अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सरकारले अघि बढाउने बताएका छन्।

नेपाली काँग्रेस, भोजपुर-काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले भने, 'अरुण तेस्रो आयोजनाको निर्माण कार्य चाडै नै अगाडि बढाउने दिशामा सरकार अग्रसर भएको छ।'

अर्थमन्त्री कार्कीले अरुण तेस्रो आयोजना प्रारम्भ भएपछि त्यसबाट अर्बमा हैन खर्बको लगानी मुलुकमा भित्रने बताउँदै 'मुलुककै अर्थतन्त्रलाई राष्ट्रिय रुपमा दिगो प्रभाव पार्ने तीन आयोजना अरुण तेस्रो, माथिल्लो कर्णाली र तामाकोशी आयोजना बनेका थिए, तीमध्ये क्षेत्रीय र सन्तुलित विकासका दृष्टिोकणले महत्व बोकेका अरुण र कर्णाली आयोजना दश वर्षदेखि अलमलिएको अवस्थामा छन्, अब ती आयोजनालाई अहिलेको सरकारले गति दिदैंछ,' भने।

अरुण तेस्रो आयोजना कार्यान्वयन गर्नसकेको खण्डमा पूर्वाञ्चलको मात्र नभइ मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्दै उहाँले लगानी बोर्ड र भारतीय सरकारको स्वामित्वको सतलज जलविद्युत् कम्पनीबीच-९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना विकास सम्झौता (पीडिए)भइसकेको जानकारी दिए।

संखुवासभा र भोजपुरको सिमानामा पर्ने उक्त आयोजनाको कुल अनुमानित लागत रु एक खर्ब चार अर्ब लाग्ने बताइएको छ।अर्थमन्त्री कार्कीले माघ ७ भित्रै प्रदेश र केन्द्रको निर्वाचन गरेर मुलुकलाई राजनीतिक स्थिरता दिई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउने वर्तमान सरकारको मुख्य कार्यभार भएको बताउँदै जलस्रोत, पर्यटन र कृषिको अथाह सम्भावना भएको मुलुकलाई अवसरको रुपमा प्रयोग गरेर मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन सरकारले त्यसको आधार तयार गरिरहेको बताए।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो पुर्खौली जन्मथलो भोजपुरको समग्र विकासका लागि आफू सदैव सक्रिय रहने बताउँदै सुनसरीको धरान-चतारादेखि भोजपुरसम्मको सिधा सडक बाटो जोड्नसके भोजपुरको समृद्धिको बाटो खुल्ने र यसका लागि सबै पक्षको पहल चाहिने खाँचो औँल्याए।

भोजपुरको उत्तरी क्षेत्रमा उत्पादन हुने पवित्र रुद्राक्षको आधिकारिक व्यापारका लागि नेपालबाट निर्यात हुने वस्तुको सूचीमा रुद्राक्षलाई सूचीकृत गरिने बताउँदै उनले अन्तर्राष्ट्रिय व्यापारका लागि यहाँ प्रशोधन केन्द्र बनाएर यसको गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरण गरिने जानकारी दिए।

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले भोजपुर र सुनसरी जोड्नेगरी रुद्राक्षको व्यापार प्रवद्र्धन गर्ने वाणिज्यमन्त्रीको काम प्रशंसनीय रहेको र यसले जिल्लाको विकास र छविलाई उचो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री उमेशजंग रायमाझी, भोजपुर सडानन्द नगरपालिकाका प्रमुख वीरबल राई र नेत्री लक्ष्मी राईले पार्टीलाई एकताबद्ध बनाई जिल्लाको विकास र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए। भोजपुर-काठमाडौँ समितिका अध्यक्ष एवं अधिवक्ता केदार कार्कीले मुलुकको विकासका लागि विदेशी लगानी महत्वपूर्ण रहेको भन्दै समग्र विकासका लागि विदेशी लगानी भित्र्याउन नीतिगत व्यवस्था जरुरी भएको धारणा व्यक्त गरे।

सो अवसरमा समितिले भोजपुर जिल्लाबाट मन्त्री बन्नुभएका अर्थमन्त्री कार्की र वाणिज्यमन्त्री विश्वकर्मा तथा भोजपुर नगरपालिकाका विजयी प्रमुख कैलाश आले, षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, अरुण गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर कार्कीलगायतलाई सम्मान गरिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.