चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ: नेता थापा
भक्तपुर: नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताएका छन्।
आज प्रजातान्त्रिक योद्धा, समाजसेवी एवम नेपाली काँग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको दशौँं स्मृति दिवसमा बोल्दै थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोधनलाई आजै टुंग्याउने तयारी भइरहेको बताए।
उनले अनशनरत डा गोविन्द केसीको माग पूरा गर्नुपर्नेमा जोड दिँदै विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले चासो दिइरहेको बताए। कार्यक्रममा उनले स्थानीय गणेश प्रावि बालकोटका ५७ जना बालबालिकालाई पोशाक, झोला एवम् स्टेशनरी सामान वितरण गर्नुभएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले बताए।
प्रतिष्ठानका अध्यक्ष कार्की, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, सांसद रामेश्वर ढुंगेल, पूर्व सांसद लेखनाथ न्यौपानेलगायतले प्रजातन्त्र स्थापनाका लागि कार्कीले पुर्याएको योगदानको चर्चा गरे। सो कार्यक्रममा भएको रक्तदानमा एक सय ५१ जनाले रक्तदान गरेका थिए। रासस