बाँझो जग्गामा व्यवसायिक अलैंची खेती
बागलुङ : बागलुङको दक्षिण क्षेत्र दमेका किसानले व्यावसायिक अलैंची खेती सुरु गरेका छन्। जिल्लाको जैमिनी नगरपालिका वडा नं. २ र ३ का किसानले बाँझो र खाली रहेको ११ सय हेक्टर जमिनमा व्यावासायिक खेती गरेका हुन्।
नेपाली युवा धन कमाउनका लागि दैनिकजसो विदेश पलायन हुने क्रम बढिरहेका बेला जनशक्तिको अभावमा बाँझो रहेका जग्गामा अलैंचीका बिरुवा उत्पादन गरेर व्यावसायिक खेती गर्न थालिएको स्थानीयले बताएका छन्। केही वर्ष पहिलेसम्म केही किसानले घरमा १-२ बिरुवा लगाइएकामा राम्रो प्रतिफल दिएपछि किसानले व्यावसायिक सोचका साथ एकल र सामूहिक रूपमा अलैची खेतीमा सक्रिय भएका छन्।
खेती राम्रो हुँदै गएकाले स्थानीय यसतर्फ आकर्षित र उत्साहित भएको गाजा सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष होमनाथ सापकोटाले बताए। वडा नं. २ र ३ मा पर्ने साविक दमेक गाविसमा केही व्यक्तिले अलैचीका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आइरहेका छन्।
गत वर्ष १० लाखभन्दा बढी मूल्यको अलैचीका बिरुवा बिक्री गरेका किसानले अहिले ५० लाखभन्दा बढी मूल्यका अलैची बिरुवा बिक्री गर्न योजना बनाएका छन्। गाउँगाउँमा अलैंचीका बिरुवाको माग बढ्न थालेपछि गाउँमै नर्सरी स्थापना गरेर बिक्री गर्न थालेको कृषि सहकारी संस्थाले बताएको छ । सहकारीले करिब एक सय रोपनी जग्गा भाडामा लिएर अलैंचीखेती सुरु गरेको थियो।
परीक्षणका लागि गरिएको अलैंचीले राम्रो आम्दानी दिएपछि अब अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको सहकारीले बताएको छ। उक्त स्थानमा स्थानीय आनन्द अम्माई, झापाबाट अलैंचीको नर्सरी स्थापना गर्न आएका पारस काफ्ले लगायतले व्यावसायिक नर्सरी र स्थानीयका केही साना ठूला नर्सरी रहेका छन्। दमेकमा सहकारी, निजीलगायत सामुदायिक वनमा पनि अलंैचीखेती गर्दै आएका छन्। अहिले बजारमा सुकेको अलैंची र बिरुवाको माग राम्रो भएकाले राम्रो आम्दानी गर्न सकिने किसानले छन्।
अलैंचीखेतीका लागि उत्तर फर्केको केही चिस्यानसहितको जमिन आवश्यक हुने भएकाले पनि दमेकमा अति उत्तम ठाउँ भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत बिप्लव अधिकारीले बताए।