सुरुङबाट उम्केको पानीले खेत बगायो
फिदिम: हेँवा खोलामा निर्माणाधीन तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि निर्माण गरिएको सुरुङबाट उम्केको पानीले फिदिम नगरपालीका ४ स्थित हेँवा खोला आसपासको २८ रोपनी खेतमा क्षति पुर्याएको छ।आइतबार रातिको अविरल बर्षातका कारण फेमे खोलामा बाढी आएको थियो।
पुरिएको खेतमा स्थानीले भर्खर धान रोपेका थिए। खेतमा अहिले ढुंगा र रोडाको थुप्रो लागेको छ। अझै पनि पहिरो जान सक्ने खतरा भएकाले नजिकै रहेको दिलकुमारको घर पनि पहिरोको जोखिममा परेको छ।
फेमे खोलामा रहेको सुरुङबाट पानी छिरेर सागुटार स्थित जंगलमा पानी उम्किएको हो।पानी उम्किएर सुरुङमुनिको जमिनमा पहिरो गएको हो।
‘जलविद्युत् निर्माण कम्पनिको लापरवाहीका कारण आफूहरुले क्षति व्यहोर्नु परेको छ,' स्थानीय लक्ष्मी तामाङले भने, ‘सम्भावित खताराबाट बच्न यो भन्दा पहिले पनि हामीले निर्माण कम्पनीलाइ सचेत गराएका थियौँ, चासो नदिइएकाले समस्या आएको हो।'
पहिरोले फिदिम ४ सागटारका दिल कुमार याक्पाङदेनको २१ रोपनी र हिलिहाङ ७ चुवाबोटेमा रहेको लक्ष्मी तामाङको खेत पुरेको हो।