कर्णालीले तटबन्ध भत्काउँदा पक्की पुलसंगै बस्ती जोखिममा
बर्दियाः पूर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत बर्दिया र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल सुरक्षाका लागि बर्दिया तर्फ बनाईएको तटबन्ध भत्किँदा राजापुर क्षेत्रका बस्तीहरु जोखिममा परेका छन।
वर्षासँगै कर्णाली नदीमा बढेको पानीको बहावका कारण सुरक्षाका लागि बनाईएको तटबन्धको तारजाली र ढुँगा बगाएपछि पुल पनि जोखिममा परेको हो। यतिबेला स्थानीयहरु पनि निकै त्रसित भएका छन्।
‘तटबन्ध भत्किएपछि अब हाम्रो बस्ती नै जोखिममा पर्यो’ राजापुर निवासी स्थानीय गान्दिप कायस्थले बताए। उनले भने, ‘समयमै दीर्घकालीन रुपमा बलियो तटबन्ध नगरे राजापुर बजार, छेदिया, घुमनाह, भालुफाँटा, सीमावर्ती शंकरपुर बस्ती नरहन सक्छ।’
तटबन्ध बनाउने काम भइरहे पनि पानीको उच्च वहावका कारण जाली अडिन नसकेको स्थानीय बताउँछन्। पुल सुरक्षाका लागि बनाइएको ड्यामको साइडमा २० मिटर गहिरो ठूलो खाडल रहेको छ। जसले गर्दा ड्याम फुटेपछि धेरै खतरा रहेको हुने आशंका छ।
राजापुर क्षेत्रका करिव १५ सय घरधुरी छन्। दुई वर्ष अघि रसुवा जेभी नामक निर्माण कम्पनीले हुलाकी मार्गमा अवस्थित बर्दिया कैलाली जोड्ने सत्तीपुल निर्माण गरेको थियो। ५ सय ३१ मिटर लम्वाई रहेको पुल करिव १७ करोड रुपैयाको लागतमा निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ।
कम्पनीले पुल जोगाउन बनाएको ड्याम र तारजाली सहितको तटवन्धन कमसल भएपछि भत्किएको स्थानीयको आरोप छ। स्थानीय शिक्षक छप्पुराम थारुका अनुसार पुल निर्माण सम्पन्न भैसके पनि पुलको प्रयोग गर्न नपाएको गुनासो गरे।