‘हामी दिल्ली-चाइना कार्ड खेल्दैनौं'
नयाँदिल्ली : एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीले दिल्ली र चाइना कार्ड नखेल्ने बताएका छन् । एमालेले चीन र भारतसँग समदूरी सम्बन्ध राख्न खोजेको उनले स्पष्ट पारे ।
एमालेनिकट विद्यार्थीहरूको संगठन अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियन लक्ष्मीनगर सीए कमिटीले आयोजना गरेको एक कार्यक्रममा भट्टराईले भने, ‘हामी दिल्ली र चीन कार्ड खेल्दैनौ । अनि छिमेकी मुलुकविरुद्ध नेपालको भूमिलाई प्रयोग हुन पनि दिँदैनौं ।'
भट्टराईले भुटान र दार्जिलिंगको मामिलामा नेपालले कुनै चासो नराखेको भन्दै नेपालको आन्तरिक मामिलामा पनि छिमेकीको चासो अमान्य हुने स्पष्ट पारे । एक प्रसंगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै कारण नेपाल-भारतबीचको सम्बन्धमा चिसोपना आएको भन्दै उनले एमालेले भारतसँग दूरी बढाउन नखोजेको प्रस्ट पारे । उनले भने, ‘हामी भारतसँग निहुँ खोज्ने र दूरी बढाउने पक्षमा छैनौं ।'
आर्थिक क्रान्तिको बाटोमा उन्मुख नेपालमा चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका दक्ष जनशक्तिले अवसरका लागि मन खुम्च्याउनु नपर्ने बताए । १० वर्षभित्र एप्पल, गुगललगायत बहुराष्ट्रिय कम्पनीका कार्यालय खुल्ने सम्भावना औंल्याउँदै उनले भने, ‘सीए पढेको विद्यार्थीले काम खोज्न, बेलायत, अमेरिका जानुपर्दैन, काठमाडौंमै सम्भावना छ । नेपालमै उहाँहरूले काम पाउनुहुन्छ ।'
भट्टराईले कात्तिक, मंसिरसम्ममा मुलुकमा तीन तहको निर्वाचन भइसक्ने र बहुमतसहित एमालेले सरकारको नेतृत्व गर्नेसमेत जिकिर गरे । कार्यक्रममा सहभागी हुन आइतबार दिल्ली आएका भट्टराई सोमबार काठमाडौं फर्कंदै छन् ।