा एक सय मेगावाट विद्युत् नेपाललाई दिने उल्लेख छ तर पछिल्लो समय भारतले ५० मेगावाट विद्युत् दिने भनेको थियो', उनले भने, ‘रक्सौल परवानीपुर प्रशारण लाइन तयार भएको ६ महिना बितिसक्यो तर भारतले त्यो ५० मेगावाट विद्युत् पनि दिन आनाकानी गरिरहेको छ, यसबारे नेपाल सरकारले भारतसँग कुरा गर्न सकिरहेको छैन।'

बारा पर्सा औद्योगिक करिडोरमा रहेको विद्युत््को समस्याबारे विद्युत् प्राधिकरणका साथै ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको संघका अध्यक्ष शर्माले गुनासो गरे। ‘हामी धेरै पटक धाइसक्यौं, कुनै सुनुवाइ छैन', उनले भने, ‘राज्य र प्राधिकरणको मनसाय यो औद्योगिक करिडोरलाई ध्वस्त पार्ने जस्तो छ।'

नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले मागभन्दा आपूर्ति कम भएका कारण पर्सा बारा औद्योगिक करिडोरमा केही समययता विद्युत् आपूर्तिमा समस्या देखिएको बताए। मुजफरपुर ढल्केवर प्रशारण लाइनका केही ठाउँमा प्राविधिक समस्या भएको र त्यसको मर्मत भइरहेकाले पनि विद्युत् कटौतीको समस्या भएको उनले बताए।

वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार बारा पर्सा औद्योगिक करिडोरमा साना ठूला गरी करिब नौ सय उद्योग सञ्चालनमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.