यो वक्ताको कुनो हो श्रोताको होइन

यो वक्ताको कुनो हो श्रोताको होइन

- तेस्रो विश्वयुद्ध मध्यपूर्वबाट सुरु भइसकेको छ ।
- रसियनहरू आईएसआईएस र अलकायदाभन्दा पनि खतरनाक राक्षस हुन् ।
- नोम चम्स्की गरिखाने वर्गको कुरा गरेर अराजकता फैलाउँदै छ । हरेक हिसाबले अमेरिकालाई ध्वस्त बनाउनु उसको एकमात्र लक्ष्य हो । ट्विनटावर ढल्दा ऊ नाचेर खुसी मनाइरहेको थियो ।
- यदि हमास आतंकवादी हो भने महिला केटाकेटीमाथि बम बर्साउने इजरायल अझ ठूलो आतंकवादी हो ।
- ब्रिटिसले मेरो मातृभूमिमा ८० वर्षसम्म राज गरे । म इङ्ल्यान्ड आएको भर्खर १० वर्ष पुग्दैछ । यसको मतलव अझै ७० वर्ष म यहाँ बस्न सक्छु । तर, गोरा सुँगुरहरू हो, हेर तिमीहरूभन्दा म कति स्वावलम्बी छु । म यहाँ श्रम गरेर बाँचेको छु र यो जमिनमा उभिएबापत तिम्रो सरकारलाई करसमेत तिरेको छु । तर, तिमीहरू मेरो देशमा कसरी बसेका थियौ ?
- हामी बेलायतीहरू असाध्यै विनम्र छौं । सिंगो लन्डनमा यो मात्रै यस्तो खराब ठाउँ हो, जहाँ विनम्र हुनुपर्दैन । त्यसैले म त्यो अधिकारको पूर्ण उपयोग गर्न चाहन्छु । मलाई बिल्कुलै जंगली हुन देऊ ।
- अमेरिका पृथ्वीकै शत्रु हो । अमेरिका इज बेबिलोन...अमेरिका इज फिनिस्ड ।...अमेरिका तेरो अन्त्य अवश्यंभावी छ । कालाहरू आफ्नो भूमि अफ्रिका फर्कनेछन्, केही मेक्सिको जानेछन् । याङ्की-हन्कीहरू तिमीहरू कहाँ जानेछौ ? कहाँ छ तिमीहरूको जरा ?
(लन्डनको स्पिकर्स कर्नरमा विभिन्न वक्ताहरूले व्यक्त गरेका स्वतन्त्र धारणा ।)

आइतबारको मध्यान्ह व्यस्त लन्डनको अतिव्यस्त मार्बल आर्चबाट हाइड पार्कतिर छिर्नु भयो भने संसारका अनेक रङका मानिससित अल्झिँदै तपाईं एउटा अर्को कोलाहलमय भीडमा ठोकिन पुग्नु हुनेछ । धार्मिक प्रवचक, उपदेशक, प्रचारक, नास्तिक, नश्लवादी, अधिकारवादी, माक्र्सवादी, उदारवादी, राष्ट्रवादी आदि अनेक किसिमका परिचय बोकेका मानिसहरू साना-ठूला मान्छेहरूबाट घेरिएर होचा भर्‍याङ, बाक्सा अथवा साना टुलमाथि उभिएर चिच्याइ चिच्याइकन बोलिरहका, चर्काचर्की गरिरहेका सुन्नहुनेछ । चर्चित लेखक जर्ज ओरबेलको शब्दमा यो भीडमा तपाईं ‘संसारकै लघुत्तम आश्चर्य' भेट्नुहुनेछ, अझ ‘पागलहरूको विशाल विविधता' पाउनुहुनेछ यहाँ । यही ठाउँ हो- विश्वप्रसिद्ध स्पिकर्स कर्नर ।

घोषित रूपमै पनि डेढ शताब्दी लामो इतिहास बोकेको अभिव्यक्ति स्वतन्त्रताको अहिलेसम्मकै जीवितमध्येको एक स्पिकर कर्नसमा हरेक आइतबार मध्यान्हदेखि साँझसम्मै यस्ता अनेक किसिमका प्रवचन, बहस र छलफलहरू हुने गर्दछन् ।

तर, यो कुनै व्यवस्थित किसिमको फोरम होइन । न यहाँ वक्ताका लागि कुनै मञ्च वा रोस्टम नै हुन्छ, न माइक नै उपलब्ध हुन्छ । यहाँ खुला ठाउँमा खुला रूपमा श्रोताहरूबाट घेरिएर वक्ताहरूले आफूलाई अभिव्यक्त गर्छन् । एक हिसाबले यो प्राकृतिक सोचको, प्राकृतिक किसिमको प्रकटीकरण नै हो । त्यसो त वक्तामा भाषणको तयारी र पूर्वयोजना पक्कै हुन्छ । तर, अधिकांश वक्ताहरू श्रोताहरूबाट आएका अनपेक्षित प्रश्नहरूको अप्रत्यासित आक्रमणमा पर्ने गर्छन्, जसका कारण विषय र प्रसंग परिवर्तन हुन पनि सक्छ । यसर्थमा यो सुन्ने र सुनाउने प्रक्रिया अनियोजित र तात्कालीक हुने गर्छ, यद्यपि वक्ताले आफ्नो वक्तव्यलाई व्यवस्थित तरिकाले सुरु गरेको किन नहोस् ।

‘यो वक्ताहरूको कुनो हो, श्रोताको होइन, त्यसैले बोल ।' स्पिकर्स कर्नरलाई बुझाउन यति एउटा भनाइ पर्याप्त छ । यो लोकेसनको सुन्दरता भनेकै बोल्नुमा छ । किनभने यहाँ आफूलाई लागेको कुरा नडराइकन स्वतन्त्र भएर भन्न पाइन्छ । यद्यपि आफ्ना कुरा भनिसकेपछि विभिन्न किसिमका र विभिन्न उद्देश्यले आएका श्रोताका प्रश्न र राम्रा नराम्रा मौखिक प्रतिक्रियाको सामना गर्न भने तयार रहनुपर्छ । यहाँको वातावरण नै यस्तो बोलक्कड हुन्छ कि आफ्नो मन छुने अथवा चित्त नबुझेको सवाललाई लिएर केही बोलूँ-बोलूँ लागिहाल्छ ।

वक्ता र श्रोता

सामान्यतयाः स्पिकर्स कर्नरका वक्ताहरू स्थायी किसिमका भेटिन्छन् । हातमा बाइबल र कुरान च्यापेका वक्ताहरूको आधिक्यता यहाँ पाइन्छ । यिनमा पनि अनेक रङ, प्रकृतिका मानिस भेटिन्छन् । एकथरी मान्छे धर्मग्रन्थको व्याख्यामात्रै गर्ने र आफ्नो धर्मलाई मानव जाति र उसका पापहरूको मोक्षदाता सावित गर्नमा लागिपरेका हुन्छन् भने अर्काथरी मान्छेको ध्येय धर्म प्रचार पनि हुन्छ । त्यस्तै यहुदी, जिओनिस्ट र नास्तिक वक्ताहरूका साथमा छोटो समयका लागि देखा पर्ने राष्ट्रवादीहरू, राजनीतिक वक्ताहरू, माक्र्सवादीहरूको सानो समूह पनि सामान्यतयाः नियमितजस्तै देखिन्छन् ।

अनि अर्काथरी चाहिँ मौसमी हुन्छन् । यी प्रायः अधिकारवादीहरू हुन्छन् । समलिंगी सम्बन्धको वकालत गर्नेहरू, शाकाहारी अझ भिगनहरू अनि तत्कालका केही राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाप्रति विरोध जनाउनेहरू, विश्वविद्यालयका विद्यार्थीहरू आदि चाहिँ आक्कलझक्कल देखिने वक्ता हुन् । त्यसैले यहाँ बोलिने विषय पनि यी वक्ताहरूजस्तै विविधिताले भरिएका हुन्छन् । स्पिकर्स कर्नरमा कस्ता विषयवस्तु आउँछन् त भन्ने सन्दर्भमा सबैभन्दा सटिक भनाइ लेखक फ्रेड मकेको छ । लामो समयदेखि स्पिकर्स कर्नरमा अनेक किसिमका मानिसका विचार सुनेका मके भन्छन्, ‘यदि तिमी गम्भीर कुराकानी चाहन्छौ भने जाऊ तिमीले पाउनेछौ । धर्म चाहन्छौ भने त्यो पनि पाउनेछौ । धर्मविरोधी कुरा चाहन्छौ भने पनि पाउनेछौ अनि यदि तिमी मुख्र्याइँपूर्ण कुरा सुन्न चाहन्छौ भने चाहे जति नै मूर्खता पनि पाउने छौ ।'

स्पिकर्स कर्नर व्यवस्थित किसिमको फोरम होइन । यहाँ वक्ताका लागि कुनै मञ्च वा रोस्टम हुँदैन, न माइक नै उपलब्ध हुन्छ । यो लोकेसनमा खुला ठाउँमा, खुला रूपमा श्रोताहरूबाट घेरिएर वक्ताहरूले आफूलाई अभिव्यक्त गर्छन् । एक हिसाबले यो प्राकृतिक सोचको, प्राकृतिक किसिमको प्रकटीकरण हो ।

स्पिकर्स कर्नरमा वक्ता र श्रोताबीचको सम्बन्धको अलग्गै मनोविज्ञान हुन्छ । प्रायः वक्ता र श्रोता एकआपसमा बिल्कुलै अपरिचित हुन्छन्, यतिसम्म अपरिचित कि वक्ताले के बोल्छ भन्नेसम्म श्रोतालाई पत्तो हुँदैन, उसको पृष्ठभूमिको त कुरै छाडुँ । यसरी अज्ञात मानिसका बीच विचार र संवेगहरूको यति तीव्रतर रूपमा अन्तरक्रिया हुन्छ कि त्यहाँ कुनै किसिमको औपचारिकताको पर्खाल रहँदैन । वक्ताको भनाइप्रति श्रोताहरूले तत्कालै असहमति, आक्रोश, कुण्ठा, घृणा, समर्थन वा यस्तै अन्य कुनै भावको प्रकटीकरण यति सहज र प्राकृतिक तरिकाले गर्न पाउनु यहाँको अर्को आकर्षक पक्ष हो । श्रोताहरूको यस्तो सक्रिय सहभागिताले कहिलेकाहीँ कतिपय गम्भीर विषयवस्तुको अन्त्य अत्यन्तै सतही र हास्यास्पद तरिकाले भइदिन्छ भने कहिलेचाहिँ हलुका विषयहरूले पनि गम्भीर स्वरूप ग्रहण गर्न पुग्छन् । वक्ता र श्रोताबीचको वादविवादले प्रायः विषयान्तर भई नै रहन्छ ।

श्रोताहरू प्रायः नयाँ हुन्छन् । कतिपय श्रोता वक्ताले बोलिरहेको विषयमा वक्ताभन्दा पनि बढी जानकार हुन पनि सक्छन् । कतिपय नियमित श्रोताचाहिँ सम्बन्धित वक्ताको हाउभाउ र नियमित बोलीचालीको जानकार पनि हुन्छन् । यस्तो समस्या प्रायः राष्ट्रवादी र धार्मिक वक्ताहरूलाई पर्ने गर्छ । उनीहरूको बोल्ने कुरा र तर्क सदाबहार हुन्छ । यसरी सधैं एउटै कुरामा बोल्ने वक्तालाई श्रोताहरू उसले अगाडि बोल्ने कुराहरू आफैं भनिदिएर गिज्याउने पनि गर्छन् । त्यसैले यस्ता अवस्थाहरूबाट बच्नका लागि वक्ताले आफू बोल्न लागेको विषयमा जान्ने छु भन्ने अभिनय त देखाउँछ नै, सँगसँगै आफ्नो कुरालाई नित्य नवीन बनाउन अनेक उपाय पनि गरिरहेको हुन्छ ।

वक्ता र श्रोताबीच अर्को एउटा पक्ष पनि हुन्छ । अंग्रेजीमा ‘हेक्लर' भनिने यिनीहरूको काम चाहिँ अनेक तर्क र कूतर्क गरेर वक्तालाई बिथोल्नु र उसलाई असफल बनाउनु हुन्छ । यिनीहरू प्रायः स्थानीय हुन्छन् । यी सदाबहार हुन्छन् र अत्यन्तै आत्मविश्वासी अनि निर्लज्ज देखिन्छन् । यिनीहरू जुनसुकै कुरामा पनि तर्क गर्न सक्ने स्वभावका हुन्छन् ।

यिनीहरू धेरैजसो नकारात्मक हुन्छन्, केही असाध्यै रमाइला हुन्छन् भने केही चाहिँ नियन्त्रणभन्दा बाहिर जानेखाले हुन्छन् । केही चाहिँ ‘व्यावसायिक भँडुवा' हुन्छन् जसले वक्ताको विगत र उसका कमजोरी जानेका हुन्छन् र त्यसकै आधारमा उसलाई खुइल्याउने काम गर्छन् । तर, यस्ता कतिपय रमाइला र तार्किक ‘हेक्लर'ले वक्तालाई आफ्ना कुराहरू अझै सबल रूपमा राख्ने वातावरण सिर्जना गर्नेमात्र नभई मानिसको भीड जम्मा गर्न पनि सहयोग पुर्‍याइरहेका हुन्छन् ।

‘हेक्लर' वक्ता बन्ने पहिलो खुड्किलो पनि हो । तार्किक र बौद्धिक क्षमताका ‘हेक्लर'हरू पछि गएर वक्ता बनेका उदाहरण पनि छन् । यसको सबैभन्दा राम्रा उदाहरण स्पिकर्स कर्नरका अराजकतावादी वक्ता मानिने कमेडियन टोनी एलेन हुन् ।

स्पिकर्स कर्नरमा श्रोताहरूको रमाइलो विशेषता के देखिन्छ भने यिनीहरूमा ज्ञानी भएर वक्ताको कुरा सुन्ने धैर्य कमै हुन्छ । यदि यहाँको भीडमा कसैले वक्तालाई ध्यानपूर्वक सुनेन भने त्यो प्रायः पर्यटक बुझिन्छ, वा त्यो ‘ श्रोता' नभएर ‘रमिते' मात्रै हुन्छ । त्यसो त स्पिकर्स कर्नरका लिजन्डेरी माक्र्सवादी वक्ता हेइको खु जो सन् १९८६ देखि यहाँ बोलिरहेका छन्, उनका श्रोताहरूचाहिँ केही गम्भीर देखिन्छन् । असाध्यै आकर्षक र नियमित वक्तामा मुस्लिम धर्मबारे बोल्ने शब्बिर पनि एक हुन्, उनीचाहिँ भाषण गर्नभन्दा छलफल र बहसमा बढी देखिन्छन् ।

जे होस्, संसारमा यो यस्तो ठाउँ हो जहाँ श्रोता अनिवार्य रूपमा बोल्छ, वक्ता सँगसँगै लागेर । कहिलेकाहीँ वक्ताको कुरामा श्रोताले आफ्नो असहमति राख्दाराख्दै पनि यस्तो अवस्था आइदिन्छ कि श्रोताहरू स-साना समूहमा टुक्रिएर वक्तालाई बेवास्ता गरी बहस र छलफलको आफ्नै छुट्टै ‘सेसन' चलाइदिन्छन् ।

सामान्यतयाः वक्ताको कमजोर प्रस्तुति हुँदा यस्तो अवस्था देखिन्छ । अपरिचित मानिसहरू बिना कुनै योजना आमनेसामने भएर कुनै विषयप्रति सहमति र असहमति राख्ने अभ्यासको अर्कै रोमाञ्चकता हुन्छ । वक्ता कमजोर हुँदा कुनैबेला अमूक श्रोता नै ‘हिरो' भइदिन पनि सक्छ । त्यसैले वक्ता आफ्नो विषयवस्तुको पहुँचमा सँगसँगै प्रस्तुतिमा पनि सचेत हुनु जरुरी त छँदैछ, उसँग श्रोताले उठाएका प्रश्नलाई श्रोताको मुख बन्द गराउने गरी जवाफ दिनसक्ने सामथ्र्य बनाउनु पनि जरुरी हुन्छ । तर, वक्ताले कतिबेला कुन श्रोताबाट कस्तो किसिमको मौखिक आक्रमणको सामना गर्नुपर्ने हो, त्यसको कुनै टुंगो हुँदैन । किनकि वक्ताको भनाइप्रतिको प्रतिक्रिया यति अप्रत्याशित त तीव्र रूपमा हुने गर्दछ कि यसपछिका क्रिया-प्रतिक्रिया असाध्यै चाखलाग्दा हुन्छन् । विशेषगरी रमिते श्रोताका लागि यो क्षण प्रतिक्षित हुने गर्छ ।

गौरवमय इतिहास

स्पिकर्स कर्नर भिक्टोरियनकालमा जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको लडाइँको उपज हो । मानिसको वाक् स्वतन्त्रताको पक्षमा इतिहासमा एउटा अंगको रूपमा रहेको स्पिकर्स कर्नर पश्चिमा प्रजातन्त्रलाई संस्थागत गर्ने एउटा कोसेढुंगा हो । सन् १८७२ मा बेलायती संसद्ले कानुन पास गरी हाइड पार्क कर्नरको उत्तरपूर्वी सानो कुनोलाई वाक् स्वतन्त्रताको थलोको रूपमा सुनिश्चित गरिदिएपछि यो कर्नर आफूलाई निर्भय अभिव्यक्त गर्न सक्ने थलोको रूपमा रहिआएको छ।

अठारौं शताब्दीमा औद्योगिक क्रान्तिको उपज पुँजीको बढ्दो शक्तिले बेलायती जनजीवनलाई प्रभावित बनाइदियो । जनसंख्याको ठूलो हिस्सा तलबी मजदुरको रूपमा रूपान्तरित भयो । पुँजीको प्रभाव यति शक्तिशाली भइदियो कि सन् १७५० सम्म आइपुग्दा बेलायती जनसंख्याको लगभग आधा हिस्सा तलबी श्रमिक बन्न पुग्यो । श्रम र पुँजीसँग जोडिएसँगै यसले मानिसको आर्थिक जीवनमा मात्रै प्रभाव नपारी त्यसको उपजस्वरूप उसको चेतनामा समेत प्रभाव पार्न थाल्यो, जसको फलस्वरूप बेलायतमा अधिकार प्राप्तिका साना-ठूला संघर्षहरू हुन थाले । पछि गएर त अन्तर्राष्ट्रिय सरोकारमा समेत आवाज उठ्न थाले । यी सबको मुख्य थलो लन्डनमा हाइड पार्क (जसको एक छेउमा स्पिकर्स कर्नर रहेको छ) थियो ।

तर, स्पिकर्स कर्नरको अवधारणाको सुरुवातचाहिँ सन् १८६६ मा भएको मानिन्छ । मताधिकारसम्बन्धी संघर्ष गर्दै आएको रिफ्र्म लिग अगुवाइमा सन् १८६६ जुलाईमा यही हाइड पार्कमा भएको बैठकले मताधिकार विस्तारको आन्दोलन चलायो जसको माग इङ्ल्यान्ड र वेल्समा रहेका सबै बालिग लोग्नेमान्छेहरूले मतदान गर्न पाउनुपर्छ भन्ने थियो । यसअघि सात मिलियन बालिग पुरुष जनसंख्यामध्ये एक मिलियनले मात्रै मतदान गर्न पाउँथे । सरकारले हाइड पार्कमा प्रदर्शन गर्न प्रतिबन्ध लगाउँदालगाउँदै पनि विशाल जनप्रदर्शनी भएको थियो ।

पछिपछि त सानाठूला प्रदर्शनी गर्नु परे त्यहीँ गर्ने चलन बस्दै गएपछि अन्ततः सन् १८७२ मा बेलायती संसद्ले कानुन पारित गरी यहाँ वाक् स्वतन्त्रताको सुनिश्चिता गरेपश्चात् स्पिकर्स कर्नर बोल्ने थलोका रूपमा परिचित हुन थालेको हो । त्यसयता निरन्तर रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न मुद्दाहरूका साथमा अन्य आर्थिक, सामाजिक, सांस्कृतिक बहस र मुद्दालाई यसले निरन्तर बोकी हिँडेको छ । इतिहासमा यो बेलायती राजनीतिमा प्रतिपक्षका निम्ति आफ्ना असहमति र विरोधलाई अभिव्यक्त गर्ने थलोका रूपमा बढी परिचित थियो । विशेषगरी विभिन्न अधिकारवादीका साथमा सोसलिस्टहरूका आवाजलाई प्रभावशालीरूपमा मुखरित गरिएको थलोका रूपमा यो उल्लेखनीय छ जहाँ दार्शनिक कार्ल माक्र्स, सोसलिस्ट एक्टिभिस्ट विलियम मोरिस, लेनिन, लेखक जर्ज ओरविल, एटिक्भस्ट मारक्युस ग्राभी, विचारक वारोन सोपरजस्ता आफ्ना विचार र चिन्तनले दुनियाँलाई हल्लाउन सक्ने व्यक्तित्वहरूले समेत बोलेको इतिहास पाइन्छ ।

गुमेको गौरव

विशेषगरी बौद्धिक जगत्बीच स्पिकर्स कर्नरको विश्वव्यापी जुन परिचय बनेको थियो र अद्यापि छ, बिस्तारै यसले त्यो गौरवलाई गुमाउँदै जान थालेको छ । हाम्रा अब्बल निबन्धकार ताना शर्माले दशकौंअघि स्पिकर्स कर्नरलाई आफ्नो निबन्ध ‘वक्ताहरूको कुनो'मा लेखेका थिए । त्यो निबन्ध पढेर त्यसको रोमान्चतामा यदि अबको समयमा कोही यहाँ आइपुग्यो भने त्यो मानिस बिल्कुलै निराश हुन पुग्ने पक्कापक्की छ । क्रिश्चियन, मुस्लिम धर्म उपदेशक, व्याख्याता एवम् प्रचारक र तिनका समर्थक अनि विरोधीको कोलाहलमा नयाँ मान्छे एकछिन त अलमलिन पनि सक्छ ।

आजकाल स्पिकर्स कर्नरमा प्रत्येक १० जनामध्ये सात जनाचाहिँ यिनै धार्मिक वक्ताहरू हुने गर्छन् । यस्ता वक्ताहरू प्रायः पुरानै कुरा दोहोर्‍याइरहेका हुन्छन् । कुनै-कुनै धार्मिक बहसहरूले आखिरीमा दार्शनिकतातिर मोडिएर त्यसको अर्कै रंग सिर्जना गर्ने गरेको पनि पाइन्छ । टोनी एलेन र हेइको खू, डायनाजस्ता लेजेन्डरी वक्ताले यो ठाउँको गौरवलाई अहिलेसम्म धानिरहेका छन् । आजकाल आक्कलझुक्कल देखिने यिनीहरूको भाषण सुन्न पाउँदा मात्रै स्पिकर्स कर्नरमा उभिनुको गर्ववोध हुन सक्छ । त्यसो त नियमित रूपमा देखिने समसामयिक विषयवस्तुमा बोल्ने अनेकथरी वक्ता यहाँ भेटिन्छन् ।

तर, विषयवस्तुमाथिको पकडको अभावमा ती फिका महसुस हुन्छन् । तिनको उद्देश्य उत्तेजक र भड्किला कुरा गरेर श्रोता बटुल्नुमात्रै देखिन्छ । पछिल्लो समय स्पिकर्स कर्नरमा श्रोता र वक्ता दुवै रूपमा मुस्लिमहरूको बाक्लो उपस्थिति देखिनु एकथरी नश्लवादी र राष्ट्रवादी वक्ता र सहभागीहरूका निम्ति टाउको दुखाइको विषय बनेको छ । उनीहरूको उपस्थिति आक्रामक एवम् आक्रोशपूर्ण पनि लाग्छ ।

प्रायः अरब राष्ट्र र मध्यपूर्वसँग सम्बन्धित राजनीतिक बहसहरू अरेबियन भाषामा हुने हुँदा त्यसले अरबी नबुझ्नेहरूमा असन्तुष्टि पैदा गर्ने गरेको पनि देखिन्छ । सम्भवतः यो पश्चिमा शक्ति र अरब मध्यपूर्वबीचको विद्यमान तनावको उपज पनि हो । तर, धेरै गोराहरूले यसलाई त्यति सहज रूपमा लिन सकेका छैनन् । ‘सन् १९८८ मा जब सलमान रुस्दीको किताब सटानिक भर्सेज प्रकाशित भयो, त्यसपछि स्पिकर्स कर्नरको वातावरण पनि नाटकीय ढंगले परिवर्तन भएको हो,' एक दक्षिण अफ्रिकी क्रिश्चियन वक्ताले भनेका छन् ।

कतिपयले त यतिसम्म आरोप लगाउँछन् कि ‘मुस्लिमहरू आफ्नो आस्थामाथि सार्वजनिक रूपमा अरूले प्रश्न उठाएको वा चुनौती दिएको सहन गर्न सक्दैनन्, त्यसैले उनीहरूले योजनाबद्ध रूपमा स्पिकर्स कर्नरमा आफ्नो बाहुल्य बढाउँदै लगेका हुन् ।' तर, यो भनाइ पूर्वाग्रह बढी लाग्छ, किनभने स्पिकर्स कर्नरको नजिकै आसपासमा मुस्लिम जनसंख्याको बाहुल्य देखिन्छ । स्वभाविक हो, स्थानीयताको कारणले पनि त्यो बाहुल्य देखिएको हो । तर, स्पिकर्स कर्नरमा क्रिश्चियन र मुस्लिम वक्ता र श्रोताबीचका बहसहरू स्वतन्त्र रूपले सुन्दा-देख्दाचाहिँ यस्तो लाग्छ- यो समय अमेरिकाको साथमा पश्चिमा राष्ट्र र अरब मध्यपूर्वबीचको शीतयुद्धको चरण हो ।

औचित्य

स्पिकर्स कर्नरमा कस्ता किसिमका बहस हुनुपथ्र्यो भन्ने कुरा सम्भवतः ऐतिहासिक पूर्वाग्रहभन्दा बढी केही पनि होइन । यो सत्य हो, ‘रिलिजियस फन्डामेन्टलिस्ट'हरूको आधिक्यताका कारण स्पिकर्स कर्नर एउटा धार्मिक मण्डलीमा परिणत हुँदै गइरहेको छ भने धर्मदेखि बाहिरका विषयमा नियमित वक्ताको रूपमा आफूलाई उभ्याउन खोज्नेहरू अपरिपक्व र लहडी लाग्छन् । यसको फ्लस्वरूप क्रिश्चियन र मुस्लिम धार्मिक वक्ताहरूको बाहुल्य बढ्दै गइरहेको छ ।
सूचना प्रविधि र योसँग गाँसिएका अनेक माध्यमका कारण सूचना, सन्देश, विचारको सम्प्रेषण र प्रसारण यति तीव्र हुन थालेको छ कि केही मानिस स्पिकर्स कर्नरको उपादेयता हराइसकेको बताउँछन् । तर, स्पिकर्स कर्नरको अर्थ वक्ताले आफ्ना विचार वा भावना अभिव्यक्त गर्नुमात्रै होइन, बिल्कुल अपरिचित पृष्ठभूमि र संस्कृतिका मानिससित तत्क्षण अन्तक्र्रिया गर्नु पनि हो ।

भलै, आजकलको स्पिकर्स कर्नरको वातावरण योभन्दा अलग्गै बन्दै गइरहेको छ । तर, अलग्गै खालका श्रोता, वक्ता र फेरि श्रोतासँगको अनौठो अन्तत्र्रिmया अन्य कुनै पनि मिडिया वा माध्यममा बिल्कुलै सम्भव छैन । यसको आफ्नै र अलग्गै किसिमको सौन्दर्य छ । पुँजीवादको चमकधमकमा संसारमा क्रमशः सामाजिक अनि दूरगामी असर पार्ने खालका सबालहरूमा बहस गर्न नरुचाउने नयाँ पुस्ताको ठूलो हिस्सा लगभग भासिइरहेको सन्दर्भमा योमात्रै होइन संसारभर यस्ता स्पिकर्स कर्नर खडा गरिनु अत्यन्तै जरुरी भइसकेको छ । वर्तमान समय जहाँ मानिसको स्वतन्त्रतामाथि अक्सर नोकरशाहीको साथमा बजार र आधुनिक प्रविधिको दबदबा बढेकोे छ, यस्तो समयमा त झन् यस्ता फोरमहरूले मानिसलाई जीवित हुनुको आभास दिलाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.