‘एमाले निषेधित मधेस’ भन्नेहरु चुनावमा बढारिन्छन् : पोखरेल
जनकपुरधाम : मधेसमा निकै विरोध खेपेको एमालेले शनिबार जनकपुरमा वृहत्त कार्यकर्ता भेलाको आयोजना गरी आफ्नो प्रभाव देखाएको छ।
एक सातादेखिको तयारीपछि स्थानीय उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको प्रदेश नम्बर २ स्तरीय वृहत्त कार्यकर्ता भेलामा देखिएको उपस्थितिले एमालेको प्रभावको पुष्टी गरेको थियो।
भेलालाई सम्बोधन गर्दै पार्टी महासचिव ईश्वर पोखरेलले एमालेलाई मधेसमा निषेधित भनी प्रचार गर्नेहरु तेस्रो चरणको निर्वाचनमा जनताद्धारा बढारिने दाबी गरे। पोखरेलले भने, ‘जनतालाई नक्कली कुराहरु भनेर उचाल्नेहरुलाई जनताले नै जवाफ फर्काउनेछन्।
संविधान संशोधनको विषयमा जनतालाई झुठा कुराहरु भन्दै एमाले विपक्षमा रहेको भनी भ्रामक प्रचारबाजी कांग्रेस र राजपाका नेताहरुले गर्दै आएको पोखरेलको भनाई थियो। उनले भने,‘संशोधनमा भाषाका विषयलाई समावेश गरिएको छ ।
नेपालका मौलिक भाषालाई धरापमा पारेर विदेशको हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिलाउन खोजिएको अवस्थामा यसको विरोध गर्दा एमालेलाई मधेस विरोधी भनि प्रचार गरिएको हो।’
‘विश्वमै अंगिकृत नागरिकताधारीलाई राष्ट्रको प्रमुख पद नदिने गरिएको थुप्रै उदाहरण रहेको अवस्थामा नेपालमा अंगिकृत नागरिकता बाहेकलाई सर्वोच्च पदमा स्थापित गर्ने मांग गर्दा यसको विरोधमा उत्रिएको एमालेलाई मधेसी विरोधी भन्नु कतिको जायज हो ?’ पोखरेलले प्रश्न गरे।
उनले भने, ‘मधेसमा जन्मेको एमालेलाई मधेस विरोधी र अन्य थुप्रै गलत शब्दावली प्रयोग गरी जनतामा भ्रम छर्नेहरुले निर्वाचनमा जवाफ पाउने छन् ।’
त्यसैगरी कार्यक्रममा सहभागी एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले कांग्रेसको चुनाव चिन्हलाई लक्षित गर्दै भने,‘बुढो भईसकेको रुखमा चढेर उभिन खोज्ने राजपा तल झर्ने सम्भावना प्रबल छ ।’
कांग्रेसले राजपालाई उचालेर एमालेको विरुद्ध प्रयोग गरिरहेको हुनाले यसप्रति मधेसवादी दलका नेताहरु सचेत हुनुपर्ने भट्टराईको भनाई थियो। एकातर्फ मधेसमा मोर्चा र गठबन्धनलाई उचालेर आगो लगाउने र अर्को तर्फ काठमाडौंमा सरकारलाई उचालेर मधेसी जनतामाथि गोली चलाउन लगाउने दोहोरो चरित्र देखाउने कांग्रेसीहरुसंग सचेत रह्न सचिव भट्टराईले मतदातालाई आह्वान गरे। उनले भने,‘एमाले र राजपा एक भई मधेसको हितका लागि निर्वाचनमा भाग लिनु उपयुक्त हुने छ ।’
दुई चरणको निर्वाचनमा देशमा पहिलो पार्टीको रुपमा स्थापित भएको एमालेले तेस्रो चरणमा पनि आफ्नो उपलब्धी जोगाउने हरसम्भव प्रयास गर्ने उनको भनाई थियो।
भेलामा प्रदेश नम्बर २ का आठै जिल्लाका नेता कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो। एमालेमाका वैकल्पिक पोलिटब्यूरो सदस्य शत्रुधन महतो, रघुबिर महासेठ, श्रीप्रसाद साह लगायतका नेताहरुले भेलालाई सम्बोधन गरेका थिए ।