मेयर रेणु दाहाल : पिपलको बोट कि, चुत्रोको काँडा ?

मेयर रेणु दाहाल : पिपलको बोट कि, चुत्रोको काँडा ?

‘धेरै समयपछि मन खुसी छ। कारण, भरतपुर महानगरपालिकाको प्रमुखजस्तो गरिमामाय पदमा रेणु दिदीले जित्नुभएको छ। दिदीसँग गला मिलाएर बधाई दिन मन थियो। तर, दुर्भाग्य। त्यो अवसर मबाट खोसियो । रेणु दिदी ढुंगाको कापमा उम्रिएको पिपलको बोट हो। सधैं अरुलाई शीतल दिनु। खास गरी भरतपुरका मतदाताप्रतिको धर्म नबिर्सनु। मेयर जितेको दिनमा जति पवित्र हुनुहुन्छ, पदबाट हटेको दिन पनि तपाईंको स्वच्छता, इमान र पवित्रतामा कसैले चोर औंला ठड्याउन नसकोस्’

आफूले भोगेका पीडा, रेणुले आफूलाई दिएको सहारा, जनप्रतिनिधि र सुशाासनका बारेमा गहन शुभकामना दिने पात्र अरु होइनन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशकी श्रीमती सिर्जना त्रिपाठी हुन् । प्रकाश दाहालले तेस्री श्रीमती भित्रयाएपछि माइतीघर कास्कीमा बस्दै आएकी सिर्जनालाई रेणुले दिएको आड–भरोसा स्टाटसबाट झल्किन्छ । भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु विजयी भए लगत्तै सिर्जनाले फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

छोरी, बुहारी, आमा, श्रीमती, दिदी, बहिनीमा रेणुको भूमिका अब सीमित रहेन । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर समृद्ध र व्यवस्थित महानगरपालिका बनाउने परिकल्पना गरेकी रेणुका वरीपरी घेरिने समूह कस्तो हुन्छ, त्यसमा नै उनको राजनीतिक भविष्य निर्धारित हुनेछ । तान्ने र घचेटने (पुल र पुस) तत्वका रुपमा पिता प्रचण्डले रेणुलाई यहाँसम्म ल्याउन सफल भए । अब प्रचण्ड र उनको परिवारले तानेर वा घचेटेर उनलाई माथि लैजान सक्ने अवस्था कम हुन सक्छ ।

आफनो क्षमता, कार्यकुशलता, अवलम्बन गर्ने सुशासन, बिषयगत विशेषज्ञताको सदुपयोग, समयको सदुपयोग, कम बोल्ने र काम धेरै काम गर्नेतिर ध्यान दिइन् भने रेणुले आफूलाई कुशल मेयरको रुपमा स्थापित गर्न सक्छिन् । पद र प्रतिष्ठाको लागि चाकडी र चाप्लुसी गर्नेलाई रेणुले वरीपरीको घेरामा राखिन भने उनको राजनीतिक भविष्य यही नै अन्तिम हुनेछ ।

आफ्ना कार्यशैलीगत त्रुटीहरु औल्याउनेसँग सघन छलफल गर्ने, आफू स्पष्ट हुने र आलोचकलाई स्पष्ट पार्ने दिशामा आफूलाई खार्दै लगिन भने रेणुका लागि मेयर पद प्रगतिका लागि ‘इन्ट्री पोइन्ट’ हुन सक्छ । जनता आफ्नो नेता वा अगुवा आफ्नो जस्तै जीवनशैली बाँचेको देख्न चाहन्छन् । प्रचण्डको परिवारमा सबैभन्दा सरल जीवनशैली व्यतित गर्ने रेणुको आगामी जीवनशैली कस्तो हुन्छ, त्यसले नै उनका आगामी कदम र राजनीतिक भविष्यको आँकलन गर्न सकिनेछ ।

रेणुले आफूलाई पिपलको रुख जस्तै गरी भरतपुरका जनतालाई शितलता प्रदान गर्नु त छदैछ, मुलुकलाई नै सकारात्मक सन्देश प्रवाह गर्ने नमूना पात्रको रुपमा स्थापित गर्न सक्नु पर्ने दायित्व पनि छ । त्यस्तो गर्न सकिन भने रेणुमा परिपक्वता बढेको अनुभव गर्न सकिन्छ। जिम्मेवारीले मान्छेलाई परिपक्व बनाउँछ । उनका पति अर्जुन पाठक देख्दा जति इमान्दार र सोझा देखिन्छन्, आफनो काममा त्यत्तिकै परिपक्व मानिन्छन् । अर्जुन आफ्नो कुरा प्वाक्क बोलिहाल्दैनन्, पहिले अरुका कुरा सुन्छन्, अनि आफ्ना कुरा भन्छन् । अरुका धेरै कुरा सुन्ने र आफ्ना थोरै कुरा भन्ने अर्जुन नै रेणुका पहिलो गुरु हुन सक्छन् ।

चितवनको भरतपुर नेपालको मध्यभागमा अवस्थित महानगरपालिका हो । भरतपुरलाई मुलुकभरका आँखाले हेरिनेछ । रेणुले दिने न्याय, उनले अगाडि सार्ने विकास योजना, उनले जनतालाई दिने राहत, उनले आफ्ना मतदातालाई दिने प्रेम, आफनो परिवार र आफन्तप्रति दर्शाउने सद्भाव, आफूलाई नियालिरहने राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायलाई दिने जवाफ,आफूलाई निर्वाचित गराउने कांग्रेससहितको गठबन्धन प्रति गर्ने न्याय जस्ता विषय रेणुका आगामी कार्यशैलीले प्रष्टयाउदै जानेछन् ।

पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगा बीचको तरुल भने जस्तो र आफ्नै भाइबुहारीले भने जस्तो दुई ढुंगाको कापमा उम्रिएको पिपल अवस्थामा रहेकी रेणुलाई ज्ञान, सीप, क्षमताको खाँचो छ । ज्ञान, सीप र क्षमता सिकाउन रेणुको ढोका ढकढक्याउन लाइन लागेर पुग्नेको संख्या कम हुनेछैन । अरुले दिएको ज्ञान, सीप र क्षमता लिन थालिन भने रेणुका अशुभ दिन सुरु हुनेछन् । लोभ, लालच र स्वार्थरहित ढंगबाट कोही पनि रेणुलाई ज्ञान, सीप र क्षमता दिन आउँदैन । रेणुले आफूलाई चाहिएको ज्ञान, सीप र क्षमता आफूले चाहेका मान्छेबाट लिनुपर्छ । जोसँग समय मागेर रेणु आफँै धाउनुपर्छ । अनि बल्ल रेणु चोखो रहनेछिन् ।

रेणुका पिता प्रचण्ड आफूले भेटनु पर्ने मान्छेलाई बोलाएर भेटन पाउँदैनन् । प्रचण्डसँग स्वार्थ लिन चाहनेलाई उनको सचिवालयले भेटाउँछ । त्यसो गर्दा सचिवालयले लाभ प्राप्त गर्न सक्छ । सचिवालयले मिलाइदिएको समयमा प्रचण्ड हिडनुपर्छ । एक किसिमले भन्ने हो भने प्रचण्ड सचिवालयबाट कैद छन् । आफूलाई पिताको जस्तै सचिवालयबाट कैद गराइन् भने रेणुले प्रगति गर्न सक्नेछैनन् ।

आफूले गर्नु पर्ने साना तिना काम स्वकीय सचिवालय मार्फत् नै गराउने व्यवस्था मिलाइन् र आफूलाई कामको बोझबाट हलुका बनाइ राखिन् भने उनले आफूले चाहेका मान्छेसँग भेट्न सक्छिन्, आफूले चाहेको बिषय सिक्न सक्छिन् र आफना जनताको घर आँगनमा पुगिरहन पनि भ्याउँछिन् । चुनाव जितेपछि रोल्पा, काठमाडौ र सिराहाका जनताको घरदैलोमा नपुग्ने पिता प्रचण्डको कार्यशैलीलाई अवलम्बन गरिन भने रेणुको पतन मेयर पदमा सपथग्रहण गरेकै दिनदेखि सुरु हुन्छ । आफूले चाहेका मान्छे भेटने, उनीहरुका ज्ञान, सीप र क्षमता सिक्नेमा रेणुले आफूलाई केन्द्रित गराइन् भने उनी सफल हुन्छिन् ।

कम उमेरमा धेरै आलोचना सहने महिला मध्येकी एक रेणुले प्रतिपक्षी एमाले नेता कार्यकर्तासँग सघन छलफल गर्नुपर्छ । आफूलाई असफल बनाउन रणनीति बनाउनेसँग खेल्न सक्नु कुशल राजनीति हो । यो कुरा रेणुले निरन्तर दिमागमा राख्नुपर्छ । एमालेका नेता कार्यकर्ताले आफूलाई जतिसुकै आलोचना गरेपनि एमालेका कार्यकर्तालाई आलोचना गर्ने र घटना भइसकेपछि प्रतिक्रिया जनाउने माओवादी शैलीलाई रेणुले त्याग्नुपर्छ । आफूमा स्वच्छता कायम राख्न सकेको खण्डमा रेणुलाई जसले जति आलोचना गरेपनि त्यसको केही औचित्य रहदैन । सूचनालाई पारदर्शी बनाउने र जनता समक्ष पुरयाउनु पर्ने सूचना सबै भन्दा पहिले पुर्याउने शैली अवलम्बन गर्नुपर्छ । माओवादीको खण्डन संस्कृति र आफ्नो आलोचना गर्नेलाई प्रतिक्रियावादी ठान्ने प्रवृत्तिलाई रेणुले त्याग्नुपर्नेछ ।

आफ्नो महानगर भित्रका जनताको चाहना, भावना र आकांक्षा बुझ्न प्रत्येक महिनामा एक पटक सबै जनप्रतिनिधिलाई राखेर सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नु राम्रो हुन्छ । त्यसले पक्ष र विपक्षका आवाज प्रत्यक्ष रुपमा आफैँले सुन्ने, ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । यो काम रेणुले मात्रै होइन, गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरका जनप्रतिनिधिले गर्न सक्छन । नपुगेका योजना थप्न, विकास निर्माणको अवस्था थाहा पाउन, थप केही गर्नु पर्ने काम गर्न यसले मद्दत पुरयाउनेछ ।

आफूप्रति उर्लिएको सद्भाव कायम राख्न सकिनन् र उल्टै झम्टिने प्रवृत्ति देखाइन् भने रेणु दुई ढुंगाको कापमा उम्रिएको पिपल हुने छैनन, बरु चुत्राको काँडा जस्तै हुनेछिन् । चुत्रो खान मिठो भएपनि त्यो प्राप्त गर्न त्यत्तिकै कठिन हुन्छ । मेयर पद रहुञ्जेल रेणुलाई नमस्कार त गर्लान् तर पछाडिबाट धारेहात लगाइरहनेछन् । आफूमाथि धारेहात लगाउनेलाई आफैले नमस्कार गरेर मन जित्ने शैली जनप्रतिनिधिले अवलम्बन गर्नुपर्छ । अरुको सम्मान नै आफ्नो सम्मान हो भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.