कामना र सेवाको एकीकृत कारोबार
काठमाडौं : कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । कामना सेवा विकास बैंकको नामबाट कारोबार सुरु भएको उक्त एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका थिए । नयाँ बन्ने विकास बैंकको केन्द्रीय कार्यालय साबिक कामना विकास बैंकको केन्द्रीय कार्यालय सिर्जनाचोक, पोखरामा रहनेछ ।
पोखरामा सम्पन्न एकीकृत कारोबार शुभारम्भ समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यले गरेका थिए । कार्यक्रममा संस्थाको गतिविधि सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले जानकारी गराएका थिए । एकीकृत कारोबारपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ६ करोड पुगेको छ । यसैगरी निक्षेप १२ अर्ब ६० करोड, कर्जा ११ अर्ब ५१ करोड, शाखा सञ्जाल ४०, एटीएम संख्या १६ र ग्राहक संख्या एक लाख ७१ हजार पुगेको बैंकले जनाएको छ ।
दुई वर्षभित्र नेपालभर शाखा विस्तार गर्ने योजना बनाएको बैंकले काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै भवनबाट अत्याधुनिक सुविधासहित बैंकिङ सेवा प्रदान गर्ने गरी केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने जानकारी गराएको छ । एकीकृत कारोबार शुभारम्भ समारोहमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
बैंकले लक्ष्मी आदर्श माविलाई विज्ञान प्रयोगशाला स्थापनार्थ दुई लाख, शिव गोरक्षनाथ पिठ सिद्घा श्रम पचभैया मन्दिर भवनको जिर्णोद्वारका लागि दुई लाख, सेयरकास्ट इनिसिएटिभ नेपाललाई राष्ट्रियस्तरको बैंकिङ शिक्षा प्रवद्र्घनका लागि दुई लाख, अरन्यज्योति पुस्तकालय लेखनाथलाई एक लाखबराबरका कम्प्युटर सामग्री र मितेरी नारी समूहलाई चौतारा निर्माणमा सहयोगार्थ ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
यसका साथै बैंकका कर्मचारी विशाल खड्कालाई अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा विगत चार वर्षदेखि लगातार सिंगल तथा डबल इभेन्ट्समा प्रथम स्थान हासिल गरी स्वर्ण पदक जित्न सफल भएकोमा सम्मान स्वरूप नगद २५ हजार प्रदान गरेको बैंकले जनाएको छ ।