महिला कहिलेसम्म उल्लु बनि रहने?

महिला कहिलेसम्म उल्लु बनि रहने?

उहिलेको कुरा खुइले नभन्ने हो भने साउनमा साउनेसक्रान्ति नै विशेष हो । साउनका बाँकी दिनमा त्यस्तो सम्झनायोग्य गतिविधि, पहिरन, कस्मेटिक्स इत्यादि केही हुँदैनथे । साउन लाग्यो भनेर आमा अथवा छिमेकी महिलाले कुनै रङ विशेषका लुगा लगाएको मलाई सम्झना छैन । असार सकिए पनि रोपाइँको मेलो सकिएको हुँदैनथियो । हुद्दा, पर्म लगाएर गरिने रोपाइँले मैजारो हुन्जेलसम्म साउनको दस बाह्र टेक्थ्यो । सक्रान्ति त हल गोरु र खेताला सबैले थकाइ मार्ने दिन हुन्थ्यो ।

गाउँमा पाए, भेटे खसीको मासुसमेत पाक्थ्यो घरमा । हजुराँको परिपाठिलो हातबाट बनेका फुरौला र सेल त खाइन्थ्यो नै । हातभरि तिउरी दलिन्थ्यो र रातभरि गरिन्थ्यो त्यही तिउरीलाई नलत्पत्याई जोगाउने यत्न । कुनै कालिगढीबिना यत्तिकै थुपारिएको तिउरीले हत्केला रातै-रातै हुन्थो, बस् । यही थियो ‘साउन सेलिब्रेसन' । तिउरी रोपाइँभर हिलोले घाउ पारेर घिनाएका हातगोडाको ओखतीसमेत हुन्थ्यो ।

मधेसमा मेहेन्दी नौलो त होइन । घरैमा मेहेन्दीको दुई मान्छेबराबर अग्लो बुटो थियो । यसका पात टिपेर ढुंगामा मिहिन बनाई पिँधेर लगाउन हामी केटाकेटीलाई खुब रमाइलो लाग्थ्यो । खै किन, सक्रान्तिको दिनमा भने तिउरी नै लगाइन्थ्यो । स्मृतिमा लुतो फाल्ने विधि उति स्पष्ट छैन तर सधियार, छिमेकीलाई ‘ओई फलाना लौ लुतो लैजा !' भन्दै अगुल्टो मिल्काएको भने याद छ ।

रमाइलो के हुन्थ्यो भने यसरी आफूले मिल्काएको अगुल्टोको जवाफमा उताबाट पनि उस्तै अगुल्टा आइलाग्थे । यस रीतले लुतोलगायत फ्याँकिएका सबै कल्पित विकारहरू आफैंतिर फर्केर आइपुग्थे । बर्खाभरि हिलामा डुबेर खेतको काम गर्दा लागेका छालाजन्य रोग निको होऊन् भन्ने आशय होला । तर यसरी फालेर लुतो फ्याँकिन्न भन्ने थाहा हुँदाहुँदै हामीले किन त्यत्रो भाँती गरेर लुतो फाल्ने परम्परा निर्वाह गर्थ्यौ होला ? पुस्तौंदेखि गर्दै आएको चलनको निरन्तरता नै हुँदो हो ।जे होस्, हामी बालखै छँदाको प्रसंग हो । बडो रमाइलो लाग्थ्यो ।

साउनको महिनाभर सडकमा पीत वस्त्रधारी मानिसहरू लर्को लागेरै हिँड्थे । कोही रामनामी ओढेका । कोही सर्वांग पूरै पहेँलैपुर लुगा लगाएका । तिनका काँधमा बाँसको भार हुन्थ्यो । भारका दुवैपट्टि कलश झुन्डिएका हुन्थे । तिनको ओठमा भने ‘बोलबम् बोलबम् !' झुन्डिएको हुन्थ्यो । ती मानिसहरू कुन संसारबाट आएका हुन् र कहाँ पुगेर फर्किन्छन् ? म जान्दिनथेँ । यस्ता यात्रीको लस्कर नौलो र अघिपछि भन्दा फरक हुने भएरै हो, सडकमा निस्केर टाढा पुगिन्जेलसम्मै तिनीहरूलाई हेरिन्थ्यो । साउनमा देखिने फरक दृश्य यही हुन्थ्यो ।

कृषि संस्कृतिमा हुर्किएका हामीमध्ये प्रायः सबैलाई साउनको महत्वव थाहा छ । हामीकहाँ धानको खेती विशेष सतर्कतासाथ गरिन्छ । मानोले मुरीको सपना हुर्काउने साउनको महिमा किसानले भन्दा बढी कसले जान्ला ? तर किसानलाई साउनको अलग्गै उत्सव मनाउने छुट्टी हुँदैन । सधैं बाढीको त्रास र पहिरोको त्राहिमाम्मा पनि हत्केलामा प्राण राखेर बाँच्ने श्रमजीवी हो किसान ।

कृषिमा आधारित परम्परित अर्थतन्त्रमा साउन विशेष महिना हो । मेघपछिको वर्षा र छताछुल्ल पानीले धनी भएको प्रकृतिमा किसानका आर्थिक योजनाहरू वातावरणजस्तै हराभरा बन्छन् । प्रकृतिका गोचर दृश्यहरू जति सुन्दर देखिन्छन् प्रकृतिसँग धुलिँदै मैलिँदै जिन्दगी बिताउनेका कष्ट प्रायः देखिँदैनन् । बाहिरबाट सुन्दर दृश्यावली मात्र खोज्नेले त्यो देख्दैनन् । त्यसैले हरित सौन्दर्यका पारखीले हेक्का राख्नुपर्ने हुन्छ, साउन हरियो र रम्यमात्र हुँदैन । त्यहाँ कठोर झरीबादल पनि हुन्छ । बाढी, पहिरो हुन्छ । असिना र पानी हुन्छ । र, यिनैसँग लड्दैभिड्दै जीवनका सपना साँच्नेको अदृश्य कहानी हुन्छ ।
०००


जसरी गृहस्थ जीवन, धर्मकर्म र पारिवारिक संस्कार धान्ने महिलालाई आदर्श रूपमा प्रस्तुत गर्ने सिकाइ पुरुष सापेक्ष सिकाइ हो, त्यसरी नै फेसन र ‘ब्युटी कन्सस' अत्याधुनिक महिलाको चित्र पनि पुरुष नियन्त्रित बजारकै उपज हो ।

साउनलाई महादेवको महिना भनेर साउने सोमबारको व्रत बस्ने गरिन्छ । यो व्रत बस्ने चलन पहिले पनि थियो तर केही वर्षयता आएर यो ‘भाइरल' जस्तो बनेको छ । रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यमहरू यो व्रतका महात्म्य बखानेर थाक्दैनन् । हुँदाहुँदा कलेज र स्कुल पढ्ने नानीहरूलाई पनि व्रत बस्न प्रेरित गरिन्छ । हामी केटाकेटी छँदा आजको जस्तो रंगीचंगी ‘कस्मेटिक' व्रत हुन्थेन । व्रत बस्नेले साउनभरि माछामासु खान हुन्न भन्ने त्यस्तो कडाइ पनि भए जस्तो लाग्दैन । र, मुख्य कुरा नयाँ पुस्ताका पढेलेखेका महिलाले यो व्रतप्रति साह्रै रुचि राखेको म सम्झन्नँ । मेरो घुर्मैलो स्मृतिमा ‘सँबारे व्रत' त छ तर मैले सम्झेसम्म हाम्रा आमाहरू यस्तो प्रदर्शनमुखी व्रत बस्दैनथे ।

साउन कृषिजन्य अर्थतन्त्रसँगमात्र होइन अब सिधै कस्मेटिक बजारतन्त्रमा जोडिने महिना भएको छ । त्यसो त साउन हराभरा महिना हो नै तर यसलाई बजारकै अर्थमा हरियो महिना भन्न थालिएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिका र छापाहरूले यो वा त्यो रूपले साउनमा झलमल्ल बल्ने हरियो बजारको प्रवद्र्धन गर्छन् । यो बजारले सौन्दर्य मिथको बाटो पक्रेर आजका महिलाको दिमागमा साम्राज्य जमाएको छ । कहाँबाट पस्यो त हरियो बजार ? यसको उत्प्रेरक को हो ? यसका सञ्चालक को हुन् ?

साउनमा विवाहित महिलाले हरिया चुरा, हरियो वस्त्र, पोते आदि लगाएर व्रत बसे महादेव प्रसन्न हुन्छन् । त्यस्ता महिलाका पति दीर्घायु र निरोगी हुन्छन् । अविवाहितले त्यसो गरे योग्य र चाहेको वर प्राप्त हुन्छ भन्ने अन्धविश्वासको कमजोर बाटो समातेर आए पनि बजारमा मेहेन्दी, पोते र चुराको व्यवसाय भने फलिफाप छ । यसका डिलरदेखि बिक्रेतासम्मको कमाइ अरू महिनाको भन्दा धेरै गुणा बढी हुने भइहाल्यो ।

यसरी धर्म र व्रतको पासा फ्याँकेर महिलाका मनोविज्ञानमाथि बुर्कुसी खेल्दै उँभो लागेको बजारले प्रतिमहिला न्यूनतम सयका दरले कति व्यापार गर्ला ? तर अझ भयावह त यसले कति महिलालाई लहैलहैमा सुझ न बुझसँग दगुर्ने, तर्कविहीन, प्रश्नविहीन र पुरातनपन्थी बनाउँदै छ ? कलेज पढ्ने ठिटीहरू र स्कुले किशोरीहरूलाई समेत कसरी पुरुषवादी संस्कृतिको दास बनाउँदै छ ? हामीले नबुझी नहुने विषय यो हो ।

सामान्यतः पुरुषका तुलनामा महिला आफूलाई राम्रो र आकर्षक देखाउन धेरै मेहनत गर्छन् । यसमा सौन्दर्यसम्बन्धी अनेक प्रकारका परम्परित मिथकहरू जोडिएर आउँछन् । रूपवती र कमनीय हुनुलाई महिलाको शक्ति ठान्ने शास्त्रीय मान्यता भत्किएको छैन । पुँजीवादी संस्कृतिको विकाससँगै यो मान्यता झन् नयाँनयाँ तरिकाले विकसित भइरहेको छ । यही मान्यताले महिलामा पुरुषलाई कसै गरेर खुसी तुल्याउने, उसलाई आफ्नो प्रभावबाट बाहिर जान नदिने मनोविज्ञान हाबी बनाइदिन्छ । यसो किन हुन्छ भन्ने खोज्दै जाँदा कुरो फेरि पितृसत्तात्मक शक्ति संरचना र आर्थिक सुरक्षामै पुग्छ । आफूलाई झन् रूपवती देखाउन या रूपजन्य कमीको पूर्तिका लागि महिला कृत्रिम प्रसाधनको पछि लाग्छन् । सांस्कृतिक मनोविज्ञानको संरचनात्मक पक्ष नबुझी यसमा महिलालाई मात्रै दोष दिनु गलत हुन्छ ।

यद्यपि छाला र आवरणको कृत्रिम सौन्दर्यलाई तुच्छ सावित गरेर आत्मबल र क्रियात्मक सामथ्र्यबाट अग्लिएका महिलाले सौन्दर्यसम्बन्धी मिथकलाई भत्काउने कोसिस नगरेका होइनन् । समाजमा यस्ता महिलाको संख्या पनि उल्लेख्य छ । तर, आधुनिक दुनियाँमा सौन्दर्य प्रसाधन र फेसनको बजार यति ठूलो छ, त्यसले बाँकी सबै कुरालाई कमजोर देखाइदिन्छ । जबसम्म हामी आफैं सचेत र सतर्क हुँदैनौं, बजारको तिरिमिरीले आँखा यस्तरी घुमाइदिन्छ कि बजारबाहेक अरु कोही सत्य बोलेजस्तो देखिन्न । उसो त यति फिँजारिएको विशाल बजारमा चुरा पोते र मेहेन्दी सामान्य लाग्छन् तर यिनै सामान्य वस्तुको खालमा थापेर मालिकहरूले चलाएको खेला सामान्य हो भन्न सकिने किसिमको छैन । यो तिरिमिरी खेललाई जरैदेखि बुझ्न जरुरी छ ।
०००

पछिल्लो समय खासगरी साउने बजारको भाइरलले नेपाली महिलाको सरदर मनोविज्ञानमा जसरी डेरा जमाएको छ यो गम्भीर विषय हो । हाम्रो पारिवारिक र सामाजिक सिकाइले महिलालाई सधैं आज्ञापालक र सहनशीलमात्र होइन मूर्ख र बेवकुफसमेत बनाउँदै ल्याएको छ । जसरी गृहस्थ जीवन, धर्मकर्म र पारिवारिक संस्कार धान्ने महिलालाई आदर्श रूपमा प्रस्तुत गर्ने सिकाइ पुरुष सापेक्ष सिकाइ हो, त्यसरी नै फेसन र ‘ब्युटिकन्सस' अत्याधुनिक महिलाको चित्र पनि पुरुष नियन्त्रित बजारकै उपज हो । यतिखेर तथाकथित साउन महात्म्यमा परम्परित सिकाइ र आधुनिक बजारयन्त्र दुवै प्रयोग गरेर महिलालाई हदैसम्म मूर्ख बनाइँदै छ । यो मेसोमा बडो अद्भुत तरिकाले बजारले घरेलुपनको बिम्ब समात्न सफल भएको छ र गाउँसहर जताततैका महिलालाई बेवकुफ बनाएर अकुत व्यापार गरेको छ ।

एकातिर महादेवको ब्रत । अर्कोतिर हरियै पहेँलै बजारको चकाचक झिलिमिली । देख्दा धार्मिक र प्राकृतिक उत्सव तर यसको भित्री पाटोमा उत्पादक कम्पनीदेखि डिलर र खुद्रा विक्रेतासम्मको नाफाखोरहरूको जालो । बुझ्नुपर्ने कुरो के हो भने बजारमा भाइरल बनेका हरिया चुरा पोते, मेहेन्दीलगायतका सामग्री देशभित्र बन्दैनन् । यी सबै सामग्री अन्यत्रैबाट आयात हुन्छन् । यिनका उत्पादक कम्पनीहरू भारत र तेस्रो मुलुकका हुन् ।

अब सोचौं, एउटा साउनको महिनामा मात्रै बजारको हौवाका पछिपछि दगुर्दा कति ठूलो रकम बाहिरिएर जाँदोरहेछ । हुन त सवारीका सबैखाले साधन, विद्युतीय सामग्रीदेखि रक्सी, चुरोट, इन्धन र लत्ता कपडामात्र होइन अत्यावश्यक खाद्यसामग्रीसम्म आयात गर्ने मुलुकमा बसेर चुरापोते र मेहेन्दीको के कुरा गर्नु पनि भन्न नसकिने होइन । तर, बजारले भन्दैमा आफ्नो कान नछामी कागको पछि दगुर्ने हामी महिलाहरू कसरी लाइन लागेर मूर्ख बन्न उभिन्छौं भन्ने मुख्य हो । बजार बडा बाठो छ । यसलाई हाम्रा मुर्खताहरू थाहा छ । हाम्रा कमजोरीहरू पनि थाहा छ । तर, हामीलाई थाहा छैन, हरिया चुरा, पोते या मेहेन्दीको पासो त फगत माध्यममात्र हो । हामीलाई पितृसत्तात्मक संरचना र सोचबाट बाहिर निस्कन नदिने । त्यहीं लुटुपुटु बनाएर एकबारको जुनी सिध्याइदिने ।

हरियो बजार अन्ततोगत्वा पुरुष श्रेष्ठताको विचारधाराकै प्रवद्र्धक हो । महादेवको व्रत र उपासनासँग गाँसिएको आख्यानको पुच्छर समाउँदै लोग्नेको आयुष्य र आरोग्यका खातिर भनेर हरिया मालमत्ता बिकाउने बजारका लागि हामी यस्ता ‘ज्ञानी'उपभोक्ता हौं जो बिना प्रश्न, बिना तर्क केवल उपभोगमात्र गर्छ । महिलाको मनोविज्ञानका नशानशा छामेर पाइला चाल्ने हुनाले नै पुँजीवादी बजारशास्त्र यति चलायमान छ । यसले हल्ला गर्न जान्दछ । यो मिडिया र सामाजिक सञ्जालको प्रयोग गरेर लक्षित वर्गलाई उल्लु बनाउने कलामा पारंगत छ ।

अब पनि हामी उल्लु बनिरहने कि हाम्र्रो सोच बदल्न प्रतिबद्ध हुने ? हरियो प्रेमको रङ हो । जीवनको रङ हो । यो रङले स्वच्छता, स्फुर्ति र सकारात्मक ऊर्जा दिन्छ । सासमा नयाँ ताजापन र आँखाको दृश्यमा गहिरो शान्ति दिन्छ । हरियो रङलाई जीवन र विचार दुवैको उर्वरताको प्रतीक मानिन्छ । यसको प्राकृत महत्ववलाई निस्तेज गर्दै महिना विशेषसँग जोडेर जब गलत विचारको व्यापार फस्टाउँछ, तब हरियो रङका शुद्ध आभासहरू ओझेलमा पर्छन् । र, यसरी हरियोविरुद्ध उभिनुपर्ने हुन्छ । तर खासमा, मेरो मन पर्ने रङ हरियो नै हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.