अन्तर्घातीलाई कारबाहीको तयारी

अन्तर्घातीलाई कारबाहीको तयारी

काठमाडौं : माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता-कार्यकर्तालाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ। केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार उसले प्रदेशस्तरमा छानबिन समिति गठन गर्न सुरु गरेको हो।

दुई नम्बरबाहेक अन्य सबै प्रदेशमा कम्तीमा तीन सदस्यीय समिति गठन गरी अन्तर्घात गर्ने नेता-कार्यकर्तामाथि छानबिन गरी कारबाही सिफारिस गर्न माओवादी हेडक्वार्टरले प्रदेश कमिटीलाई निर्देशन दिएको थियो।

साउन पहिलो साता बसेको सचिवालय बैठकमा जिल्ला इन्चार्जहरूले अन्तर्घातीलाई कारबाही गर्न माग गरेपछि छानबिन समिति गठन गर्ने निर्णय भएको थियो। सोही निर्णयका आधारमा केही प्रदेशमा छानबिन समिति गठन भइसकेका छन् भने केहीले गर्ने तयारी गरिरहेका छन्। ‘पार्टीको आन्तरिक निर्णय हो, आवश्यक परेका ठाउँमा बनेका छन्, नपरेका ठाउँमा बन्दैनन्,' ४ नम्बर प्रदेशका संयोजक हरिराज अधिकारले भने।

प्रदेश १ मा माओवादीले पार्टी अनुशासन विभागलाई नै त्यस्तो प्रकृतिका घटनाको छानबिन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको छ। पोलिटब्युरो सदस्य हेमराज भण्डारी संयोजकत्वको अनुशासन समितिलाई नै यस सम्बन्धमा रहेका गुनासोको छानबिन गरी प्रतिवेदन पठाउन प्रदेशले जिम्मेवारी दिएको छ। अन्य प्रदेशले भने गुनासा सुन्दै पार्टी बैठकबाटै निर्णय गरेर समिति गठन गर्न लागेका छन्।

रोल्पाको त्रिवेणी गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका र तारकेश्वर नगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात भएको आवाज माओवादीभित्र उठेको छ। यी ठाउँमा अन्य पार्टीका उम्मेदवारलाई मत दिन भित्री चलखेल भएको माओवादीको बुझाइ छ।

तीन प्रकृतिका अन्तर्घात
माओवादीभित्र तीन प्रवृत्तिका अन्तर्घात देखिएको प्रदेश ५ का संयोजक पूर्ण घर्तीले बताए। उनका अनुसार पहिलो- आधिकारिक उम्मेदवारविरुद्ध वागी दिने, दोस्रो- आफू र आफूले भनेका उम्मेदवारले टिकट नपाएपछि निष्क्रिय बसी असहयोग गर्ने र तेस्रो- भोट नै विपक्षीसँग पैसा लिएर बेचिदिने प्रवृत्तिको अन्तर्घात भएको छ।

रोल्पामा वागी उम्मेदवार नै उठेर अन्तर्घात गरेको र बर्दियालगायत कतिपय जिल्लामा पार्टी उम्मेदवारलाई असहयोग गरेर अन्तर्घात गरेको गुनासा प्रदेश कमिटीमा आएको घर्तीले बताए।

छानबिन प्रक्रिया के ?
स्थानीय तह निर्वाचन भएका ६ वटै प्रदेशमा पार्टीविरोधी र आत्मघाती क्रियाकलाप कुनै न कुनै रूपमा देखा परेको निष्कर्षमा माओवादी पुगेपछि उसले आन्तरिक रूपमा अन्तर्घात छानबिनका लागि समिति बनाएको हो। त्यस्तो, समितिले अब जुनकुनै किसिमका अन्तर्घात भए÷गरेका भए पनि त्यसलाई गल्ती र अपराध ठानी अन्तर्घातको प्रकृतिअनुसार कारबाहीको सिफारिस पार्टी हेडक्वार्टरमा बुझाउनेछ।

पार्टी हेडक्वार्टरले पनि निर्वाचनमा देखिएको प्राविधिक कमजोरीका विषयमा अध्ययन गर्न केन्द्रीय तहमै वरिष्ठ नेता टोपबहादुर रायमाझीको नेतृत्वमा समिति गठन गरेको छ। प्रदेशका छानबिन समितिले १५ भदौभित्र केन्द्रलाई प्रतिवेदन बुझाइसक्नु पर्नेछ। प्रदेशको छानबिन समितिले पार्टी हेडक्वार्टरलाई प्रतिवेदन बुझाइसकेपछि कस्तो अन्तर्घातमा के सम्मको कारबाही गर्ने भन्ने अन्तिम निर्णय पनि पार्टी हेडक्वार्टरले नै लिनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.