प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा दुतावास व्यस्त
नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण यही भदौ ७ देखि ११ (अगस्त २३ देखि २७ तारिख) गतेसम्म हुने तय भएको छ। देउवा पाँच दिने राजकीय भ्रमणका लागि भारत आउन लागेको भारतीय उच्च श्रोतले जानकारी दिएको छ।
भदौ ८ गते दिल्लीमा उच्च राजनीतिक भेटघाट हुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले प्रधानमन्त्रीको भ्रमण भदौ ७ देखि गर्ने गरी तयारी रहेको जानकारी दिए। ‘हामी भारतीय पक्षसंग छलफलकै क्रममा छौँ। मोटामोटी भन्दा भदौ ७ को मितिमा तयारी अघि बढेको छ। औपचारिक मिति आपसी सहमतिमा चाँडै घोषणा हुनेछ' उनले भने।
प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा संचारमाध्यमहरुमा भदौको पहिलो साता भ्रमणका समाचार आएपनि सो मितिमा भ्रमण संभव नै नभएको उच्च श्रोतले जानकारी दिएको छ। विभिन्न तीन चार कारणले यो भ्रमणको मिति अगस्तको अन्तिम साता तय भएको बुझिएको छ।
पहिलो भारतमा अगस्त १५ तारिखमा मनाइने स्वतन्त्रता दिवसमा बाह्रय मुलुकबाट आउने विशेष अतिथिहरुको आतिथ्यतामा व्यस्त हुने भारतीय पक्षको कार्यतालिका अनुरुप त्यसको लगत्तै तेश्रो दिन भ्रमण राख्ने कुरा संभव नै नरहेको श्रोतले जानकारी दिएको छ।
दो श्रो भारत आउनुअघि मधेसवादी दल राजपालाइ चुनाव प्रकृयामा सहभागी गराउनकालगि आन्तरिक गृहकार्य चलिरहेको अवस्था र पार्टीको तर्फबाट प्रदेश नम्बर २ मा नम्बर एक पार्टीको रुपमा स्थापित गरि साख बचाउने चुनौती प्रधानमन्त्री देउवासँग रहेको हुँदा र यो विषय भारतको चासोको विषय पनि भएको हुँदा भ्रमण सहज मितिमा गराउनकालागि आपसी छलफबाट मिति तय भएको श्रोतले जानकारी दियो।
प्रधानमन्त्री देउवाको भ्रमणको आन्तरिक तयारीमा नयाँ दिल्लीस्थित दूताबास जुटिसकेको छ। प्रधानमन्त्री भ्रमणको विषयमा भारतको उच्च राजनैतिक, कुटनैतिक तथा प्रशासनिक तहमा छलफल सुरु भइसकेको छ। भारतल कुनै एक ठूलो परियोजनामा सहयोगका लागि आग्रह गर्न नेपाललाई आग्रह गरेको भएपनि नेपालका तर्फबाट सोका लागि निर्णय हुन नसकेको अधिकारीहरुले बताए।
‘भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कुनै एउटा ठूलो परियोजना निर्माणका लागि प्रधानमन्त्रीको भ्रमणमा सहयोग घोषणा गर्न सकिने अनौपचारिकरुपमा हामीलाई प्रस्ताव गरेको छ' जानकार सरकारी अधिकारीले भने ‘तर हामीले के परियोजना प्रस्ताव गर्ने भन्ने टुंगो लगाउन सकेका छैनौँ। मन्त्रालयहरुबीच छलफल भइरहेको छ।'
भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्यायले विहिबार विदेशमन्त्रालयका सहसचिव सुधाकर दलेलासँग छलफल गरेका थिए। भारत भ्रमणमा रहँदा प्रधानमन्त्री देउवाको उच्च राजनीतिक भेटघाटका अलाबा अन्य कार्यक्रमहरुका बारेमा छलफल भएको बुझिएको छ।
भ्रमणका कार्यक्रमहरुबारे खाका तयार भइरहेको तर अन्तिम निर्णय भने भारतीय विदेशमन्त्री सुषमा स्वराजको बिमस्टेक बैठकमा नेपाल पुगे्पछि नै टुगिने दूताबासका एक उच्च अधिकारीले बताए। विदेशमन्त्री स्वराज यही साउन २६ र २७ गते हुने बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं जाने कार्यक्रम रहेको छ। ‘भ्रमणका एजेण्डा तथा संझौताका बारेमा औपचारिक रुपमा अन्तिम टुँगो पनि त्यति बेला नै हुन्छ।' ती अधिकारीले भने।
त्यसैगरि प्रधानमन्त्री देउवाले भारतीय थिंक ट्याकको एक कार्यक्रमलाइ सम्बोधन गर्ने कार्यक्रमको तयारी पनि हुँदैछ। यसकालागि भारतीय जनता पार्टी निकट इण्डिया फाउन्डेसन, त्यसैगरि विवेकानन्द फाउन्डेसन, अब्जरर्भर रिसर्च फाउन्डेसन लगायतका संस्थाहरुसँग छलफल भइरहेको बुझिएको छ। यसका अलाबा प्रवासी नेपालीहरुलाइ सम्बोधन र भारतीय बिजनेश समुदायसँगको छलफल कार्यक्रम रहने पनि बुझिएको छ।
पुराना संझौताको कार्यान्वयनमा बढि केन्द्रित रहने यस पटकको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको चार पाच वटा विषयगत संझौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ। पूननिर्माण तथा पारवहनको विषयमा केहि संझौता हुने संभावना रहेको यो भ्रमणमा माइलस्टोन हुने खालको संझौता भने हुँदैन, श्रोतले भन्यो। आसन्न भ्रमण दुइ मुलुकबीच विगतमा भएका सहमति र संझौता कार्यान्वयन समीक्षा तथा द्धिपक्षिय संयन्त्रहरुलाइ सक्रिय बनाउने विषयमा केन्द्रित हुनेछ।
यस अघि राजदूत उपाध्यायले भारतीय सडक यातायात तथा परिवहन मन्त्री नितिन गडकरीसँग पनि भेट छलफल गरेका थिए। उक्त छलफलमा भारतको सिमानाकासँग जोडिएका रोड लिंकेजहरुको निर्माणका विषयमा छलफल भएको थियो।
सिलीगुडी काकडभिट्टा बीचको मेची पूल निर्माण, जोगवनी बिराटनगर सम्मको ६ लेनको सडक बिस्तारका बारे छलफल भएको अधिकारीले जानकारी दिए।
भ्रमणमा प्रधानमन्त्री देउवाले भारतले नेपालको पूननिर्माणकालागि सहयोग गर्ने भनेको एक अर्ब अमेरिकी डलर बराबरको सहायता परिचालन, पन्चेश्वर परियोजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार हुन नसकेको विषय उठान गर्ने बुझिएको छ । त्यसैगरि नेपाली ग्याँस बुलेटको अनुमति, पुराना ५ सय र १ हजार दरका नोट साटने विषय पनि भ्रमणका एजेण्डामा समावेश हुने बुझिएको छ ।
यस अघि पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सातदिने औपचारिक भ्रमण गरेका थिए। तत्कालीन प्रधानमन्त्री पि.भी. नरसिम्ह रावको निमन्त्रणामा भएको सो भ्रमणमा भारतसँग २१ बुँदे संयुक्त वक्तव्य जारी गरिएको थियो।
प्रधानमन्त्री देउवाको दोश्रो भारत भ्रमण २०५८ चैत ७ देखि ११ गतेसम्म भएको थियो। तत्कालिन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निमन्त्रणमा देउवा भारत आएका थिए।
त्यसैगरि तात्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणामा देउवाले २०६१ भदौ २३ देखि २७ सम्म भारत ते श्रो पटक भारत भ्रमण गरेका थिए। उक्त भ्रमणका बेला २५ बुँदे संयुक्त वक्तब्य जारी गरिएको थियो।