साइकलमैत्री छैन सडक

साइकलमैत्री छैन सडक

अफिस समय। गाडी, बस, मोटरसाइकलको घुइँचो। कोटेश्वरदेखि बानेश्वरसम्मको ट्राफिकजाममा स-सानो चेपबाट साइकल कुदाउँदै निस्किन्छन्- एकजना साइकलयात्री। छेउछाउका गाडी, बस, मोटरसाइकलले थोत्रो साइकल र लिखुरे साइकलेलाई आफ्नो नजिकको साँघुरो बाटो छिचोल्दै निस्केको निको मानेको देखिँदैन।

ठिमीबाट बुढो साइकलमा पाइडिल मार्दै हरेक दिन ठमेलसम्म पुग्ने ती लिखुरे साइकल यात्री हुन्- शुभ प्रजापति। दैनिकजसो यसरी नै होचिँदै, खुम्चिँदै र चेप्टिँदै ठमेलको सानो प्रेसमा पुग्छन् उनी। यस्तै दैनिकीमा उनले जीवनको१४औं वसन्त कटाइसकेका छन्। यो डेढ दशकको साइकल यात्राको दौरानमा उनले धुवाँ, धुलो र हर्नको चर्को आवाजभन्दा धेरै वचनको पीडा सहेका छन्। उनी सडकमा हुँदा त्यतिबेला दुखित हुन्छन् जतिबेला बस, कार र माइक्रोका चालकले उनलाई भित्तामा पुग्नेगरी पेल्दै शब्दरूपी बाण प्रहार गर्छन्। त्यो शब्द हो, ‘ओई, साइकल मर्लास्।' त्यसपछि उनी छेउ लागेर ठूला गाडीले छाडेको धुवाँ र धुलोमा पुरिन्छन्।

स्वास्थ्य र पर्यावरणमैत्री साइकललाई नेपालमा कमजोर आर्थिक स्तर भएको मानिसको परिचायकका रूपमा लिइन्छ। तर, सहरलाई सुन्दर बनाउने साइकल आज सडकबाट लखेटिनुपरेको छ। यसको प्रत्यक्ष प्रभावमा परेका छन् उनी।

साइकल यात्राबाट सुरु हुन्छ उनको दैनिकी। त्यही दैनिकीबाट वृद्ध आमाबुवासहित ६ जनाको जीविका चलेको छ उनको। उनको जीवनको साथी हो बुढो हिरो साइकल। उनी घन्टौं जाममा मुन्टो बटारेर उभिनुपर्ने सार्वजनिक यातायातमा यात्रा गर्दैनन्। बरु भाडा तिर्नुपर्ने पैसाले उनी तरकारी किन्छन्।
थोत्रो साइकल बोकेर दशकौं यात्रा गरेका उनले काठमाडौंका अनेक खाल्डाहरू बेहोरेका छन्। कयौंपटक काठमाडौंको खाल्टोमा उनले निधार ठोक्काएका छन्।

त्यतिमात्रै होइन भयानक दुर्घटनाका दृश्यसमेत आँखामा बोकेका छन्। भर्खरका ठिटाटिठीहरू मोटरसाइकल र स्कुटर चढेर ओभरटेक गर्दा ठाउँको ठाउँ ठहरै भएको दर्दनाक दृश्य बेलाबेलामा सम्झिएर झस्किन्छन् उनी। लगत्तै भोलिपल्ट त्यसैगरी उनी साइकल लिएर निस्कन्छन् जीवनको यात्रामा।

सहर चरित्रको तराजुमा बोझिलो बन्दै गएको छ। मानवीयतालाई तौलिरहेको छैन सहरले। मोटरसाइकलबाट प्राइभेट कारमा उक्लिँदो छ सहर। यत्रतत्र मोटरसाइकल छ। ऋण लिएरै सहर कार किन्छ। आयस्रोतभन्दा भद्दा सोखिनले थिचेको छ सहरलाई। कारवाला महाशय किस्ताबन्दीमा कमाइको आधा पैसा दिएर आउँछ र साइकलप्रेमीलाई अभद्र गाली गर्छ।

२०४६ साल अघिसम्म राजधानीमा साइकलप्रेमी थिए। फुटपाथमा पैदलयात्रीहरू मनमौजी हिँड्न पाउँथे। मधेसमा अहिले पनि जीवनको अभिन्न साथी बनेको छ साइकल। मधेसमा साइकल नभएको घर हुँदैन। साइकल नचलाउने पुरुष त के महिलासमेत कोही भेटिँदैनन् उता। साइकल संस्कृतिको यो सुन्दर दृश्य हेर्न नेदरल्यान्ड, डेनमार्क जानुपर्दैन, ‘हमरा देहात' काफी छ। धनी र गरिबको स्तरीकरण साइकलले राख्दैन मधेसमा। तर, राजधानीमा साइकल चलाउनेलाई सबैभन्दा तल्लो दर्जामा राखिन्छ।

२०५५÷०५६ पछि मोटरसाइकलको बाढी राजधानीका सडकमा ह्वात्तै बढ्यो। मोटरसाइकलको बाढी देखेपछि साइकल बिचरा पाखा लाग्दै गयो। त्यही बाढी मधेसका नगर र बस्तीमा छिरिसकेको छ। साइकल केवल अब गरिब र कमजोर वर्गको साथी बन्न पुगेको अवस्था गाउँमा पनि हुँदैछ।

११ लाखभन्दा बढी सवारीसाधनले काठमाडौं उपत्यकालाई नराम्रोसँग खुम्च्याइसकेको छ, अत्याइसकेको छ। हाल हरेक महिनामा लगभग १० हजारको हाराहारीमा मोटरसाइकल र गाडीहरूले काठमाडौंलाई घेर्छ। हरेक घरपरिवारको कामकाजी व्यक्तिले मात्र प्रयोग गर्ने नभएर अब त भर्खरै कलेज जान थालेका हरेक केटाकेटीहरूले पनि मोटरसाइकल र स्कुटर नभई कलेज नटेक्ने बानी भइसक्यो। सवारीसाधनमा भएको यो बेलगाम मनोमानी गरिब मुलुकले धान्ने कहिलेसम्म ? यो प्रश्नको उत्तर पाउन नेपालीले के मोदीको अर्को नाकाबन्दी कुर्र्नैपर्ने हो ?

स्वास्थ्य र पर्यावरणमैत्री साइकललाई नेपालमा कमजोर आर्थिक स्तर भएको मानिसको परिचायकका रूपमा लिइन्छ। तर, सहरलाई सुन्दर बनाउने साइकल आज सडकबाट लखेटिनुपरेको छ।

देशको अर्थतन्त्रको एक तिहाइ रेमिट्यान्सले ओगटेको छ। नुनदेखि सुनसम्म, दालचामलदेखि तरकारी फलफूलसम्म, सुईदेखि सियोसम्म, साइकल, मोटरसाइकलदेखि गाडी, बस, कारसम्म सबै विदेशबाट मगाएर प्रयोग हुन्छ। हरेक वर्ष सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम तेल, दोस्रोमा
गाडी, बस, कार, मोटरसाइकललगायतका सवारीसाधन र चौथोमा त्यही सवारीसाधनका पार्टपुर्जा पर्छन्। वर्षभरि खाडी र अन्य देशमा ४५ डिग्रीको गर्मीमा ज्यान हत्केलामा राखेर मेहनेत गर्ने कमजोर आर्थिक अवस्था भएका वर्गका युवाले कमाएर पठाएको डलर सबैजसो तिनै वस्तुमा खर्च हुन्छन्।

यसरी गरिबको कमाइ देशका धनीहरूले चलाउने कार, बस, मोटरसाइकलमा खर्च भएको छ, जुन निकै अनुत्पादक र खर्चिलो हो। सर्वसाधारण जनताको हितको नीति लिन ठूलै प्रसववेदना नै खप्नुपर्ने तर ठूलाठालु आयातकर्ता व्यापारीहरूका हितमा भने रातारात काम हुने गरेको छ।

काठमाडौं उपत्यकालगायत प्रमुख सहरमा घर र सिमेन्टीका जंगल जति बने यस्तै स्वार्थगत नीति नै यसका प्रमुख कारक हुन्। त्यस्तै बस, कार, मोटरसाइकलको भीडले काठमाडौं उपत्यकाका सडक कसरी आतंकित रूपले खुम्चिएको छ भन्ने यस्तै नीति नै प्रमुख जिम्मेवार छन्। राष्ट्र बैंकको आयातमैत्री मौद्रिक नीतिले महिनाको १० हजारभन्दा बढी बस, कार र मोटरसाइकललगायत सवारीसाधन भित्रिएपछि सहरका सडकमा कति विकराल ट्राफिक आतंक छाउनेछ ? हामीले भोग्दै जानेछौं।

काठमाडौंको कमजोर सडक पूर्वाधार र खाल्डाखुल्डी, मिचिएका फुटपाथ, अव्यवस्थित ट्राफिक संरचना, सीमित ट्राफिक मानवस्रोत र संशाधन, ट्राफिक नियम पालना नगर्ने हामी जनताहरू। यी सबै समस्याबीच पनि सवारीसाधन उपत्यकाको यो खाल्डोमा ओइरिरहेका छन्।

लाखांै सवारीसाधनले लिने सडकको भोलुम, पार्किङ, यिनले खर्चिने इन्धन, त्यसबाट निस्कने धुलो, धुवाँले गर्ने वायु प्रदूषण, आवाजको प्रदूषण, सडक दुर्घटनाजस्ता। र, यी समस्याले पैदा गर्ने कोलाहल, तनाव र मनोरोग। यी सबै समस्याको समष्टिगत रूप भनेको देश, सहर र समाजको गिर्दो आर्थिक, पर्यावरणीय, मानसिक, स्वास्थ्यका चरम क्षय हो। यो सहरको विघटन पनि हो।

उपत्यकामा हरेक दिन जसो १५ दुर्घटना हुन्छ। गएको फागुन महिनाको २० दिनभित्रमा नै १७ जनाको मृत्यु भएको थियो जुन अघिल्लो माघ महिनाको भन्दा दुई गुणा थियो। पोहरको यही समय साउनमा चार सय ९५ दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो। गत फागुनसम्ममा त्यस वर्षमा ६ साइकल यात्री, ३४ पैदलयात्री सडकमा मारिएका थिए भने ३५ जना मोटरसाइकल र स्कुटर चलाउनेले पनि दुर्घटनामा ज्यान गुमाए थिए। मृत्यु हुनेहरूमा प्रायः १७ देखि ३५ वर्षसम्मका युवा थिए। वार्षिक हजारौंले नेपाली सडक दुर्घटनाहरूमा ज्यान गुमाउने गरेका छन्।

वातावरणीय संस्था आईएएफको अध्ययनअनुसार, वायु प्रदूषणले बर्सेनि ३२ हजार नेपालीको ज्यान लिन्छ भने विश्वभरमा भने ७२ लाख मानिसको ज्यान लिन्छ। हाम्रोजस्ता मुलुकमा यस वायु प्रदूषणका प्रमुख स्रोत सवारीसाधनहरूबाट निस्कने धुवाँ र धुलो नै हो।

यी सबै समस्याको प्रमुख विकल्प र समाधानको सिंगो सम्बोधन साइकल या साइकल संस्कृतिले दिन सक्छ। यसका लागि देशका प्रमुख सहरमा साइकललाई पहिचान गरेर स्थापित गर्न सक्नुपर्छ। धनीदेखि उच्च वर्ग र मध्यमवर्गले चलाउने कार, मोटरसाइकललाई प्राथमिकतामा राखेर होइन गरिबदेखि धनी सबैले समान रूपमा चलाउन सक्ने साइकल र मास ट्रान्सपोर्टलाई प्राथमिकता राखेर यातायातका नीति बनाउनुपर्छ।

सहर र नगरभित्र सवारीसाधन केन्द्रित यातायात नीति निर्माण होइन मानवकेन्द्रित यातायात ल्याउनुपर्छ। त्यही नीतिअनुसार, भौतिक निर्माण गर्नु पर्छ। यस्तै खराब अस्तव्यवस्थाबाट सहरलाई जोगाउन साइकल संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ। (लेखक ‘साइकल अभियान' का अभियन्ता हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.