सशस्त्रमा बढुवा भएकाको पदस्थापन भएन
काठमाडौं : सशस्त्र प्रहरी बलमा बढुवा भएको तीन महिना बित्न लाग्दा पनि दर्जन बढी वरिष्ठ अधिकृतको पदस्थापन भएको छैन । मन्त्रिपरिषद्को बैठकले वैशाख २१ गते सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू क्रमशः पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो ।
विशिष्ट श्रेणी भएकाले मन्त्रिपरिषद्बाटै पदस्थापन हुनुपर्ने उनीहरूको अहिलेसम्म पदस्थापन भएको छैन । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठले दिएको आन्तरिक जिम्मेवारीअनुसार केसी, थापा र पौडेलले काम गर्दै आएका छन् ।
त्यसैगरी, पाँच जना डीआईजीहरू क्रमशः चिरञ्जीवी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रवीणकुमार श्रेष्ठ र कवीन्द्रमान श्रेष्ठको समेत बढुवा भएको दुई महिना बित्न लाग्दासमेत पदस्थापन भएको छैन । आईजीपी श्रेष्ठले केसीलाई प्रशासन, थापालाई महानगरीय र पौडेललाई एकेडेमीको जिम्मेवारी दिएका छन् । डीआईजीपछि वरिष्ठ उपरीक्षक (एसएसपी) हरू क्रमशः अभिकुमार खत्री, शम्भु सुवेदी, गणेशबहादुर ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी र राजेन्द्र शाक्यको समेत पदस्थापन भएको छैन । डीआईजी र एसएसपीहरू पनि अहिले आईजीपी श्रेष्ठले दिएको पुरानै जिम्मेवारीअनुसार काम गरिरहेका छन् ।
बढुवा भएका वरिष्ठ अधिकृतलाई स्थायी जिम्मेवारी नतोक्दा संगठनको काममा बाधा पुगेको छ । एसएसपीलाई महाशाखा प्रमुख, डीआईजीलाई क्षेत्रीय वा निर्देशनालय प्रमुख र एआईजीलाई विभागीय प्रमुख बनाउँदै आएको सशस्त्रको मुख्यालयमा अहिले मौखिक आदेशमा काम भइरहेको छ । चेन अफ कमान्डमा चल्ने संस्थामा वरिष्ठलाई जिम्मेवारीविहीन बनाएर राख्दा जुनियर प्रहरी अधिकृतले नटेर्ने र काम गर्नेले पनि सरुवा हुने टुंगो नभएर ‘कन्फ्युजन' मा काम गर्नुपरेको मुख्यालयका एक अधिकृत बताउँछन् ।
एक वरिष्ठ अधिकृतले भने, ‘बल्लतल्ल बढुवा भयो तर स्थायी जिम्मेवारी छैन, मौखिक आदेशको भरमा कति दिन काम गर्ने ? ' मुख्यालयका सहायक प्रवक्ता डीएसपी जीवन केसीले पदस्थापनको तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘पदस्थापनको तयारी गरिरहेका छौं, अहिले आन्तरिक जिम्मेवारी दिएर खटाइएको छ ।'
सशस्त्र प्रहरी बल मुख्यालय स्रोतका अनुसार डीआईजी र एसएसपीहरू पुरानै जिम्मेवारीअनुसार कार्यालयमा हाजिर गरिरहेका छन् । दरबन्दी खाली हुँदा पनि पदस्थापन नभएपछि उनीहरूले पदस्थापनका लागि संगठन प्रमुख श्रेष्ठसँग गुनासो गरेका थिए । तर, आईजीपी श्रेष्ठले ‘अब गर्ने' भन्दै टार्दै आएको स्रोत बताउँछ ।