कञ्चनजंघा, जहाँ किरातीसँग हारे अर्जुन
डोक्लाम विवाद चर्किंदै गएर चीन र भारतबीच युद्ध भए नेपाल तटस्थ बस्नुपर्छ अथवा भारतको पक्षमा उभिनुपर्छ भन्नेबारे बहस हुँदैछ। धेरैलाई थाहा नहुन सक्छ- चीन र भारतबीचका सबै द्वन्द्वमा तटस्त प्रायः रहेको नेपालले एउटामा चाहिँ चीनका तर्फबाट भारतलाई घुँडा टेकाएको थियो। सन् ६४३-४४ तिर चीनका ताङ सम्राट्ले पठाएका चिनियाँ कूटनीतिज्ञ वांग सुवेन्सलाई कन्नौज (अहिलेको उत्तर प्रदेश-विहार)का राजा अरुणसवाले बन्दी बनाएपछि नेपालका लिच्छवि राजा नरेन्द्रदेवले १२ हजार नेपाली फौज पठाएर चिनियाँ कूटनीतिज्ञलाई मुक्त गराएका थिए (मीनबहादुर शाक्य, द लाइफ अफ नेपलिज बुद्धिस्ट मास्टर बुद्धभद्र, पृ. २)।
त्यसभन्दा धेरैअघि नेपालले भारतको सैन्य क्षमतामा अकल्पनीय अभिवृद्धि गराइदिएर उत्तर र दक्षिणबीच काखापाखा नगर्ने चरित्र देखाइसकेको थियो। पौराणिक कथाले भन्छ- कन्नौजलाई तह लगाएको केही हजार वर्षअघि (? ) नेपालले त्यतिबेलाको सर्वाधिक शक्तिशाली अस्त्रद्वारा भारतको शास्त्रगारलाई भव्य तुल्याइदिएको थियो।
...
महाभारत ‘वनपर्व'को अध्याय ३७ देखि ४१ सम्म अर्जुनले महादेवको किरात अवतारबाट सर्वाधिक शक्तिशाली पाशुपतास्त्र हासिल गरेको वृत्तान्त छ। वनवासमा रहेका पाण्डवले कौरव पक्षको बढ्दो सामर्थ्यबारे सुन्छन्। महादेवबाट पाशुपतास्त्र हासिल गर्न सके सैन्य हिसाबले आफूहरू कौरवभन्दा माथि पर्ने देखेपछि पाण्डुपुत्र अर्जुन आफ्ना चार दाजुभाई, द्रौपदी र धौम्य मुनीसँग बिदा लिएर काम्यक वनबाट महादेवको घर हिमालयतिर लाग्छन्।
योगाभ्यासमा पारंगत अर्जुनले तीव्रगतिमा यात्रा गर्न सक्ने क्षमता हासिल गरिसकेका हुन्छन्। सायद उनी हठयोगअन्तर्गतको खेचरीमुद्रामा सिद्ध हुन्छन्। बाटोमा पर्ने गन्धमादन पर्वत (सम्भवतः उडिसाको गन्धमर्दन पर्वत) नाघेर अनेक दुर्गम क्षेत्र छिचोल्दै उनी विशाल हिमशृंखलाअन्तर्गतको इन्द्रकिल पर्वत पुग्छन्।
त्यहाँ पुगेपछि ठूलो स्वरमा कसैले ‘यहीँ रोकिऊ' भनेको सुन्छन्। चारैतिर हेर्दा एउटा वृक्षको फेदमा एक तपस्वी देख्छन्। खिरिलो ज्यानका तपस्वी ब्रह्मतेजले उद्भासित देखिन्छन्। शिरमा जटा हुन्छ।
‘तिमी को हौ ? धनुष, बाण, कवच, तरबार आदि बोकेर यहाँ किन आएका ? क्रोध र हर्ष जितेर तपस्या निम्ति तत्पर हुने शान्त ब्राह्मणको स्थान हो यो, यहाँ अस्त्रशस्त्रको कुनै काम छैन,' तपस्वी भन्छन्। हतियार फाल्न अर्जुनलाई उक्साइरहन्छन्। तर, क्षत्रीय कुलका अर्जुन हतियार फाल्न मान्दैनन्। अर्जुन नडगमगाएको देखेपछि तिनै तपस्वी एकाएक प्रसन्न हुन्छन्। अनि भन्छन्, ‘हे शत्रुनाशक, तिम्रो कल्याण होस्। म साक्षात इन्द्र हुँ। के वरदान माग्छौ, माग।' इन्द्रको कुरा सुनेपछि दुवै हात जोडेर अर्जुन भन्छन्, ‘कृपा गरेर मलाई सबै अस्त्रबारे ज्ञान दिनुहोस्।'
‘जब तिमी यहाँसम्म आइपुगिसकेका छौ भने अब तिमीलाई अस्त्रको के काम ? आफ्नो लागि उत्तम लोक, उत्तम जीवन माग न, अस्त्र किन माग्छौं ? '
‘म आफ्ना दाजुभाइलाई वनमा छोडेर आएको छु। शत्रुमाथि बदला नलिइकन मलाई देवत्व अथवा देवैश्वर्यको रत्तिभर चाह छैन।'
अर्जुनको अडान सुनेपछि इन्द्र भन्छन्, ‘त्यसो भए पहिले त्रिनेत्रधारी त्रिशूलधारी भूतनाथ भगवान शिवको दर्शन गर, त्यसपछि तिमीलाई सबै दिव्यास्त्र दिनेछु।' शिवले योग्य ठहर्याएको पात्र मात्रै दिव्यास्त्र हासिल गर्न सक्षम हुने सन्देश दिएर इन्द्र बिदा हुन्छन्। अर्जुन इन्द्रकिल पर्वतमै तपस्या गर्न बस्छन्।
...
अर्जुन तपस्यारत इन्द्रकिलको पृष्ठभाग हिमालय हुन्छ। त्यहाँ फूलले सिँगारिएका वृक्ष हुन्छन्। चारैतिर पक्षीको मधुर स्वर गुञ्जायमान हुन्छ। कञ्चन पानीयुक्त नदीहरू, जसका ठाउँठाउँमा भुमरी उठेका हुन्छन्।
दिल्लीको दक्षिण-पश्चिममा रहेको काम्यक वनबाट अर्जुनलाई शिवको घर भनिएको कैलाश पर्वतमुन्तिर दार्चुलामा गएर तपस्या गर्न बढी सहज हुँदाहुँदै उनी कञ्चनजंघातिर किन गए ? जबकि कैलाशबाट लिपुलेक नाका हुँदै आएर दार्चुलामा तपस्यारत अर्जुनलाई दर्शन दिन महादेवलाई बढी सहज थियो।
तपस्यारत अर्जुनको आङमा कुशको लुगा हुन्छ। कम्मरमा चाहिँ मृगचर्म बेरिएको हुन्छ। त्यही अवस्थामा उनी शिवको कठोर साधना सुरु गर्छन्। सुरुको महिना हरेक तीन रातमा एक पटक फलाहार गर्छन्। दोस्रो महिना ६ रातमा एक पटक र तेस्रो महिना १५ रातमा एक पटक गर्छन्। चौथो महिनापछि सिर्फ वायु सेवन गरेर तपस्यामा लिन हुन थाल्छन्। दुवै हात माथि उठाई खुट्टाका औंलाको अग्रभाग टेकेर उभिई कठोर तपस्यामा डुब्छन्।
अर्जुनलाई अविचलित रूपमा तपस्यारत देखेपछि त्यसक्षेत्रका महर्षि भयग्रस्त हुँदै महादेवकोमा पुगेर भन्छन्, ‘अर्जुनको यस्तो उग्रतपस्याको तात्पर्य हामीले बुझ्न सकेनौं। हामीलाई जलन भइरहेको छ। कृपया उनलाई तपस्याबाट निवृत्त गरिदिनुस्।'
जवाफमा महादेव भन्छन्, ‘तपाईंहरूले अर्जुनको विषयमा चिन्तै लिनु पर्दैन। अर्जुनले के संकल्प गरेको छ भन्ने मलाई राम्रोसँग थाहा छ। उसलाई स्वर्गलोक, ऐश्वर्य, चिरायु केही चाहिएको छैन्। उनले चाहेको कुरा आज म उसलाई दिन्छु।'
...
महर्षिहरू फर्किएपछि महादेव किरात-भेष धारण गर्छन्। हिन्दुहरू यसैलाई महादेवको किरात अवतार भन्छन् र किरातेश्वरको उपासना गर्छन्। धनुबाण धारण गरेर पत्नी उमालाई साथ लिई महादेव अर्जुन तपस्यारत ठाउँतिर जान्छन्। भूतगण पनि अनेक वस्त्र पहिरी उनैका पछि लाग्छन्।
महादेव जसै अर्जुन भएको ठाउँ पुग्छन्, मूकनामक राक्षस भीमकाय बँदेलको रूप धारण गरी अर्जुनमाथि जाइलाग्नै आँटेको देख्छन्। त्यति नै बेला अर्जुनले हातमा धनु लिन्छन् र त्यसमा प्रत्यञ्चा चढाएर टंकार निकाल्दै बँदेललाई भन्छन्, ‘मजस्तो निरपराधीलाई मार्ने उद्योगमा लागिस्, तलाईं म आजै यमलोक पुर्याइदिन्छु।'
बाण चलाउन लागेका अर्जुनलाई अलिक पर रहेका किरात भेषधारी महादेवले रोक्छन्, ‘यो बँदेललाई पहिले मैले तारो बनाएको हुँ, यसलाई तिमी मार्न पाउँदैनौ।' किरातीको कुरा वास्तै नगरी अर्जुन बाण छोड्छन्। लगत्तै किरातीले पनि बँदेलतिर बाण छोड्छन्। दुवैले छोडेको बाणले एकसाथ लक्षभेद गर्छ। बाण लागेर घाइते बँदेलले स्वाभाविक दानव रूपमा फर्किएर देह त्याग्छ।
स्त्रीसँग उभिएका तेजस्वी किराती पुरुषतर्फ हेर्दै अर्जुन भन्छन्, ‘स्त्रीहरूबाट घेरिएर यो सुनसान जंगलमा घुम्ने तिमी को हौ ? यस्तो भयानक जंगलमा तिमीलाई डर लाग्दैन ? यो बँदेल मेरो लक्ष्य थियो, यसलाई तिमीले जान्ने भएर बाण किन हान्यौ ? यो पहिले म भएको ठाउँमा आएको थियो र यसलाई मैले काबुमा लिएको थिएँ। तिमीले अरू नै कारणले यसलाई मारेका हौं अथवा मेरो तिरस्कार गर्न यसो गरेका हौ, मलाई थाहा छैन। कारण जेसुकै भए पनि म तिमीलाई जिउँदै छोड्दिनँ। तिमी हिमाली भेगका निवासी रहेछौ तर पनि यो अपराध गरेबापत म तिमीलाई जिउँदै छोड्न कसैगरी सक्दिनँ।'
अर्जुनको धम्कीलाई हाँसोमा उडाउँदै किराती भन्छन्, ‘हे वीर, हामी वनवासी हौं। हामीलाई वनमा डर लाग्ला कि भनेर तिमी चिन्तै नगर। जंगलमा यसरी नै डुलिहिँड्छौं। बरु तिमीचाहिँ यसो हेर्दा सुख भोग्नयोग्य सुकुमारजस्ता देखिन्छौ, यो निर्जन वनमा एक्लै के खान घुमिरहेका छौ ? ' ‘म गाण्डिव धनु र अग्निजस्ता तेज बाण लिएर यो वनमा निर्भयपूर्वक रहँदै आएको छु। यो राक्षस हिंस्रक पशुको रूप धारण गरेर मलाई मार्न आएको थियो। त्यसैले यसलाई मारेँ।'
किराती भन्छन्, ‘मैले धनुषबाट छोडेको बाणको चोट खाएर यो मरेको हो। सुरुमै मैले निसाना साँधेकोले यसमाथि मेरो अधिकार स्थापित भइसकेको थियो। हे मन्दबुद्धि, तिमीले आफ्नो बलको घमण्डका कारण ममाथि दोष थोपर्यौ। तिमीलाई आफ्नो शक्तिप्रति अतिशय घमण्ड रहेछ। आज तिमी मेरो हातबाट बच्दैनौ। धैर्य गरेर एकछिन मेरो अघि उभिऊ। म तिमीमाथि आफ्ना वज्रसमान बाण प्रहार गर्छु।'
किरातीको ललकार सुनेर क्रुद्ध अर्जुन तत्कालै बाण प्रहार गर्न थाल्छन्। अर्जुनले प्रहार गरेका सबै बाण हातले समाएर शान्त मुद्रामा किराती भन्छन्, ‘यतिमात्रै ? अझै हान।' अर्जुन बाणको वर्षा गराउन थाल्छन्। दुवैजनाले रिसाउँदै एकअर्कालाई बाण हानेर चोट लगाउँछन्। त्यसपछि अर्जुन पुनः किराँतीमाथि बाणको वर्षा गराउन थाल्छन्। अर्जुनले हानेका सबै बाणलाई किरातीले निष्क्रिय पारिदिन्छन्। आफ्ना सबै बाण व्यर्थ गएको देखेपछि चकित परेका अर्जुन किरातीको मनमनै तारिफ गर्छन्, ‘गाण्डिवबाट छुटेका बाणलाई निष्क्रिय गरिरहँदा यो किराती थोरै पनि व्याकुल हुँदैन। को हुन सक्छ यो ? जोसुकै होस्, यसलाई तिखो बाणले हानेर म अहिल्यै यमलोक पुर्याइदिन्छु।'
यति सोचेर अर्जुन फलामका सैकडौं बाण प्रहार गर्छन्। सबै बाण फेरि पनि किरातीले निष्क्रिय पारिदिन्छन्। एकैछिनमा अर्जुनका सबै बाण सिध्दिन्छन्। किञ्चित डराउँदै उनी धनुको कुनाले प्रहार गरेर प्रत्यञ्चामा किरातीलाई बेरी आफूतिर तान्छन् र जोरले मुड्की बजार्न थाल्छन्। किरातीले उल्टो उनको धनुलाई पनि काम नलाग्ने बनाइदिन्छन्।
त्यसपछि हातमा तरबार लिएर अर्जुन करातीमाथि आक्रमण गर्छन्। पूरा बल लगाएर टाउकोमा तरबार बजार्न खोज्दा किरातीले उल्टै तरवार भाँचिदिन्छन्। सबै अस्त्र सिद्धिएपछि अर्जुन छेउछाउका रुख र ढुंगा उखेल्दै आक्रमण गर्न थाल्छन्। यसले पनि किरातीलाई आहत पार्न नसकेपछि रिसले चुर हुँदै उनी किरातीमाथि मुड्की बजार्न जाइलाग्छन्। जवाफमा किरातीले पनि बज्रसमान मुड्की अर्जुनको शरीरमाथि बजार्छन्। दुईबीच घमासान बाहुयुद्ध हुन्छ। अर्जुन आफ्नो छातीले किरातीलाई जोडसँग प्रहार गर्न थाल्छन्। दुवैका हात र छाती एकअर्कासँग जुध्न थाल्छन्। त्यत्तिकैमा किरातीले अर्जुनलाई पाखुरामा चेपेर जोडसँग दबाउँछन् र मूच्र्छित तुल्याउँछन्। अर्जुनको श्वासप्रश्वास बन्द हुन्छ। उनी भुइँमा ढल्छन्।
केही बेरमा अर्जुनको होस फर्किन्छ। उठेर हेर्दा पूरै शरीर रगतले लतपतिएको हुन्छ। जताततै दुखिरहेको हुन्छ। संकटबाट मुक्ति पाउन उनी माटोको बेदी बनाएर यसमा पार्थिव शिव स्थापना गरी पुष्पमाला चढाउँछन्। पार्थिव शिवलाई चढाएको माला किरातीको गलामा देखिन्छ। त्यो देखेर अर्जुन हर्षविभोर भई किरात रूपधारी शिवको चरणमा ढल्छन्।
लामो तपस्याका कारण क्षीण भएको अर्जुनको शरीर हेर्दै किराती भन्छन्, ‘म तिम्रो अनुपम पराक्रम, सौर्य र धैर्यबाट सन्तुष्ट भएँ। आज तिम्रो तेज र पराक्रम मेरो समान छ भन्ने सिद्ध भयो। तिमीलाई म आफ्नो पाशुपत अस्त्र दिन्छु। यो यस्तो अस्त्र हो, जसको गतिलाई कसैले रोक्न सक्दैन।'
घुँडा टेकेर महादेवलाई ढोग्दै अर्जुन भन्छन्, ‘हे प्रभो, म अवश्य पनि त्यो भयंकर दिव्यास्त्र पाशुपत प्राप्त गर्न चाहन्छु। यसको सहयोगले भीष्म, द्रोण, कृपाचार्य र सधैं कटु वचन बोल्ने सूतपुत्र कर्णसँग पनि युद्ध गर्न सक्छु।'
जवाफमा महादेव भन्छन्, ‘पाशुपतास्त्रको धारण, प्रयोग र उपसंहार गर्न तिमी योग्य छौ भन्ने मैले ठम्याइसकेँ। यो अस्त्रबारे इन्द्र, यम, यक्षराज कुवेर, वरुण र वायुदेवता पनि अनभिज्ञ छन् भने साधारण मानिसले त झन् के जान्लान् र ? तर, तिमी यो अस्त्र जो कोहीमाथि प्रहार नगर्नु। कुनै अल्पशक्ति योद्धामाथि चलायौ भने यसले समस्त जगतको नास गर्छ। चराचर प्राणीसहित समस्त त्रिलोकमा यस्तो कुनै मानिस छैन, जो यो अस्त्रद्वारा नमारियोस्। यो अस्त्र प्रयोग गर्ने मानिसले संकल्प, दृष्टि, वाणी अथवा धनुद्वारा शत्रुलाई मार्न सक्छ।'
किरातीको यस्तो कुराले पाशुपतास्त्र कुनै भौतिक अस्त्रभन्दा पनि तन्त्रविद्यामा सिद्धिजस्तो देखिन्छ, जसअन्तर्गत सम्मोहनलगायत कलामा महारथ हासिल हुन्छ। अर्जुनलाई पाशुपतास्त्रसम्बन्धी सबै ज्ञान दिएर किरातेश्वर देवी उमासहित इन्द्रकिलबाट हिँड्छन्।
...
काम्यक वनबाट हिँडेका अर्जुनले पाशुपतास्त्र हासिल गरेको क्षणसम्मको ‘महाभारत'को कथालाई आधार बनाएर संस्कृत भाषाका महाकवि भारविले छैटौं शताब्दीतिर ‘किरातार्जुनियम्' महाकाव्य लेखेका छन्। कथावस्तु महाभारतमा वर्णित किराती सरदार र अर्जुनबीचको लडाइसँग समान भए पनि यसमा केही कुरा बढाइचढाइँ गरिएको छ। उदाहणका लागि अर्जुनलाई इन्द्रकिल पर्वतसम्म यक्षले पुर्याएको, अर्जुनको तपस्या भंग गर्न इन्द्रले अप्सरा पठाएको, किरात भेषधारी महादेव सेनासहित अर्जुनसँग लडाइँ गर्न आएको र अर्जुनले शत्रुसेनालाई तितरबितर पारेको ‘किरातार्जुनियम्'मा उल्लेख छ। यसमा भारविले अर्जुनको नायकत्व स्थापित गर्न खोजेका छन् भने महादेवको किरात रूपलाई मूल नायकभन्दा माथिको दर्जा दिलाएका छन्।
...
‘महाभारत' र ‘किरातार्जुनियम्'मा वर्णित किरातेश्वरको प्रसंग पढिसकेपछि स्वभाविक रूपमा मनमा प्रश्न उब्जिन्छ- किरातेश्वर र अर्जुनबीच लडाइँ भएको हिमाली क्षेत्र कुन् होला ? त्यो ठाउँ अहिले कहाँ पर्ला ?
यसबारे दुवै ग्रन्थमा किटान नगरिए पनि पर्याप्त संकेतचाहिँ गरिएको छ। दक्षिण एसियाको उत्तरी भेगमा रहेको हिमशृंखलाको मुख्य तथा अग्लो भाग नेपालमा छ र नेपालकै काठमाडौंमा छ, किरातेश्वर महादेव पुजिने डाँडो। पाशुपतास्त्रका अधिपति पशुपति पनि नेपालमै छन्। याक्थुम किरातीहरूले सृष्टि आरम्भ भएको ठाउँ मान्ने फक्ताङ्लुङ पर्वतमुन्तिरको भाग पनि नेपाल (ताप्लेजुङ)मै छ। किरातेश्वर महादेव र किराती दुवै नेपालमै भएकोले र त्यतिबेला नेपालको राजधानी हिमालयतिर रहेकाले नेपालकै हिमाली भेग अथवा आसपास कतै युद्ध भएको अनुमान गर्न सकिने आधार प्रशस्तै छन्।
‘महाभारत' र ‘किरातार्जुनियम्' दुबैले युद्ध भएको ठाउँ पूर्वोत्तर नेपालतर्फ रहेको संकेत गरेका छन्। दुवै ग्रन्थले हिउँले ढाकिएको पर्वत र त्यसको दक्षिणपट्टि काखमा रहेको पहाडी भूखण्डलाई समग्रमा इन्द्रकिल भनेर बुझाएका छन्। ‘महाभारत'मा इन्द्रकिल पर्वतमा फूलले सिँगारिएका वृक्ष थिए भनिएको छ।
दृश्यवर्णनमा ‘किरातार्जुनियम्' अझ लालित्यपूर्ण छ। इन्द्रकिल पर्वतक्षेत्रको सुन्दरताबारे यसमा भनिएको छ, ‘कदमको बोटमा लटरम्मै फल थिए, लहरै तामलका बोट उभिएका थिए, ससाना हिमकणको वर्षा भइरहेको थियो। फूलको भारले वृक्षका हाँगा लत्रिएका थिए। यही पर्वतमा शिवले पार्वतीको पाणिग्रहण गरेका थिए।'
‘महाभारत' र ‘किरातार्जुनियम्' दुबैमा इन्द्रकिल पर्वत परिसरमा पाइने रुखमा फुल्ने फूल भनेको लालीगुराँस र चाँप हुन्, जुन पूर्वोत्तर नेपाल र त्योसँग जोडिएको पारिपट्टिको भू-भागमा मनग्गे पाइन्छन्। उडिसाको गन्धमर्दन पर्वत नाघेर अनेक विकट ठाउँ छिचोल्दै पुगिने हिमाली क्षेत्र पनि पूर्वी नेपाल र आसपासको हिमाली क्षेत्र नै हुन आउँछ। याक्थुम किरातीकी इस्टदेवी युमाको घर फक्ताङलुङ (कुम्भकर्ण हिमाल) तल रहेको पारुङलुङ-मारुङलुङ पनि नेपालको पूर्वी हिमाली क्षेत्रमै भएकाले (दिलविक्रम आङ्देम्बे, सेवारो फक्ताङलुङ, इसमताडटकम) किराती सर्दारसँग अर्जुनको आमनेसामने पनि यही ठाउँतिर हुनु अनौठो होइन।
...
इन्द्रकिल पर्वतमा अर्जुनले पाशुपत अस्त्र हासिल गरेको केही हजार वर्षपछि दीपक सुवेदी नामका व्यक्ति इन्द्रकिल पुगे र फर्किएर ‘शिरमा इन्द्रकिल र हत्केलामा कुहिरो' शीर्षकको लेख ‘समकालीन साहित्य'मा छपाए। त्यस लेखका केही वाक्य यस्ता थिए, ‘यो टिस्टा नदी र तमोरको एउटै शिर कञ्चनजंघा हो...(सिक्किमस्थित) रामपोको पूर्वतिर पाखिम, उत्तरमा टुका जित्लाङ र दक्षिण-पश्चिम अलिक पर इन्द्रकिल पहाड...सिक्किमको अर्को नाम इन्द्रकिल पर्वत रहेछ।' भारविको पालासम्म पनि कञ्चनजंघा र यसको दक्षिणतिरको भागलाई समग्रमा इन्द्रकिल भनिन्थ्यो। प्रकारान्तरमा सिक्किमलाई भनियो र अहिले इन्द्रकिलभन्दा एउटा थुम्कोभन्दा ठूलो पहाड बुझ्न थालिएको छ।
‘महाभारत' र ‘किरातार्जुनियम्'मा कञ्चनजंघालाई पनि इन्द्रकिल पर्वत भनिएको छ। यसको छटाले समेट्ने दक्षिणी भूगोललाई पनि यही पर्वतअन्तर्गत समेटिएको छ। ‘किरातार्जुनियम्'मा इन्द्रकिलबारे चर्चा गर्दा भनिएको छ, ‘यो हिमालय पर्वत या त सुमेरु पर्वतलाई जित्न चाहन्छ, अथवा केन्द्रमा उभिएर चारै दिशालाई अनन्त बिन्दुसम्म नियाल्न चाहन्छ, या यो चराचर भूमण्डललाई एकै छलाङमा नाघ्न चाहन्छ। सायद त्यसैले यो झन्झन् अग्लिँदै अत्यन्त उँचो भएर उभिएको छ।'
अर्थात्, पूर्वमा तमोर र पश्चिममा टिष्टा नदीले वेष्टित गरेको कञ्चनजंघा मुन्तिरको उच्च पहाडी भागलाई एकमुष्टमा इन्द्रकिल भनिन्थ्यो।
...
किरातेश्वरबाट पराजित भएर पनि अर्जुन धन्य भएको ठाउँ हिन्दु-गैरहिन्दु दुबैको साझा आस्थाको केन्द्र बन्नैपथ्र्यो र बन्यो पनि। स्थानीय लेप्चा, भुटियाहरू अहिले पनि कञ्चनजंघालाई आमा मान्छन् र प्राकृतिक विपत्तिबाट जोगाइमाग्दै पाङ ह्लाबसोल पुजा गर्छन्। पानी माग्दै टेन्डोङ ह्लो रुम्फात पूजा पनि गर्छन्। नेपाली (हिन्दु) पनि कञ्चनजंघालाई आमा मानेर संसारी पूजा गर्छन् (कल्चरल ल्यान्डस्केप्स, युनेस्को, नयाँदिल्ली, पृ. १५४-१५५)। कञ्चनजंघा क्षेत्रलाई लेप्चाहरू डेमाजोङ भन्छन्। किरातीहरूको पवित्र तीर्थस्थल फक्ताङलुङ र कञ्चनजंघा जोडिएकाले हिमशृंखलाको यो खण्डसँग किरातीहरूको आस्था बलियोसँग गाँसिने नै भयो।
...
इमानसिंह चेम्जोङले पनि किरात र अर्जुनबीच भएको लडाइँलाई फगत पौराणिक कथा मानेका छैनन्। महाभारतको यस प्रसंगलाई उनी किराती इतिहाससँग जोड्छन्। ‘हिस्ट्री एन्ड कल्चर अफ द किरात पिपल' किताबमा उनले छैटौं किराती राजा हुमती हाङको पालामा अर्जुन इन्द्रकिल पर्वत आएको र त्यहाँ एक किरात महासामन्तसँग युद्ध गरेको बताएका छन्। ती महासामन्तलाई उनी महादेव चाहिँ मान्दैनन्। आफूलाई पराजित गर्ने किराती महासामन्त महादेवजस्तै बलियो भएकाले उनकै शरणागत भएर क्षमायाचना गर्दै अर्जुनले पाशुपतास्त्र हासिल गरे भन्ने पक्षमा छन् उनी।
तपस्या गर्न हिँडेका अर्जुन लामो समय नफर्किएपछि उनलाई खोज्दै हिमालयतर्फ आएका चार पाण्डवलाई किरात राजाद्वय सुबाहु र पुलिन्दाले इन्द्रकिलतर्फ जान मद्दत गरेको चेम्जोङको भनाइ चाहिँ संशयपूर्ण देखिन्छ। अर्जुनलाई खोज्दै पाण्डव पहाडतिर डुलिहिँडेको सही हो। तर, उनीहरू डुलिहिँडेको पर्वत गन्धमर्दन हो, इन्द्रकिल होइन। त्यही पर्वत हुँदै अर्जुन इन्द्रकिलतर्फ लागेकाले पाण्डवहरू पाँच वर्षपछि सोही ठाउँ पुगी उनलाई पर्खिन्छन्। र, पाशुपतास्त्र हासिल गरेपछि स्वर्गलोक गएर देउताहरूबाट अनेक दिव्यास्त्र पाई अर्जुन सोही पर्वतमा फर्किन्छन्। परिवारसँग उनको पुनर्मिलन हुन्छ। भारविले चाहिँ पाशुपतास्त्र हासिल गरेपछि अर्जुन सिधै दाजुभाइ भएतिर गएको उल्लेख गरेका छन्।
...
भारततिरको सबैभन्दा ठूलो महारथीलाई एउटा नेपालीले पराजित गरेको महाभारतको कथालाई भारविले निकै पछि महाकाव्य बनाउन भ्याए, तर हामीले यसबारे नाटक अथवा फिल्म बनाउनेबारे अहिलेसम्म सोच्न सकेनौं। जबकि भारविले बडो कलात्मक पारामा युद्धको सचित्र वर्णन गरेर हामीलाई धेरै सहज बनाइदिसकेका छन्।
‘महाभारत'मा जस्तै ‘किरातर्जुनियम्'मा पनि अर्जुनले मृगचर्म धारण गरेको उल्लेख छ। अर्जुनलाई पराजित गर्ने किरातीको हुलियाबारे ‘किरातर्जुनियम्'मा भनिएको छ, ‘महादेवले जसै किरात भेष गरे, छातीमा दिव्य हरिचन्दनले अनेक आकृति बनाए। तत्क्षण उनी पसिनाले रोमाञ्चित हुन पुगे। छातीमा मोतीमाला थपिँदा त मुहार धपक्कै बलिहाल्यो, त्यस्तो मोती जुन विशेष खाले हात्तीको मस्तिष्कमा मात्रै पाइने विश्वास गरिन्छ। आफ्नो लामो कपाल फूलसहितका लहराले बाँधेका उनले कानमा मयूर प्वाँखका कुण्डल धारण गरेका थिए। ती कुण्डल जब उनका चिल्ला (दाह्री नभएका) गालामा लत्रिए, तब उदाउँदो र अस्ताउँदो बेलाको सूर्यको रक्तिम आभाजस्तो चमक भएको आँखाले सुशोभित उनको अनुहार ज्यादै सुन्दर देखियो।'
हिन्दु र गैरहिन्दुबीचको सांस्कृतिक भिन्नताबारे समेत प्रकाश पारेर भारविले गैरहिन्दु किरातीलाई तल्लो ठान्ने तत्कालीन आर्यभावनालाई पनि अर्जुनमार्फत् अभिव्यक्त गराएका छन्। बँदेलमाथि हकदाबी गर्न आएका किराती सर्दारका प्रतिनिधिले सर्दारसँग मैत्रीको हात बढाई कल्याणको बाटो रोज्न अर्जुनलाई चेतावनी दिँदा उल्टै हियाउँदै अर्जुन भन्छन्, ‘कहाँ वर्णा श्रम धर्मको मर्यादाको रक्षा गर्न तत्पर म, र कहाँ जातिविहीन पशुहरूलाई मारेर जीविका चलाउने हिंस्रक तेरो स्वामी ?
त्यसैले जाती र वृत्ति दुबै हिसाबले नीचसँग मेरो मैत्री उचित छैन। फेरि हात्ती र स्यालबीच कसरी मैत्री हुन सक्छ ? ' किराती सर्दारले बँदेलमाथिको स्वामित्व कुनै पनि हालतमा नछोड्ने र बँदेललाई लागेको बाण लिइछोड्ने चेतावनीयुक्त सन्देश पठाएपछि अर्जुन भन्छन्, ‘मैले तेरो स्वामी किरातको कठोर र आक्षेपयुक्त कुरा सहेँ, यसपछि पनि ऊ बाण लिन आउन चाहन्छ भने दृष्टिविष नामक भयंकर सर्पबाट मणि ग्रहण गर्न खोज्नेहरूको जस्तो दुर्गति हुन्छ उसलाई पनि त्यस्तै दुर्गति प्राप्त हुन्छ।' किरातीले चाहिँ अर्जुनलाई यस्तोखालको दुर्वाच्य बोलेको पाइँदैन।
...
दिल्लीको दक्षिण-पश्चिममा रहेको काम्यक वनबाट अर्जुनलाई शिवको घर भनिएको कैलाश पर्वतमुन्तिर दार्चुलामा गएर तपस्या गर्न बढी सहज हुँदाहुँदै उनी कञ्चनजंघातिर किन गए ? जबकि कैलाशबाट लिपुलेक नाका हुँदै आएर दार्चुलामा तपस्यारत अर्जुनलाई दर्शन दिन महादेवलाई बढी सहज थियो। तपस्याका लागि अर्जुनले किरातहरूको क्षेत्र रोज्नुले र महादेवको अवतार भनिएका किरातीले उनलाई पाशुपतास्त्र दिनुले चेम्जोङले भनेजस्तै त्यतिबेलाको किराती नश्लको सैन्य प्रभुत्वतर्फ सिधै संकेत गर्छ। साथै अन्य सभ्यताप्रति किरात सभ्याताले राखेको सद्भाव पनि दर्शाउँछ। एउटा समुदाय अर्कोबाट यसकारण भिन्न छ भन्नेमा मात्रै ध्यान दिने नेपालको समाज विज्ञानले भिन्न समुदाय समेट्ने यस्ता घटनाप्रति भने मौनता साँधिरहेको छ, जुन सन्दिग्धपूर्ण लाग्छ।
०००