महाकुलुङ गाउँपालिकाका सात घर विस्थापित, ३० घर जोखिममा
सोलुखुम्बु: हुँगा नदीको कटानका कारण शुरु भएको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ बुङका सात घरपरिवार विस्थापित भएका छन्।
पहिरोका कारण स्थानीय रामबहादुर बस्नेत, नारायणकुमार बस्नेत, प्रेमकुमार बस्नेत, लक्ष्मण बस्नेत, ताराकुमारी बस्नेत, कुमारी बस्नेत र पदमबहादुर बस्नेतको घर बगाएका कारण उनीहरुको परिवार विस्थापित भएका हुन्।
उनीहरु अहिले छिमेकीकोमा आश्रय लिएर बसेका महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले जानकारी दिए। त्यहाँका अरु ३० घर पहिरोको उच्च जोखिममा परेका छन्।
गत वर्ष पनि जोखिममा बसेका त्यहाँका बासिन्दाको यस वर्ष भने घरबास नै बगाएको हो। सो ठाउँमा गत हिउँदमा समेत सुक्खा पहिरो झरेको थियो। घर बगाएका अरुको शरणमा रहेको र घर जोखिममा भएकासमेत रात बिताउन अरुको घर तथा गोठको साहारा लिन थालेका छन्। रासस