‘डोपिङ नरोकिए एथलेटिक्स समाप्त'
लन्डन : विश्वका दिग्गज धावक उसेन बोल्टले प्रतिबन्धित शक्तिवर्द्धक औषधिको प्रयोग (डोपिङ) बन्द नभए एथलेटिक्स खेल नै समाप्त हुने चेतावनी दिएका छन्।
लन्डनमा शुक्रबारदेखि सुरु भएको वल्र्ड एथलेटिक्स च्याम्पियनसिपमा आफ्नो जीवनको अन्तिम दौड दौड्न लागेका बोल्टले प्रतिबन्धित शक्तिवर्द्धक औषधिको प्रयोगमा संलग्न खेलाडीलाई कडाभन्दा कडा सजाय गर्नुका साथै डोपिङ रोक्ने उपाय नखोजिए एथलेटिक्स खेल नै समाप्त हुने चिन्ता व्यक्त गरेका हुन्।
म्याकलरेनको रिपोर्टअनुसार रुसमा डोपिङ कार्यक्रम सञ्चालन गरिएको प्रति प्रतिक्रिया दिँदै ३० वर्षीय जमैकन धावक बोल्टले खेलकुदमा लागूऔषधको प्रयोगलाई रोक्ने उपाय नखोजिए समग्र विश्व खेलकुद नै खतरामा पर्ने बताए।
‘रुसमा भएको यस किसिमको घटना खेलकुदका लागि दुःखद् छ। लागूऔषधको प्रयोग सधैं खराब चिज हो, यसले कहिले पनि सुखद नतिजा दिएको छैन। विश्व खेल जगत्मा उत्कृष्ट नतिजा ल्याउन कडा मेहनत गर्नु आवश्यक छ, शक्तिवद्र्धक औषधिको प्रयोग ठगी हो', अन्तिमपटक ट्र्याकमा दौड्न लागेका बोल्टले भन्छन्, ‘अहिले विश्वभरका खेलाडी हेरिरहेका छन् कि खेलकुदमा चाँडै नै सुधार आउनेछ । नत्र डोपिङकै कारण खेलकुद समाप्त हुनेछ ।'
छोटो दूरीको दौडमा एकछत्र राज गर्दै आएका बोल्ट लन्डनमा एक सय मिटर र चार गुणा एक सय मिटर दौडमा दौड्ने तयारीमा छन्। विश्व खेलकुदको कुम्भमेला ओलम्पिकबाट यसअघि नै सन्न्यास लिइसकेका बोल्टले पहिलोपटक सन् २०१२ मा आफूले जितेको एक सय मिटर दौडको ओलम्पिक पदक जोगाएका थिए। त्यही कारण यस च्याम्पियनसिपमा उनले त्यो विरासत थाम्न सक्छन् कि सक्तैनन् भनेर सारा विश्वले हेरिरहेको छ।
आठ पटकको ओलम्पिक च्याम्पियन बोल्टले आफू अहिले पनि विश्वको तेज धावक रहेको बताएका छन्। उनले शनिबार पुरुषको एक सय मिटर र चार गुणा चार सय मिटर रिले दौडमा भाग लिनेछन्, जुन उनको करियरको अन्तिम दौड हुनेछ। उनले ओलम्पिक खेलकुदमा एक सय मिटर, दुई सय मिटर र चार गुणा एक सय मिटर रिले दौडमा लगातार तीन पटक उपाधि जितेका थिए। एक सय र दुई सय मिटर दौडमा उनले विश्व कीर्तिमान पनि बनाएका छन्।
वल्र्ड च्याम्पियनसिप शुक्रबारदेखि सुरु भएको छ। लामो विवादका बीच उक्त प्रतियोगितामा रुसी खेलाडीलाई सहभागी हुन दिइएको छ तर, यसका लागि एउटा सर्त राखिएको छ। रुसी खेलाडीले न रुसको राष्ट्रिय जर्सी लगाएर खेल्न पाउनेछन् न त राष्ट्रिय झन्डा नै बोक्न पाउनेछन्। यसैगरी उपाधि जितेपछि पनि रुसी खेलाडीको सम्मानमा रुसको राष्ट्रिय धुन पनि बजाइने छैन।
पछिल्लो समय प्रतिबन्धित शक्तिवद्र्धक औषधि प्रयोगमा रुसका खेलाडीको संलग्नतालाई लिएर विश्वभर आवाज उठ्न थालेपछि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) ले यस्तो निर्णय गरेको हो।