म ‘नक्कली' मतदाता
औंला-जाँचकीहरूले हातका मोटो एवं प्रमुख बूढी औंला हेर्थे । तर, मेरा दायाँ-बायाँ दुवै बूढी औंलाको फेद भने पूरै रंगीन भइसकेको थियो । एकपटक, दायाँ हातको बूढी औंलाको कापले रङ-संयोजनको स्वाद पाइसकेको थियो र अर्कोपटक बायाँ हातको बूढी औंलाको कापले रङको स्वाद चाखिसकेको थियो । यसरी, मेरा दुवै हातका बूढी औंलाको काप निर्वाचनरूपी रङ-रसमा पूर्णतः डुबिसकेको थियो ।
मेरा औंलाहरूलाई रङको नसामा डुबाउने समयावधि थियो, २०४३ साल । पञ्चायती व्यवस्थाका आखिरी दिनहरू थिए । राष्ट्रिय पञ्चायतका माननीयहरूलाई टीका लगाउने चुनाव सँघारमै उभिएको थियो र पञ्चायतीको चुनावको हावा सर्दैसर्दै हाम्रो गाउँसम्मै आइसकेको थियो । र, हाम्रो गाउँभन्दा निकै माथि, मैले पढ्ने स्कुलमा पञ्चायती चुनावको भोट खसाल्ने ठाउँ थियो । चुनाव आउँदा हामी यति रमाउँथ्यौं, कम्तीमा एक दिनमात्रै भए पनि मास्टरको गन्थन सुन्नु पर्दैनथ्यो । बिदाको सदुपयोग कसरी गर्नुपर्छ भन्ने गहिरो हेक्का थियो हामीलाई । त्यो हेक्कालाई कहिले अँधेरी खोलामा पौडी खेलेर, कहिले बुदुरी खोलामा माछा मारेर, कहिले गुप्तीको पाखामा ओखर टिपेर र कहिले भष्मेको जंगलमा मछिना खाएर सुसम्पन्न गथ्र्यौं ।
पञ्चायती निर्वाचन उत्कर्षमा नै थियो । गाउँतिरका बुजु्रकहरू भन्थे, ‘यो चुनावमा त कांग्रेस, कम्युनिस्टका मानिसहरू पनि उठेका छन् । विपीन कोइराला कांग्रेसबाट उठेका छन्, नारायणबहादुर खड्कालाई कम्युनिस्टले उठाएको छ । टीकाजंग, अम्बरदीपहरूलाई चाहिँ राजाकै उम्मेदवार भन्छन् ।' तर, मलाई अरूका नाम वा कांग्रेस-कम्युनिस्टप्रति कुनै सरोकार थिएन । एकजना उम्मेदवारको नामले भने मलाई निकै आकर्षित गरेको थियो । त्यो नाम थियो— झ्याप्सी दनुवार । कमलाखुँज भेगका दनुवार त्यति ‘पपुलर' नाम थिएन र उनलाई न राजाले सघाउँथ्यो, न कांग्रेस-कम्युनिस्टले नै उठाएको थियो । उम्मेदवारहरूको नाम र उनीहरूका राजनीतिक पृष्ठभूमि एवं संलग्नता बुझेपछि मभित्र तरंग र चासो पैदा हुन्थ्यो ।
एक बिहान । बिहानको खाजाको निम्ति बुवा मकै र भट्मास भुट्दै हुनुहुन्थ्यो । म आँगनमै थिएँ । घरभन्दा मुनिको कान्ले बाटो नाघ्दै दुईजना व्यक्तिले आफ्ना पाइला फट्कार्दै हाम्रो घरको आँगनमा टेके । र, दुब्लोदुब्लो, गहुँगोरो, सेतो कुर्ता-पाइजामा लगाएका ती व्यक्तिले मलाई सोधे, ‘घरमा अरू कोही छैनन् ? '
‘म विपीन कोइराला हुँ । म कांग्रेसको उम्मेदवार हुँ । यसपटक मलाई भोट दिएर चुनाव जिताउनुस् । मैले जिते भने प्रजातन्त्र आउँछ ।' घरबाहिर निस्किनुभएको बुवालाई ती मानिसले भने र घरको पेटीमा बस्दै केही राजनीतिक ज्ञान बाँडे । बुवाले भुटिरहेको मकै र भट्मास उनलाई खान दिए र अरू उम्मेदवारलाई भनेजस्तै बुबाले भन्नुभयो, ‘हुन्छ, हाम्रो घरको सबै भोट तपाईंलाई नै आउँछ । ढुक्क हुनुस् ।' भोट माग्ने चटारोमा रहेका विपीनले हाम्रो घरभन्दा माथिको बाटो उक्लिँदै र एक फाँको मकै र भट्मास टोक्दै आफ्नो चुनावी यात्रालाई जारी राखे ।
गाउँका गन्यमान्यहरू विपीन कोइरालाको नाम लिन्थे र चुनावमा उठेका छन् पनि भन्थे । अहो, आफ्नै घरको आँगनमा तिनको पाइला पर्दा म निकै रोमाञ्चित बनेँ । यस्तो सौभाग्य कहाँ पाउनु ? त्यसपछि मैले विपीन कोइराला आफ्नो घरमा आएको, भोट मागेको र मकै र भट्मास खाएर बाटो लागेको वृत्तान्त धेरै दिनसम्म आफ्ना सहपाठीलाई सुनाएर उनीहरूलाई हत्तु बनाएँ ।
म अझै पनि दुई-चारपटक नै भोट खसाल्न योग्य १२ वर्षीय ‘वालिग' मताधिकार हुँ । एकपटक मात्रै भोट खसाल्दा मेरो चित्त पटक्कै बुझेको थिएन । म पटकपटक, निरन्तर भोट खसाल्न चाहन्थेँ ।
तर, विपीन कोइरालाले घरको आँगन नै टेके पनि, बुवाले उनलाई भोट दिने वचन दिनुभए पनि मैले भने अम्बरदीप देवकोटालाई भोट दिएँ । किनकि, सबैले उनले नै चुनाव जित्छ भन्थे । तर, नतिजाले देखायो, उनले चुनाव जितेनन् । पञ्चायतका विभिन्न खेमा थिए र टीकाजंग थापाले चुनावमा बाजी मारे । कतिपयले भन्थे, ‘मरिनतिरका माझ्ी र दनुवारहरूलाई राँगो ढालेर उनले चुनाव जिते ।' उनले कसरी चुनाव जिते, दैव जानून् ।
हो, २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावले गाउँबस्तीहरू तरंगित भइरहेकै बेला हाम्रो गाउँमा भने मतदान अधिकृत भएर आए, उही पृथे दाइ । परिचित दाइ । खास नाम त पृथ्वी हो तर त्यसलाई भाँचभुच पारेर ‘पृथे' भन्थे सबैले । मलाई लाग्छ, हाम्रा पृथे दाइको गाउँमा चुनाव सम्पन्न गराउन आउँदा स्थानीय राजनीतिक, सामाजिक वा अरू जटिलतालाई चिर्दै चुनाउ गराउने र ‘सफल चुनाउ गराएको' प्रमाणपत्र लिएर आफ्नो जागिरे जीवन अझ चम्काउने ध्येय पनि हुन सक्थ्यो । गहन जिम्मेवारीबोधले थिचिएको अनुभूति पृथे दाइमा देखिन्थ्यो ।
चुनावको केही दिनअघि पृथे दाइ हाम्रै घरको पाहुना हुन आइपुगेका थिए । हाम्रै घरमा बसे, घरमा पाकेको ‘मीठोमसिनो' खाए । त्यत्रो चुनाव गराउन जिल्ला सदरमुकामबाट आएका मानिसलाई सेवा-सत्कार गर्न पाउनु सौभाग्यकै विषय थियो । बुवाले पनि पृथे दाइलाई यथोचित मान, मर्यादा, खानपिनमा बिना कन्जुस्याइँ सत्कार सबै गर्नुभयो । बुवा पनि तीनतीन पटक वडाको ‘मुखिया' भइसक्नुभएको हुँदा राजनीति-सजग प्राणीकै तहमा हुनुहुन्थ्यो । पृथे दाइ, उनीसँगै आएका अर्का एकजना मानिस र बुवाबीच राजनीतिक कुराकानी चल्थ्यो । तर, म भने राजनीतिको छेउ कता पर्छ, टुप्पो कता पर्छ, केही पनि बुझ्दिनथेँ ।
भोट खसाल्ने दिन आयो । तर, वालिग मताधिकारको वकालत गर्ने पञ्चायती व्यवस्थाका निम्ति म कदापि ‘वालिग' थिइनँ । मात्र १२ वर्षको थिएँ, पूरै नावालग । तर, वालिग भन्ने शब्दावलीसँग मलाई केही लिनुदिनु थिएन । म मतदान गर्न निकै आतुर थिएँ । वालिग कि सालिक । म अरू मानिसजस्तै मतदान केन्द्रमा ठिंग उभिएर मतदान गर्ने मनशायमा थिएँ । र, उभिएँ बाँसको भाटा र डोरीले बारबेर पारेको स्थाननजिकै । मभित्र उत्पत्ति भएको भोट खसाल्ने चुलिँदो रहरलाई पृथे दाइले पूरा गरिदिए । के रहर लागेको होला त्यस्तो ? मतदानको दिन बिहानै सबैजना गाउँबाट करिब एक घन्टाको उकालो चढे । सबै आफूले चाहेको उम्मेदवारलाई भोट खसाल्न व्यग्र देखिन्थे । के नसा चढ्यो कुन्नी, म पनि गाउँका ठूलाबडा ‘वालिग' हरूका फेर समात्दै उकालो चढेँ । र, मतदान केन्द्रमा पुगेँ ।
थाहा भएन, कुनै ‘वालिग' मतदाताको नाम लेखिएको एउटा चिर्कटो मैले पाएँ । र, लाइनमा बसेँ । चिर्कटोमा लेखिएको नाम सन्तबहादुर हायूको हुन सक्थ्यो वा नौले बयलकोटीको पनि हुन सक्थ्यो । तर, खुसीको कुरा, मैले मत खसाल्न पाउने भएँ । जब मतदान केन्द्रमा उभिएका अनुहारहरूतिर म क्वारक्वार्ती हेर्दै जान्थेँ, ममा तनावका सयौं थान ‘डोक्लाम', ‘कोरियाली प्रायद्वीप'हरू बढ्दै जान्थ्यो । कारण प्रस्टै थियो, कसैले मेरो नाम, थर र हुलिया नियालेर ‘यो त मतदाता नै होइन, अर्कैको नाममा भोट खसाल्न आएको हो' भन्न बेर थिएन ।
सोह्रै आना नक्कली मतदाता थिएँ र सावित हुन पनि सक्थेँ । तर, म भने केही पर मतदान अधिकृत भएर, घोसेमुन्टे लगाएर बसिरहेका उही पृथे दाइलाई हेर्थें, एकोहोरो र आशाका त्यान्द्राहरू बिछ्याउँदै, आत्मविश्वासका सिँढीहरू उक्लिँदै सोच्थेँ, ‘मलाई पृथे दाइले कसरी पो फर्काउलान् र ? हाम्रो घरमा तीनतीन दिन बसेका र भान्साको क्रियाशील सदस्य भएका पृथे दाइले मलाई पक्कै पनि गलहत्याउँदैनन् ।'
भयो त्यस्तै । मैले सोचेको जस्तै । अहो, लाइनमा उभिएको मतिर हेर्दै पृथे दाइ त मुसुक्क हाँसे । उनको हाँसोमा खिसिट्युरी थिएन, ‘ल केटा भोट खसाल्ने मजा ले' भन्ने भाव तैरिइरहेको थियो । पृथे दाइले दायाँबायाँ केही पनि हेरेनन् र मेरो दाहिने हातको बूढी औंलामा मसी पोत्दै ‘मत खसाल्न' अनुमति दिए । म खुसी हुँदै मत खसाल्न लाइन लागेँ र मत खसालेँ । न मतदाता सूचीमा नाम, न उमेरले नै दिएको छ अनुमति । मैले बकाइदाले एक मत खसालेँ ।
एउटा मत अरूकै नाममा सहज रूपमा खसाल्न पाएपछि अरू धेरै मत खसाल्न मन लाग्यो मलाई । आत्मबल चुलियो एक्कासि । नशाजस्तै लाग्यो ।
मैले सोचेँ, ‘अब मलाई कसले रोक्न सक्छ ? रोक्ने ठाउँमा पृथे दाइ छन् । अरूले रोके भने म पृथे दाइलाई भनिदिन्छु । पृथे दाइका अघि कसको के चल्छ ? ' दोस्रो प्रयास प्रारम्भ भयो । याद भएन, एकजनाले कागजको टुक्रामा नाम लेख्दै पठाउँदै गरिरहेका थिए । मैले पनि उनीसँग कुनै अज्ञात मतदाताको नाम कागजमा लेखिदिन आग्रह गरेँ । उनले ‘एकपटक खसालिसकेको होइन ? फेरि खसाल्न दिँदैनन्' भने । तर, मैले जिद्दी गरेँ । एकजनाले त कानमा फुक्दै भन्यो, ‘एकपटकभन्दा बढी भोट हाल्न पाइँदैन । किनकि, बूढी औंलामा मसी पोतिसकेका हुन्छन् ।'
एकपटकमात्रै भोट खसाल्दा मेरो चित्त पटक्कै बुझेको थिएन । म पटकपटक, निरन्तर भोट खसाल्न चाहन्थेँ । मैले सोचेँ, ‘एउटा हातको बूढी औंलामा त मसी पोतिइसक्यो, अब भने पृथे दाइलाई अर्को हातको बूढी औंला देखाउँछु ।' नभन्दै, त्यसै गरेँ मैले । दोस्रोपटक पनि मतदान गर्नेहरूको लाइनमा लागेँ । जब औंला देखाउने पालो आयो, औंला हेर्ने त उही पृथे दाइ नै थिए । मैले उनलाई यसपटक दायाँ हात लुकाएर, बायाँ हातको बूढी औंला देखाएँ । पृथे दाइ कति जाति भने, अरूका भने दायाँ हातमा खोजीखोजी रङ दलिदिन्थे, मेरो भने बायाँ हातमा रङ पोते उनले । म मक्ख, कम्तीमा दोस्रोपटक पनि भोट त खसाल्न पाएँ । मेरो मनोकांक्षा समृद्ध बन्दै गयो ।
पृथे दाइको मप्रति पोखिएको स्नेह, सद्भाव र उदारताले मलाई निकै नै हौस्यायो । लाग्यो, म अझै पनि दुईचारपटक नै भोट खसाल्न योग्य १२ वर्षीय ‘वालिग' मताधिकार हुँ । दुवै हातको बूढी औंला पोतिइसकेको भए पनि, कागजको चिर्कटोमा नाम लेखिदिनेले अप्ठेरो माने पनि तेस्रोपटक पनि म मताधिकार प्रयोग गर्न गएँ । अफसोच, यसपटक भने पृथे दाइ नै खलनायकका रूपमा देखा परे । लाइनमा उभिँदासम्म त कसैले पनि केही भनेका थिएनन्, कसैले पनि छुच्चोपन प्रदर्शन गरेका थिएनन् । तर, पृथे दाइले तेस्रोपटक पनि उही ‘वालिग' मतदाता अरू कसैको नाम चोरेर मत खसाल्न आएको देखेपछि मेरो सातो नै टिपे । पृथे दाइले मेरो सातो नै खाए र भने, ‘तँ भाग्छस् कि के गर्छस् अब ? दुईदुई पटकसम्म दिइसकेँ । अब फेरि पनि आउँदैछस्, भाग् ।'
म फुच्चे । न भोट हाल्ने उमेर नै पुगेको छ, न राजनीतिबारे कुनै ज्ञान नै छ । पृथे दाइको हप्काइसँगै म तुफानसरी दौडिएँ र बाहिर निस्किएँ । तर, रहरले निर्देशित गरेर कम्तीमा पनि दुईदुईपटक भोट हाल्न पाउँदा अपार खुसी र उमंगले नाचिरहेको थिएँ म । आकाशमा उड्ने चिभे चराजस्तै उन्मत्त र खुसीले प्रफुल्ल थिएँ ।
२०४३ सालमा ‘वालिग'को ट्याग नझुन्डिदै दुईदुईपटक भोट खसाले पनि त्यसयताका हरेकजसो चुनावमा मताधिकार प्रयोग गर्नबाट मलाई कसैले छेकेको छैन । अफसोच ! २०४३ पछिका हरेक चुनावमा भने एक पटकभन्दा बढी मत खसाल्न पाएको छैन । तर, जबजब चुनाव आउँछ, म त्यही २०४३ सालतिरै फर्किन्छु र कल्पिन्छु मनमनै, ‘त्यति बेला तेस्रोपटक भोट खसाल्न पाएको भए त्यो मेरो जीवनको ह्याट्रिक-चुनाव नै हुने रहेछ ।'