युरोपबाट पनि वाइवाइ उत्पादन
काठमाडौं : नेपालको लोकप्रिय ब्रान्ड वाइवाइको युरोपबाट व्यावसायिक उत्पादन सुरु भएको छ । युरोपको सर्बियामा नवनिर्मित वाइवाइ प्लान्टबाट युरोपियन उपभोक्ताका लागि वाइवाइ उत्पादन सुरु भएको हो ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार सर्बियास्थित वाइवाइको प्लान्टमा व्यावसायिक उत्पादनको उद्घाटन गरे । ‘नेपाली उत्पादन विश्वव्यापी ब्रान्ड बन्न सम्भव छ भन्ने मेरो सपना साकार भएको छ', उनले भने, ‘यो प्रत्येक नेपालीका लागि गौरवको विषय हो कि हामीले पनि युरोप जस्तो प्रतिस्पर्धी बजारमा उद्यम व्यवसाय विस्तार गर्न सक्छौं ।'
अध्यक्ष चौधरीले वाइवाइमार्फत युरोपमा नेपाललाई चिनाउन पाएकोमा आफू गौरवान्वित भएको बताए । यसबाट युवा उद्यमीका लागि नेपालबाट विश्वमा उद्यम व्यवसाय फैलाउन सकिन्छ भन्ने सन्देश प्रवाह भएको बताए ।
वाइवाइ विश्वव्यापी उपभोक्ताबीच तीव्र गतिमा लोकप्रिय बनिरहेको छ । वाइवाइको नेपालमा फैलिने क्रमसँगै विश्व बजारमा पनि विस्तार भइरहेको छ । हालैमात्र सीजी इन्डस्ट्रियल पार्क नवलपरासीमा वाइवाइको थप एक प्रोडक्सन युनिटको विस्तारसँगै नेपालमा सातवटा प्रोडक्सन युनिट रहेका छन् । केही समयअघि पश्चिम नेपालको बर्दियाबाट वाइवाइ उत्पादन सुरुभएको थियो । निकट भविष्यमा पूर्वी नेपालबाट पनि वाइवाइ उत्पादनका लागि आवश्यक तयारी सुरु भइसकेको छ ।
भारतीय उपभोक्ताबीच वाइवाइको लोकप्रियता बढ्दो क्रममा छ । भारतमा हालसम्म नौवटा प्रोडक्सन युनिट स्थापना भइसकेका छन् भने थप विस्तार हुने क्रम जारी छ । भारतीय नुडल्स बजारमा वाइवाइले २७ प्रतिशत हिस्सासहित दोस्रो स्थान ओगटेको छ ।
नेपाल र भारतपछि वाइवाइ युरोप, अफ्रिका, मध्यपूर्व र एसियाका अन्य देशमा विस्तार गर्ने रणनीति अनुरूप हाल युरोपबाट उत्पादन सुरु भएको हो । सन् २०२० सम्ममा विश्वका थप १० ठाउँबाट वाइवाइ उत्पादन गर्ने योजना राखिएको छ । सर्बियामा स्थापना भएको वाइवाइको यो १७औं प्लान्ट हो । सन् २०१७ भित्रै बंगलादेशबाट पनि वाइवाइ उत्पादन सुरु गर्ने लक्ष्यअनुरूप काम भइरहेको छ ।
‘यस अवसरमा म नेपाल र विश्वव्यापी छरिएर रहनु भएका आम नेपालीमा बधाई दिन चाहान्छु । किनभने तपाइले नै वाइवाइलाई विश्वव्यापी ब्रान्ड बनाउनु भएको हो । यो हामी सबै नेपालीको ब्रान्ड हो', अध्यक्ष चौधरीले भने ।