ट्रम्पद्वारा रूस र चीनको प्रशंसा
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रूसले गरेको सहयोगको प्रशंसा गरेका छन् । उनले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रूस र चीनको पनि समर्थन रहेको भन्दै त्यसको प्रशंसा गरेका हुन् । उक्त नाकाबन्दीको पक्षमा रूस र चीनले पनि मत जाहेर गरेको भन्दै यस विषयमा प्राप्त सहयोग प्रशंसनीय रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीको बारेमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा मतदान भएको थियो । त्यस नाकाबन्दीको अमेरिकी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यो प्रतिक्रिया आएको हो ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रस्तावमा गरिएको समर्थनले गर्दा अमेरिकाको सम्बन्ध ती देशहरूसँग आगामी दिनमा राम्रो हुनेछ र उत्तर कोरियामाथिको नाकाबन्दीका पक्षमा राष्ट्रपति ट्रम्पले चीन र रूससँग मिलेर काम गर्नुहुनेछ ।'
उत्तर कोरियाले भने संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको विरोध गरेको छ । उसले एकपक्षीय रूपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको बताएको छ । उत्तर कोरियाले केही समययता जारी राखेको क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहको उत्तर कोरियाले बेवास्ता गर्ने गरेको छ ।
त्यसै कारण अमेरिकाले उत्तर कोरियामाथि पछिल्लो समयमा नयाँ र कडा खालको नाकाबन्दी लगाएको छ । उत्तर कोरियाले पछिल्लोपटक जुलाई महिनाको पहिलो साता एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै हालै आएको एक समाचारमा भनिएको छ, ‘उत्तर कोरियालाई अमेरिकाको यो नाकाबन्दीले कुनै असर पर्दैन बरु हामीलाई आफैं आत्मनिर्भर हुन सघाउ पुर्याउँछ ।'
अमेरिका र उसका अन्तर्राष्ट्रिय सहयोगी समूहले भने उत्तर कोरियाका लागि यो पछिल्लो नाकाबन्दीले वर्षेनि करोडौँ अमेरिकी डलर बराबरको क्षति पुग्ने बताएका छन् । संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुन उल्लंघन गरेको प्रतिक्रिया दिँदै आए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन ।
प्योङयाङ र वासिङटनलाई सही विकल्प छान्न आग्रह
मनिला : चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरिया, अमेरिका तथा दक्षिण कोरियालाई सही विकल्प छान्दै उनीहरूबीच देखिएको तनाव रोकथाम गर्न आइतबार आग्रह गरेका छन् । ‘प्योङयाङ, वासिङटन र सोल आफ्ना जनता तथा क्षेत्रीय शान्तिका लागि उत्तम विकल्प छान्दै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ', वाङले भने । उनले दक्षिणपूर्वी एसियाली मुलुक (आसियन)को विदेश मन्त्रीस्तरको छलफलका लागि भएको भेलाको अवसरमा आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ होसँगको भेटका क्रममा यस्तो आग्रह गरेका हुन् । कोरियाली प्रायद्वीपमा देखिएको आणविक हतियार परीक्षणका विषयमा चिनियाँ नीति तथा दृष्टिकोण प्रस्ट रहेको बताउँदै यसलाई दुवै समूहले उत्तम विकल्प रोजेर अघि बढ्न सुझाव पनि दिए ।
उनले कोरियाली प्रायद्वीपको अवस्था अहिले संकटको विन्दुमा पुगेको बताए । वाङले त्यस अवसरमा उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को संकल्प प्रस्तावलाई थप उल्लंघन नगर्न सुझाव दिएका थिए । अमेरिका र सोलले पनि कोरियाली प्रायद्वीपमा तनाव बढाउने किसिमका गतिविधि रोक्नुपर्ने माग गरे । उत्तर कोरियाली विदेशमन्त्री रिले कोरियाली प्रायद्वीपमा रहेको आणविक विषयमा आफ्नो पूर्व अडान दोहोर्याउनुभएको थियो । यस विषयमा प्योङयाङ चीनसँग सम्पर्कमा रहन चाहेको रिको धारणा थियो ।