भारत-चीन तनाव र स्वाभिमान
डोक्लाम । यो कुन चराको नाम हो ? होइन, यो कुनै चराको नाम होइन । डोक्लाम भुटानको त्यो क्षेत्र हो, जुन एक महिनादेखि भारत-चीनबीचको भूराजनीतिक द्वन्द्वको सिकार भइरहेको छ । त्यहाँ भारत र चीनका सेना सम्भावित युद्धको लागि तयार भएर बसेका छन् । भारत भन्छ- भुटानको सुरक्षाको जिम्मा मेरो हो । ऊ भन्छ- चीनले त्यस भूभागमा सडक बनाउँदा सिलिगुडी (एकदमै साँघुरो मध्यवर्ती मार्ग भएकाले भारत यसलाई चिकेन्स नेक भन्छ । सिलिगुडी नेपाली भूभागदेखि ज्यादै नजिक छ) आफ्नो उत्तरपूर्वी भूभागको बाँकी भारतसँग सम्पर्क टुट्छ । राष्ट्रिय सुरक्षामा असर पर्छ । चीन भन्छ- यो उसको र भुटानको द्विपक्षीय मामला हो । यसमा भारतले चासो लिनुको कुनै तुक छैन । चीनले यस भूभागको रणनीतिक महत्व बुझेको छ । ऊ चाहन्छ- भुटानले आफूसँग सीमा जोडिएको अर्को भूखण्डको ठूलै भाग लेओस् । बरु, तर यो भूभाग उसलाई देओस् ।
सीमा विवादमा दुर्ई ठूला छिमेकी जुध्दा एउटा सानो देश गम्भीर संकटमा फसेको छ । हाम्रो लागि यो कुनै नौलो परिदृश्य भने होइन । ख्याल गर्नुपर्ने कुरा के हो भने दुर्ई ठूला छिमेकी जुध्दामात्रै होइन, नजिकिँदा पनि बीचमा रहेको देश चेपुवामा पर्दो रहेछ । हाम्रो कालापानी-लिम्पियाधुरा क्षेत्र यसको साक्षी छ।
साँढेको जुधाइ, बाच्छाको मिचाइ
सन् १९६२ । भारत-चीनबीचको न्यानो 'भाइ-भाइ सम्बन्ध' मा आगो लागेजस्तो भएको थियो । कारण थियो- अरुणाचल प्रदेशकेन्द्रित सीमा विवाद । विवादले उग्र रूप लिँदै गएपछि जवाहरलाल नेहरूका 'भाइ-भाइ' जुधे । हुन त युद्धमा कसैले जित्दैन भनिन्छ तर एक महिनासम्म चलेको चीनविरुद्धको युद्धमा भारतले ठूलै हार बेहोर्नुपर्यो । यसले भारतको राष्ट्रिय स्वाभिमानमा चोट लाग्यो । तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूलाई पनि यस पराजयले मानसिक आघात पुर्यायो । यही आघातजनित पक्षाघातका कारण उनी बिते भनिन्छ । दुर्ई छिमेकीबीचको युद्धमा नेपाल तटस्थ बसेको थियो, तर हामीले पनि युद्ध हारे झैं भयो ।
हामीसँग आफ्ना ससाना, नितान्त वैयक्तिक स्वार्थको लागि देशलाई जुवाको खालमा राखेर सर्वस्व हार्नेबाहेक अर्को कुनै सीप नै छैन जस्तो छ ।
चीनले खेदेको भारतीय फौज नेपालको दार्चुला जिल्लामा पर्ने कालापानीमा शरण लिन आयो । राज्यको उपस्थिति न्यून थियो, त्यसैले विदेशी फौजले नेपाली भूमिमा टेक्दा पनि प्रश्न उठाउने कोही भएन होला । अथवा विदेशी फौजको उपस्थितिप्रति तत्कालीन स्थानीय सरकारले प्रश्नै उठाए पनि, केन्द्रलाई खबर गरे पनि केन्द्रले नसुने झैं पो गर्यो कि ? यस सम्बन्धमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले कालापानीमा भारतीय सैनिकको उपस्थितिसम्बन्धी आफूलाई जानकारी प्राप्त नभएकाले त्यो भूभाग खाली नगराएको बताएको नेपाली छापाहरूले उल्लेख गरेका छन् ।
विष्ट प्रधानमन्त्री छँदा बीपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा नेपालको उत्तरी सीमामा भारतले स्थापना गरेका इन्डो-टिबटन बोर्डर पोलिस पोस्टहरू हटाएका थिए । त्यतिखेर राजा महेन्द्र सर्वेसर्वा भइसकेका थिए । कंग्रेसलगायतका विपक्षी दलहरू निरंकुशताविरुद्ध संघर्षरत थिए । छिमेकी प्रजातान्त्रिक देशको सहयोग सद्भाव उनीहरूलाई प्राप्त नहुने कुरै भएन । समग्रमा नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने विषयमा सरकार र प्रतिपक्षी दलहरू चुकेको देखियो ।
सन् २०१५, हरेक १० वर्षमा एउटा 'क्रान्ति' हुने यो देशमा पाँच दशकको अवधिमा धेरै क्रान्ति, धेरै राजनीतिक उथलपुथल भइसकेका थिए । यसैको फलस्वरूप नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेको थियो । अनेकानेक राजनीतिक परिवर्तनबीच वर्तमान नेपाल सन् '६२' को नेपालभन्दा पनि कमजोर भइसकेको रहेछ, देशको कूटनीतिक हैसियत धेरै कमजोर भइसकेको रहेछ भन्ने पुनर्पुष्टि त्यतिखेर भयो, जतिखेर नेहरूका भाइ-भाइ अर्थात् भारत र चीनले लिपुलेक नाकालाई द्विपक्षीय व्यापार विस्तारको लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै एकचालीसबुँदे सम्झौता गरे ।
विज्ञहरूले नेपाललाई संलग्न नगराई गरिएको यस सम्झौताको उग्र विरोध गरे । सांसदहरूले तत्कालीन सुशील कोइराला सरकारको ध्यानाकर्षण गराए र नेपाली राजनीतिको सदाबहार प्रतिपक्ष अर्थात् वामपन्थी राजनीतिक दलहरूले आगो ओकले । तर भारत र चीनले सुनेको नसुने झैं गरे । हामीलाई छिमेकीले धोका दिए, पञ्चशीलको सिद्धान्तले साथ दिएन । असंलग्न राष्ट्रको आन्दोलनले साथ दिएन । आफ्नो शक्ति नभएपछि, सामथ्र्य नभएपछि त परिवारजनले पनि छोड्छन्, छिमेकीले काँध थाप्लान् भनी सोच्नु मूर्खता हो ।
रणनीतिक अल्पदृष्टि
हाम्रा नेताहरू, विज्ञहरू दुर्ई ठूला छिमेकीको बढ्दो आर्थिक हैसियतबाट फाइदा लिनुपर्छ भनेर थाक्दैनन् । कुनै बेला दुर्ई ढुंगाबीचको तरुललाई, दुर्ई ढुंगाबीचको डाइनामाइट बनाउने सपना पालेकाहरू अब त्यसलाई दुई ठूला बजारबीचको गतिशील पुल बनाउनुपर्छ भन्छन् । सबैभन्दा पहिला यस तरुललाई सम्भावित संकटहरूबाट जोगाउनुपर्छ भन्नेचाहिँ सोच्दैनन् ।
उनीहरूलाई सुन्दा, पढ्दा, गुन्दा यस्तो लाग्छ; भारत र चीन हाम्रै राष्ट्रिय समृद्धिको लागि आर्थिक विकासको नाके उकालो चढ्दैछन् । उनीहरूका लागि हाम्रो हृदयमा सदाशयताबाहेक केही छैन । के उनीहरूलाई थाहा छैन- हाम्रो भौगोलिक अवस्थितिले हामीलाई अवसरहरू मात्रै दिएको छैन, चुनौती पनि दिएको छ ? के उनीहरूलाई थाहा छैन- प्राकृतिक स्रोतसाधनमा धनी तर ठूला देशहरूबीच च्यापिएका धेरै देश हरिकंगाल छन् ? के उनीहरूलाई थाहा छैन छिमेकीको समृद्धिबाट फाइदा लिन संस्थागत क्षमता आवश्यक पर्छ, जुन लामो राजनीतिक द्वन्द्व, अस्थिरता र महाभूकम्पको खण्डहरबाट बाहिर निस्कन संघर्षरत हाम्रो देशसँग छैन ?
हामीले छिमेकीको समृद्धिबाट फाइदा लिनेमात्रै होइन, छिमेकीहरू लड्न खोज्दा तिनीहरूबीच मध्यस्थता गरी लडाइँ रोक्न प्रयास गर्नुपर्छ । तर द्वन्द्वको बेला कसरी आफ्नो भूभागको रक्षा गर्नुपर्छ, अतिक्रमण हुन दिनुहुँदैन भन्ने चेत हामीमा छैन, न त त्यसो गर्न आवश्यक कूटनीतिक सीप नै छ, वास्तवमा इतिहास हामीलाई पाठ पढाउँदा-पढाउँदै थाकेको छ, हारेको छ । हामीसँग आफ्ना ससाना, नितान्त वैयक्तिक स्वार्थको लागि देशलाई जुवाको खालमा राखेर सर्वस्व हार्नेबाहेक अर्को कुनै सीप नै छैन जस्तो छ । यही रणनीतिक अल्पदृष्टिका कारण त होला हामीले सुगौली सन्धिमार्फत ठूलो भूखण्ड गुमाएर १,४७,१८१ वर्ग किमिमा खुम्चिनुपरेको छ ।
अन्त्यमा
'महान्' देशहरू आफ्नो इतिहास, आफ्नो पराजय, आफ्नो अपमान कहिल्यै बिर्संदैनन् । भारतले ६२ को पराजय बिर्सन सक्ने कुरै भएन । चीन र कोरियाले दोस्रो विश्वयुद्धताका जापानले गरेको अत्याचार बिर्सने कुरै भएन । चीनलाई भारतले बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागिता नजनाएको पचेको छैन, भारतलाई चीनले पाकिस्तानलाई काखी च्यापेको पचिरहेको छैन ।
हाम्रो चलन भने नितान्त फरक छ । यहाँ इतिहास बिर्सन प्रेरित गरिन्छ, यहाँ 'गाउँछ गीत नेपाली' गाउन पाइँदैन किनभने त्यहाँ नेपाली पुगेको टिष्टाको कुरा छ, काँगडाको कुरा छ, कुनै शक्तिको सामु नझुकेको नेपालीको गौरव गाथा छ । लम्पसारवादको यो युगमा यो सबै वर्जित छ ।
तर वर्जित छैन सञ्चारमाध्यममा मञ्चन भइरहेको अर्को महाभारत हेर्न । युट्युब हेर्नोस्, भारतीय टेलिभिजन च्यानलहरू हेर्नोस्, पत्रिकाहरू हेर्नोस्, जताततै देख्नुहुनेछ— उनीहरू कसरी चीनविरुद्ध खनिएका छन् अनि सबैलाई चिनियाँ सामान बहिष्कार गरेर उसलाई घुँडा टेकाउन आग्रह गरिरहेका छन् । उनीहरू सिमानामा क्षेप्यास्त्रको तैनाथीको प्रचार गरिरहेका छन् । सेनाको बढ्दो तैनाथीको कुरा गरिरहेका छन् ।
चीनका सञ्चारमाध्यम पनि के कम ! भारतीयहरूले जस्तै आफ्नो क्षमताको प्रचारप्रसार गरेर, आफ्ना फौजको मारक क्षमता प्रदर्शन गरेर शत्रुराष्ट्रको नूर गिराउन लागिपरेका छन् । यस्तो लाग्छ, एक्काइसौं शताब्दीका महाशक्तिहरूको लडाइँ छापामार्फत लडिँदैछ, युट्युबमार्फत लडिँदैछ, टेलिभिजन च्यानलमार्फत लडिँदैछ ।
यी लडाइँहरू आमजनले पनि हेरौं, राजनीतिक नेतृत्वले, फिफ्थ कलमिस्टहरूले पनि हेरून् । के थाहा चमत्कार पो हुन्छ कि ? हामीलाई हाम्रो इतिहास दुख्न थाल्छ कि ? चोइटिएको भूगोल दुख्न थाल्छ कि ? राष्ट्रिय स्वाभिमानको भावनाले हाम्रो छाती फुल्न थाल्छ कि ?