अन्तरविद्यालय फुटसलमा १६ विद्यालय
काठमाडौं : शैक्षिक परामर्शदाता संस्था ग्लोवल रिच नेपालको आयोजनामा साउन २८ गते एकदिने अन्तरविद्यालय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। सामाखुसीस्थित सामाखुसी फुटसलमा हुने उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ विद्यालयको सहभागिता रहनेछ। प्रतियोगिताको खेलतालिका पनि शुक्रबार सार्वजनिक गरिएको छ।
प्रतियोगितामा सहभागी १६ वटै विद्यालयका प्रतिनिधिको रोहबरमा खेलतालिका सार्वजनिक गरिएको हो। प्रतियोगिताको समूह ‘ए' मा मल्पी इन्स्टिच्युट, एस ए लेभल एकेडेमी, साइपाल एकेडेमी र रातो बंगला स्कुल रहेका छन्। समूह ‘बी' मा ओरियन्ट कलेज, चेल्सी इन्टरनेसनल एकेडेमी, क्याम्पियन एकेडेमी र काष्ठमण्डप ए लेभल एकेडेमी रहेका छन्।
यसैगरी समूह ‘सी' मा लिटल एन्जल्स स्कुल, रुपिज इन्टरनेसनल स्कुल, नामी कलेज कलेज र ग्लोवल कलेज रहेका छन् । समूह ‘डी' मा भने एन्ड्यु जे वाइल्ड इन्स्टिच्युट, जेम्स स्कुल अफ हायर एजुकेसन, ब्रिजवाटर इन्टरनेसनल एकेडेमी र बूढानीलकण्ठ एकेडेमी परेका छन्। प्रतियोगिताका खेलहरू लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछन्। प्रतियोगिताको अघिल्लो संस्करण बूढानीलकण्ठ स्कुलले जितेको थियो।
प्रतियोगिताको विजेताले आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई पनि ट्रफी र प्रमाणपत्र दिइने ग्लोवल रिचका नेपाल प्रमुख नारायण बजाजले जानकारी दिए। यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी र अन्य विधागत उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितालाई अस्ट्रेलियाका सात कलेजले पनि सहयोग गर्ने जानकारी पनि बजाजले दिए। उनले प्रतियोगिताको विजेता र आयोजक टोलीबीच सोही दिन मैत्रीपूर्ण खेल खेलिने बताए।
उनले अर्को वर्षदेखि प्रतियोगितालाई रनिङ सिल्डका रूपमा सुरु गर्ने र उपत्यका बाहिरका विद्यालयलाई पनि सहभागी गराउने प्रतिबद्धता जनाए। ग्लोवल रिच नेपालले विगत २६ वर्षदेखि अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, बेलायत, फ्रान्सलगायतका मुलुकमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो कौशल देखाउन र उनीहरूलाई स्वस्थ्य राख्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।