खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु
रौतहट : रौतहटको गरुडा नगरपालिकामा सडक निर्माणका क्रममा माटो निकाल्दा बनेका खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार बालिकाको मृत्यु भएको छ । गरुडा-४ स्थित इलाका प्रहरी कार्यालयनजिकै गौर-चन्द्रनिगाहपुर सडक खण्डछेउको ठूलो खाल्डोमा जमेको पानीमा डुबेर ती बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा गरुडा-४ का १२ वर्षीया सुनिता साह, ९ वर्षीया संगीता साह, ९ वर्षीया नै सुनैना साह र सोही उमेरकी सुस्मिता साह छन्। घाँस काट्न गएका उनीहरू दिउँसोसम्म पनि घर नफर्केपछि खोजी गर्दा पानीमा डुबेको अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले जानकारी दिए ।
सडक निर्माणका क्रममा छेउछाउमा बनेका खाल्डो नपुरेका कारण पानी जमेपछि बालबालिकाका साथै चौपाया डुब्ने गरेको स्थानीयको गुनासो छ। विभिन्न ठाउँका सडक निर्माणका बेला छेउमा माटो निकालिएको थियो। माटो निकाल्दा बनेका खाल्डा पुर्न स्थानीयले माग गरेका छन् ।