निर्वाचन क्षेत्र निर्धारणको बहस : निर्वाचन क्षेत्र कहाँ घट्ला, कहाँ बढ्ला

निर्वाचन क्षेत्र निर्धारणको बहस : निर्वाचन क्षेत्र कहाँ घट्ला, कहाँ बढ्ला

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र निर्धारण गर्न बनेको आयोग प्रतिवेदन लेखनका लागि ‘एकान्तवास' बसेपछि विज्ञहरूले क्षेत्र निर्धारणका आ-आफ्ना सूत्र अघि सारेका छन् ।जनसंख्या र भूगोलका आधारमा क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पाएको आयोगले १० दिनभित्र प्रतिवेदन तयार पारी सरकारलाई बुझाउनुपर्नेछ ।

क्षेत्र निर्धारणको आधार जनसंख्या कि भूगोल भन्ने लामो विवादबीच संविधानमा पहिलो संशोधन गरेर जनसंख्या मुख्य र भूगोल दोस्रो आधार बनाउने व्यवस्था गरिएको हो । भूगोललाई बढी जोड दिँदा धेरै जनसंख्या भएको तराई/मधेसमा कम क्षेत्र बन्ने आशंका मधेसकेन्द्रित दललाई छ भने जनसंख्यालाई मुख्य आधार मान्दा हिमाली र पहाडी क्षेत्रका एक जिल्लामा एक निर्वाचन क्षेत्रसमेत बन्ने स्थिति नरहने भन्दै पहाड र हिमालबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको शंका छ । ‘त्यसैले जनसंख्या र भूगोल दुवैलाई आधार मानेर क्षेत्र निर्धारण गर्ने भनेर संविधानमा व्यवस्था गरिएको हो,' तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भने, ‘आयोग यो विषयमा कन्भिस छ भन्ने विश्वास छ ।'

आयोगले धेरै जनसंख्या भएका क्षेत्रमा एक चरणको छलफल गरे पनि समय अभावको कारण देखाउँदै पर्याप्त छलफल नगरी प्रतिवेदन लेखनमा जुटेको छ । २१ दिनको समयसीमा साथ हाल कायम २ सय ४० निर्वाचन क्षेत्रलाई १ सय ६५ मा सीमित गर्ने र एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर दुई प्रदेशसभाको निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मा आयोगलाई छ । एक जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरी ७५ क्षेत्र निर्धारण गर्ने र बाँकी ९० निर्वाचन क्षेत्र जनसंख्या आधारमा निर्धारण गर्नु सबैभन्दा राम्रो सूत्र हुने केही विज्ञको भनाइ छ । तर, अब जिल्ला नभई प्रदेशमा संख्या छुट्याउने र प्रदेशपछि मात्र जिल्लामा क्षेत्र निर्धारण गर्नुपर्ने भन्ने मत पनि उत्तिकै दह्रो छ ।

संविधानविद् राधेश्याम अधिकारी सबै जिल्लामा एक निर्वाचन क्षेत्र हुने गरी क्षेत्र निर्धारण गर्नुपर्ने बताउँछन् । ‘एक निर्वाचन क्षेत्र हुने जिल्ला कति हुन्, त्यो छुट्याउने । त्यसपछि कुनै जिल्लामा हाल भएकै जति निर्वाचन क्षेत्र भए त्यस्तो जिल्लाको क्षेत्र नचलाउने र बाँकी जिल्लामा भूगोल र जनसंख्यालाई अनुपात मिलाएर क्षेत्र निर्धारण गर्दा छिटो र सरल हुन्छ,' अधिकारीले भने ।

प्रदेश निर्माण गर्दा रुकुम र नवलपरासी जिल्लालाई दुई वटा प्रदेशमा विभाजन गरिएका कारण जिल्लाको संख्या ७५ कि ७७ भन्ने विवाद पनि अन्त्य भएको छैन । यो विवादबीच जिल्लाको संख्या कायम गरेर अघि बढ्ने जिम्मा पनि आयोगकै काँधमा छ । पहाडी र हिमाली जिल्लामा ठूलो भूभाग रहे पनि जनसंख्या थोरै छ । २ नम्बर प्रदेशमा निकै थोरै भूगोल छ तर धेरै जनसंख्या छ ।

आयोगले २० वर्षसम्मका लागि क्षेत्र निर्धारण गर्ने भएकाले यसमा धेरैको चासो छ । अर्कोतर्फ आयोगले गरेको क्षेत्र निर्धारणका विषयमा कुनै पनि अदालतमा मुद्दा नलाग्ने किटानी व्यवस्था संविधानमा गरिएको छ । संविधानको धारा २ सय ८६ अनुसार क्षेत्र निर्धारण गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा साउन ५ गते गठित आयोगलाई २१ दिनको समयसीमा दिइएको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्तको सूत्र

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एक जिल्लामा एक निर्वाचन क्षेत्र कायम रहने गरी निर्वाचन क्षेत्र निर्धारणको सूत्र अघि सारेका छन् । ०६८ को राष्ट्रिय जनगणनाअनुसार २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनसंख्यालाई आधार मानेर ९० सिट बाँडफाँट गरिएको उनले बताए । कुल भूगोलको २२ प्रतिशत एउटै जिल्ला जुम्लाले ओगटेको छ भने प्रदेश नम्बर २ का आठ जिल्लाले जम्मा ८ प्रतिशत भूगोल ओगटेका छन् । ‘एउटा मात्र आधारमा टेक्न सक्ने अवस्था छैन,' उनले भने ।

‘एक निर्वाचन क्षेत्र हुने जिल्ला कति हुन्, त्यो छुट्याउने । त्यसपछि भूगोल र जनसंख्यालाई अनुपात मिलाएर क्षेत्र निर्धारण गर्दा छिटो र सरल हुन्छ ।'
राधेश्याम अधिकारी, संविधानविद्
जति जनसंख्या भए पनि एक जिल्लामा एक निर्वाचन क्षेत्र र दुई निर्वाचन क्षेत्रका लागि त्यस जिल्लाको २ लाख ५५ हजारभन्दा बढी जनसंख्या हुनुपर्छ ।
नीलकण्ठ उप्रेती, पूर्वप्रमुख निर्वाचन आयुक्त

जनसंख्याका आधारमा ७ वटा प्रदेशमा क्षेत्र छुट्याउने र त्यसपछि प्रदेशले आफ्नो जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरी निर्धारण गर्नुपर्छ ।
मीनेन्द्र रिजाल, कांग्रेस नेता

सबै जिल्लालाई एक/एक निर्वाचन क्षेत्र र बाँकीलाई जनसंख्याका आधारमा गर्नुपर्छ ।
डा.खिमलाल देवकोटा, प्रशासनविद्

जति जनसंख्या भए पनि एक जिल्लामा एक निर्वाचन क्षेत्र र दुई निर्वाचन क्षेत्रका लागि त्यस जिल्लाको २ लाख ५५ हजारभन्दा बढी जनसंख्या हुनुपर्ने उप्रेतीको प्रस्ताव छ । उनको प्रस्तावले सबैभन्दा कम ६ हजार ५ सय ३८ जनसंख्या भएको मनाङलाई एक सिट कायम राख्न राहत पुग्ने देखिन्छ । तर, २ लाख ५० हजार ८ सय ९८ जनसंख्या रहेको बैतडीले ५ हजार जनसंख्या कम हुँदा एउटा मात्र निर्वाचन क्षेत्र पाउने अवस्था छ ।

२ नम्बर प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सामा ४/४ वटा निर्वाचन क्षेत्र बन्नेछन् भने सर्लाहीमा ५ निर्वाचन क्षेत्र बन्नेछन् । उप्रेतीले अघि सारेको सूत्रअनुसार काठमाडौंमा भने १० निर्वाचन यथावत रहनेछन् । झापामा ५, मोरङमा ६, रुपेन्देही र कैलालीमा ५/५ निर्वाचन क्षेत्र बन्नेछन् ।

कांग्रेस नेता मीनेन्द्र रिजालको सूत्र

कांग्रेस नेता रिजाल क्षेत्र निर्धारणको पहिलो आधार जनसंख्या र दोस्रो आधार भूगोल भएकाले आयोगले यी कुरामा ध्यान दिनुपर्ने बताउँछन् । जनसंख्याका आधारमा ७ वटा प्रदेशमा क्षेत्र छुट्याउने र त्यसपछि प्रदेशले आफ्नो जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरी निर्धारण गर्नुपर्ने बताउँछन् । जनसंख्या र भूगोललाई बराबरी आधार मानेर हाल कायम २ सय ४० निर्वाचन क्षेत्रलाई हेर्दा सबैभन्दा बढी २ नम्बर प्रदेशमा ४८ र ५ नम्बर प्रदेशमा १५ वटा निर्वाचन क्षेत्र हुने रिजालको सूत्र छ । रिजालले जिल्लागत, जनसंख्या,जनसंख्या र भूगोल तथा पुरानो २ सय ४० निर्वाचन क्षेत्रलाई मात्र आधार मानेर पनि क्षेत्र निर्धारणका विभिन्न उपाय अघि सारेका छन् ।

डा.खिमलाल देवकोटाका तीन विकल्प

प्रशासनविद् डा. खिमलाल देवकोटाले क्षेत्र निर्धारणका तीन आधार तयार पारेका छन् । पहिलो सबै जिल्लालाई एक एक निर्वाचन क्षेत्र र बाँकीलाई जनसंख्याका आधारमा । त्यसो गर्दा मनाङ, मुस्ताङ र डोल्पासहित १६ जिल्लामा एक/एक निर्वाचन क्षेत्र र ३७ वटा जिल्लामा दुई निर्वाचन क्षेत्र हुन्छन् । ओलखढुंगा, ललितपुर र बाँकेलगायत १४ जिल्लामा तीन-तीन वटा, धनुषा, सुनसरी र सर्लाहीसहित सातवटा जिल्लामा चार र काठमाडौंमा ७ वटा निर्वाचन क्षेत्र बन्नेछन् ।

देवकोटाको दोस्रो विकल्प : जनसंख्यालाई ८० र भूगोललाई २० प्रतिशत आधार २५ जिल्लामा एक, २७ मा दुई, १२ मा तीन, सातमा ४, तीनवटामा ५ र काठमाडौंमा ९ निर्वाचन क्षेत्र बन्नेछन् । यस्तै, देवकोटाले जनसंख्या ६०, भूगोल २० र २० प्रतिशत जिल्लाको सामाजिक, आर्थिक परिसूचकका रूपमा लिएर क्षेत्र निर्धारण गर्न सकिने तेस्रो विकल्प पनि अघि सारेका छन् । यसअनुसार १४ जिल्लामा एक, ४० मा दुई, १३ मा तीन, ७ जिल्लामा ४ र काठमाडौंमा ८ निर्वाचन क्षेत्र बन्नेछन् ।

जिल्ला ७५ कि ७७

क्षेत्र निर्धारण आयोगले ७५ कि ७७ जिल्ला भनी विज्ञसँग राय माग्दा अधिकांशले ७७ जिल्ला नै भएको सुझाव आयोगलाई दिएका छन् । प्रदेशको संरचनामा रुकुम र नवलपरासी जिल्लाको भूभाग दुई/दुई वटा प्रदेशमा विभाजन गरिएपछि दुई जिल्ला थप हुने वा पुरानै ७५ जिल्ला कायम हुने भन्ने अन्योल छ ।

संविधानका जानकार टीकाराम भट्टराईले संविधानको अनुसूचीमा रुकुम र नवलपरासीको दुई दुई भाग परेकाले जिल्लाको संख्या ७७ हुने तर्क गरे । ‘अनुसूची पनि संविधानकै भाग भएको र क्षेत्र निर्धारण आयोगले संविधान संशोधन गर्न नसक्ने भएकाले ७७ जिल्ला कायम गरेर क्षेत्र निर्धारण गर्नुपर्छ भनेर आयोगलाई सुझाव दिएका छौं,' भट्टराईले भने । कानुनमन्त्री यज्ञबहादुर थापाले पनि शनिबार राजधानीमा आयोजित एक अन्तक्र्रियामा ७७ जिल्ला कायम हुने भनी सार्वजनिक अभिव्यक्ति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.