चार इरानी ‘इन्ट्री रिफ्युज’
काठमाडौं : स्पेनको नक्कली राहदानीमा नेपाल प्रवेश गर्न खोज्ने चार इरानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फिर्ता (इन्ट्री रिफ्युज) गरेको छ ।दुई छोरीका साथ स्पेनको नक्कली राहदानीमा नेपाल प्रवेश गर्न खोज्ने एक दम्पतीलाई अध्यागमन कार्यालयले पक्राउ गरी एक रात विमानस्थलमै राखी शुक्रबार फिर्ता गरेको हो ।
स्पेनको राहदानीमा किन नेपाल आए भन्ने स्पष्ट नभए पनि उनीहरू केही दिनको नेपाल बसाइपछि जर्मनी जाने तयारीमा रहेको स्रोतले बताएको छ । फ्लाई दुबईबाट नेपाल आएका उनीहरूले विमानस्थल अध्यागमनमा स्पेनको नक्कली राहदानीमा आगमन छाप (अराइभल) लगाउने प्रयास गर्दा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इपेम सेफ, अब्लोग होसेम, अल माहदी अबेइ र फरबिन रहेको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल अध्यागमन अधिकारीसँगको सोधपुछक्रममा उनीहरूले प्रतिपासपोर्ट १३ हजार अमेरिकी डलरमा स्पेनको पासपोर्ट खरिद गरेको बताएका थिए । पछिल्लो समय विभिन्न मुलुकका नक्कली राहदानीमा नेपाल हुँदै युरोपेली मुलुक छिर्न खोज्ने इरानीको संख्या बढेको छ ।
अध्यागमन विभागको हिरासतमा अहिले तीन जना इरानी छन् । तीमध्ये इजरायलको नक्कली राहदानीमा आएका दुई जनालाई गृह मन्त्रालयले निष्कासन गर्ने तयारी गरेको छ भने हराएको अमेरिकी राहदानी प्रयोग गर्ने अर्का एक जना इरान नफर्कने अडानमा छन् ।
मानव तस्करले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा फितलो भएको र नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट युरोपेली मुलुक सजिलै जान सक्ने बताएपछि उनीहरू नेपाल हुँदै जर्मनी जान लागेका थिए । मानव तस्करले नेपालको अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युरोपेली मुलुक छिर्न सजिलो र अन्य मुलुकका विमानस्थलको तुलनामा सुरक्षासमेत खुकुलो भएको बताएपछि उनीहरूको रोजाइमा नेपाल परेको हो ।
दुई छोरीका साथ स्पेनको नक्कली राहदानीमा नेपाल प्रवेश गर्न खोज्ने एक दम्पतीलाई अध्यागमन कार्यालयले पक्राउ गरी फिर्ता गरेको हो ।
विमानस्थल अध्यागमनमा इरानको राहदानी लुकाएर उनीहरूले नक्कली स्पेनको पासपोर्टमा आगमन अनुमित लिन खोजेका थिए । इरानी नागरिकलाई युरोपेली मुलुकले शंकाको घेरामा राखेको र इरानीलाई सजिलै प्रवेशज्ञा (भिसा) समेत नदिने भएकाले स्पेनको नक्कली राहदानीमा जर्मनी जान लागेको उनीहरूले बताएका छन् ।
शारीरिक रूपमा अशक्त रहेका इरानी पुरुषलाई विमानस्थलमै चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए । चिकित्सकले ती पुरुषको स्वास्थ्य समस्या भएको र अस्पतालसमेत भर्ना गर्नुपर्ने सम्भावना हुन सक्ने भनेपछि अध्यागमनका अधिकारीहरूले चाँडै फिर्ता पठाउने तयारी गरेका थिए ।
ती पुरुषले जर्मनीमा राम्रो उपचार पाउने आसमा स्पेनको राहदानीमा जर्मनी जान लागेको बताएका थिए ।