बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जोखिम
बैतडी: बैतडीका ४ ओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन्। विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि चारओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए।
उनले भने ‘पहिरोको हिसाबले डिलाशैनीको बांगाबगर, रुद्रेश्वर उच्च जोखिममा छ भने दोगडाकेदारको सित्तड र न्वाली पनि उच्च जोखिममा रहेका छन्। यसैगरी पुरचौडी नगरपालिकाको मल्लादेही र मेलौली नगरपालिकाको विशालपुर पहिरोको उच्च जोखिममा रहेका छन्।'
ती ठाउँहरुमा बर्षौंदेखि पहिरो खसिरहेकाले पहिरो रोकथामका लागि जिल्लास्तरबाट खासै पहल गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनले भने ‘यी ठाउँहरुमा धेरै ठूलो पहिरो खसेको छ। स्थानीयस्तरको लगानीले नियन्त्रण गर्न गाह्रो छ।'
जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर पहिरोले अहिले सम्म ९ जना परिवार विस्थापित गरिसकेको छ भने १५० बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ। यस्तै दोगडाकेदारको डोल पहिरोले ९ जनाको ज्यानै लिइसकेको भने कैयौं रोपनी खेतीयोग्य जमीन बगाइसकेको छ।
यस्तै जिल्लाको पुरचौंडी नगरपालिकाको मल्लादेही पहिरो पनि जिल्लाको ठूलो पहिरोको रुपमा रहेको छ। सो पहिरोले पनि त्यो क्षेत्रका धेरै नागरिकको उठिबास भएको छ। यसैगरी मेलौली नगरपालिकाको विशालपुर पहिरोले पनि धेरैको घरखेत र जग्गा बगाएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ।