पुर्ख्यौली थलो छोड्न नमान्दा पहिरोको जोखिममा फोप्लीबासी

पुर्ख्यौली थलो छोड्न नमान्दा पहिरोको जोखिममा फोप्लीबासी

फोप्ली(प्यूठान): आफू जन्मे हुर्केको थलो छाड्न नमानेपछि नौ बहिनी गाउँपालिकास्थित फोप्ली प्यूठानका पहिरो पीडितहरु जोखिममै दैनिकी कटाइरहेका छन्। गतवर्ष साउनमा आएको पहिरोले धेरै मानवीय क्षति पुर्‌याएर पीडामा थलिएको फोप्ली गाउँ यसपाली पनि सुरक्षित छैन्। पीडितहरु आफ्नो जन्मथलो छाडेर अन्यत्र जान आनाकानी गरेपछि दाताहरुले जोखिमस्थलमै घर बनाइदिएका छन्।

भूगर्वविद्को टोलीले अध्ययन प्रतिवेदन निकाल्न ढिलाई गरेपछि पीडितहरुको रोजाई अनुसार नै घर बनेका हुन्। अघिल्लो वर्ष गाउँमा पहिरो गएको तीन महिनापछि अध्ययनका लागि आएको भूगर्वविद्को टोलीले वर्षदिन बितिसक्दासमेत प्रतिवेदन नबुझाउँदा पीडितहरुले निराश बनेका थिए। कारितास नेपालको आर्थिक सहयोगमा फूलवारी एकिकृत ग्रामिण विकास संस्था खैरा प्यूठानले फोप्लीमा मात्रै ४० घर निर्माण गरेको छ।

प्रति घरपरिवारका लागि संस्थाले एक लाख १३ हजार रुपैँया खर्च गरेको छ। संस्थाका अध्यक्ष लोक बहादुर बस्नेतका अनुसार सवै घर निर्माणका लागि कुल ४५ लाख २० हजार रुपैयाँ खर्च भएको छ। ‘पीडितको रोजाइमा घर बनेका छन्’, बस्नेतले भने, ‘सुरक्षित स्थानमा निर्माण गर्न खोजिएपनि पीडितहरुले मान्नुभएन।'

पहिरोले फोप्लीको पुरै गाउँ फाँटेर चिराचिरा भएको छ। मलिलो रातोमाटो भएकाले गाउँमा अझैपनि पोहिरोको उच्च जोखिम देखिन्छ । यसपाली पनि धेरै ठाउँहरु चर्केर पहिरो जाने खतरामा छन् । ‘पोहोरसालको पहिरोले घर बगायो’, फोप्ली म्यालपाटाका स्थानीय कमल कुवँरले भने, ‘एक वर्षपछि घर बनाउन लागेका छौँ। पानी पर्दा रातभर निद्रा लाग्दैन् ।'पहिरोको कारण फोप्लीका भृकुना, गातीना, चरीवाङ लगाएत गाउँहरु पुरै जोखिममा परेको उनले जानकारी गराए ।
जनता आवास कार्यक्रम अन्तर्गत समेत यहाँ घर निर्माणाधीन अवस्थामा रहेका छन्। प्रति घरपरिवार दुई लाख ३७ हजार सात सय रुपैयाँका दरले रकम सहयोग गरिएको भवन निर्माण डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वरराज जोसीले जानकारी गराए। ‘

पीडितहरुका लागि सामूहीक आवास बनाउने योजनामा थियौँ’, उनले भने, ‘उपयूक्त जग्गा नभएपछि सर्वदलीय निर्णयबाट घर निर्माण थालिएको हो।'बांगेशाल र रस्पुरकोटमा रहेका वादीसमूह सहित जिल्लाभर ८६ वटा घरहरु निर्माण गर्ने योजना रहेको उनको भनाई छ। उच्च जोखिममा रहेकाले फोप्लीमा आठ वटा घरहरुको निर्माण सुरु नभएको उनले बताए।

अध्ययन गरेर फर्किएको नौ महिनापछि भूगर्वविद्को प्रतिवेदन शुक्रवार आएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराए। आउँदो बिहीबार जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठक बसेर यसवारे विस्तृत छलफल गरिने उनको भनाई छ।

गत साउन १० र ११ गते आएको अविरल वर्षातपछिको पहिरोमा पुरिएर फोप्लीका एकै गाउँका २८ जना सहित जिल्लाभर ४० जनाको ज्यान गएको थियो । दुई सय २१ घर पूर्णरुपमा क्षति भएका छन् । नौ सय ३२ घरहरुमा आंशिक क्षति पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.