जाजरकोटमा विद्युत सेवा अवरुद्ध
जाजरकोट : जाजरकोटमा विद्युत सेवा अवरुद्ध भएको छ। अत्यधिक वर्षातका कारण सदरमुकाम खलंगामा विद्युत आपुर्ति गदै आएको साङ्टा रिसाङ लघु जलविद्युत आयोजनाको कुलो पहिरोले भत्काएपछि शनिबार देखि विद्युत सेवा अवरुद्ध भएको हो।
विद्युत नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज प्रभावित भएका छन भने सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा समस्या परेको छ। विद्युत नहुँदा मोवाईल चार्ज गर्न समेत समस्या परेको स्थानीयको भनाई छ।
केन्द्रीय विद्युत प्रशारण लाईन नजोडिएको खलंगामा लघु जलविद्युत आयोजनाको कुलो पटक पटक पहिरोले भत्काउँदा विद्युत अवरुद्ध हुने गरेको छ। विद्युतको कुलो मर्मतको काम भइरहेको साङटारिसाङ लघु जलविद्युत आयोजनाका अध्यक्ष शिवप्रसाद शर्माले जनाए।