जिउँदो आकाश
नेपाली समाज भन्छ, मान्छेको दुईवटा लिंग हुन्छ- महिला र पुरुष । तर, प्रकृतिले भन्छ, मान्छेको एउटै लिंग हुन्छ- मान्छे । महिला र पुरुषमा मान्छेलाई नबाँड किनभने महिला र पुरुषभन्दा फरक लिंग भएको पनि मानिस हुन्छ । गत मार्च महिनाको ‘टाइम' म्यागेजिनले त मानिसको ६० जति लैंगिक पहिचान भएको उल्लेख नै गरेको छ । टाइम म्यागेजिनका अनुसार अबको पुस्ताले ‘उ' र ‘उनी'भन्दा परको लैंगिक परिभाषा निर्माण गरिरहेछ । तर, नेपाली समाजमा अझै पनि तेस्रोलिंगी पहिचान परिहासको विषय बनाइएको छ । हाम्रो समाजले महिला र पुरुषभन्दा परको लैंगिक पहिचानका पीडाहरू बुझ्नै सकेको छैन ।
‘पुरुषको लाइनमा बसूँ मन मान्दैन, महिलाको लाइनमा बसूँ तन मान्दैन, बीचमा बसूँ स्वयंसेवक मान्दैन', सर्वनाम थिएटरमा अहिले चलिरहेको नाटक ‘जिउँदो आकाश'को एक दृश्यमा बोलिएको यो संवादमा महिला वा पुरुष नहुनुको पीडा भेटिन्छ । संसारमा जे जति प्राणी जन्मन्छन्, कुनै पनि प्रकृतिविपरीत छैनन् । तर, तीमध्ये केहीलाई समाजले स्वीकार गर्दैन । सामाजिक अस्वीकारोक्तिले जन्माएको पीडा नै नाटकको मूल विषय हो ।
मञ्चमा गौरवको परिचय गरिमामा परिणत भएको छ । कहिले उसका चञ्चले बानीले पेट मिचीमिची हँसाउँछन् त कहिले उनका गहिरो पीडाले मनै चसक्क बनाउँछन् । हास, परिहास र संवादबीच उनको तेस्रोलिंगी पीडा प्रस्तुत गरिएको छ । नाटकको मूल पात्र हुन् गौरव । शरीरले गौरव भए पनि उनको आत्मिक अनुभूति भने गरिमाको छ । शरीर पुरुषको, चाहना महिलाको । सानोमा साथीहरूसँग खेल्दा मिस बन्न, बेहुली बन्न मन पराउने उनी नारीजन्य स्वभावका छन् । बालापनमा त जे गरे पनि राम्रो ।
त्यसलाई कसले गहिरिएर ध्यान दिन्छ र ? विस्तारै चढ्दै गएको जवानीले पनि युवतीको जस्तै चाहना राखेपछि अप्ठेरो सुरु हुन्छ गौरवलाई । उनको चाहना कसैले बुझ्दैन । केटी साथीहरूसँग हिँड्ने गौरवले केटालाई प्रेम गर्न थाल्छन् । उनको प्रेम अरूको भन्दा भिन्न छैन । उत्तिकै चोखो, उत्तिकै उत्साही, उत्तिकै प्रेमिल, उत्तिकै गुलाफी । त्यति नै चोखो, त्यस्तै उत्साह । नाटकको एउटा रमाइलो पाटो हो यो । प्रेममा चुर्लुम्म डुब्दा प्रेमपत्रमा लेखिएका रमाइला सायरी र प्रेम स्वीकार हँुदाको उत्साहले नाटकलाई रंगीन मोडमा पुर्याइदिन्छ । प्रेममा गहिरिँदै जाँदा भएको शारीरिक मिलनले उनको जीवनलाई रंगीन बनाइरहेको बेला प्रेमीले चटक्कै छोडिदिन्छ । कारण, उही समाज ।
समाजले नै बन्देज लगाएको छ, तेस्रोलिंगीलाई मान्छे भएर बाँच्न । उनको प्रेमी पनि यही समाजको पात्र थियो । समाजकै कारण परिवारले अस्तित्व स्वीकार्दैन, जागिर खोज्न जाँदा त्यही दुव्र्यवहार बाँच्ने आधार कहीँ छैन । आत्महत्याको प्रयास पनि गर्छ । आमाको आँसुले त्यसलाई पनि रोकिदिन्छ । समाज र परिवारका लागि आफ्नो चाहना दबाएर पुरुष बनेर बिहे गर्न बाध्य हुन्छन् गौरव । श्रीमतीको चाहना पूरा गर्न नसक्दाको अर्को दुःखद पल । पलपलमा पीडा कस्तो गह्रुँगो जिन्दगी । ढुंगै मन भएका पनि यो दृश्य देख्दा पग्लन्छन् । अधिकांश दर्शकका आँखा रसाउँछन् ।
ब्लु डायमन्ड सोसाइटीकी भूमिकाले आफूलाई सम्हाल्नै सकिनन् । उनका आँखाबाट खसेका आँसुले उनको गहिरो पीडा झल्काइरहेको प्रस्ट बुझ्न सकिन्थ्यो । आफ्नो पीडालाई थोरैमात्र स्मरण गर्दा त मन भक्कानिएर आउँछ । आफ्ना सबै संघर्ष आँखैअगाडि कसैले देखाइदिए कसरी सहन सकिन्छ र?
नाटक हेरिरहँदा कसैले अभिनय गरिरहेको जस्तो लाग्दैन । सबैले आफ्नो साँचो कथा बताइरहेजस्तो लाग्छ । अनिल सुब्बाले चरित्रलाई सर्लक्कै अँगालेका छन् । उनको अनुहारको अभिव्यक्ति, शारीरिक हाउभाउ, चालढाल हेर्दा कतै लाग्दैन एक पुरुषले अभिनय गरिरहेको छ । अनुहार हेर्दा र स्वर सुन्दा पुरुषजस्तो लाग्छ, शृंगार र चालढाल हेर्दा महिलाजस्तो लाग्छ । फ्रक र सुरुवाल लगाएको अनिलले आफूलाई चरित्रमा पूरै समर्पित गरेका छन् ।
ब्लु डायमन्ड सोसाइटीकी भूमिकाले आफूलाई सम्हाल्नै सकिनन् । उनका आँखाबाट खसेका आँसुले उनको गहिरो पीडा झल्काइरहेको प्रस्ट बुझ्न सकिन्थ्यो ।
कलाकारहरू कसरी चरित्रमा भिजेका छन् भने नाटक सकिएर मञ्चमा आउँदा पनि अनिलका आँखाबाट आँसु रोकिएका थिएनन् । भूमिका स्तब्ध भइन् । बोल्न खोज्दा आँसुमात्र झरिरह्यो । बल्लबल्ल भनिन्, ‘मैले यस्तै अवस्था भोगेकी थिएँ ।' मञ्चको एक छेउमा स्ट्यान्डमा पुरुषको ज्याकेट झुन्ड्याइएको छ । स्ट्यान्डको माथिपट्टि पहेँलो बत्ती बल्ने बल्ब । अर्को छेउम पिँजडाभित्र थुनिएको चरा । नाटकको अन्त्यमा पुगेर गरिमाले चरा उडाइदिन्छिन् । प्रप्सको रूपमा प्रयोग गरिएको पपेट अर्को सुन्दर पक्ष हो । नाटकमा प्रयोग भएको संगीत, त्यसमा पनि सारंगीले अनिलको अभिनयमा मिठास भरेको छ।
डाँफे थिएटरको पहिलो प्रस्तुति यो नाटक चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् । रंगकर्मी आरके मेहता रोशनलाई यो विषयमा काम गर्ने चाहना दुई वर्ष अघिदेखि भएको बताए । ‘किन यस्तो म ? ' नाटकमा तेस्रोलिंगीको भूमिकामा काम पनि गरे उनले । तर, त्यो नाटक चाहेजति विषय उठान गर्न पर्याप्त थिएन । त्यसैले यो नाटक जन्मियो । उनका अनुसार नेपालमा तेस्रोलिंगी विषयमा नियमित मञ्चन गरिएको यो पहिलो नाटक हो । अग्रज रंगकर्मी अशेष मल्ल त यसलाई यो दशककै उत्कृष्ट नाटक भएको दाबी गर्छन् ।
‘म हुँ प्रकृति । मलाई बाँच्न देऊ' । ब्रोसरको भित्री पानामा लेखिएको कलाकार अनिल सुब्बाको यही भनाइले नाटकले के खोजिरहेछ भन्ने प्रस्ट पार्छ ।