भरतपुर महानगरमा सत्ताको दुरुपयोग भयो: खनाल
दमक: नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चितवनको भरतपुर महानगरपालिकामा सत्ताको चरम दुरुपयोग भएको दाबी गरेका छन्। सत्तामा रहदाको शक्तिको कारण गठबन्धनले जित आफ्नो पक्षमा निकालेको आरोप उनले लगाएका हुन्।
पैसा बाँडेर राज्य पक्षले जित निकालेको बताउदै उनले कांग्रेस माओबादी मिलेर अनेक जाल रचेर एमालेलाई हराएको आरोप लगाएका हुन्। सोमबार झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भरतपुरमा लोकतन्त्रले हारेको बताए।
साथै उनले सत्ता गठबन्धनको जित भरतपुरका जनताका लागि दुर्भाग्य भएको बताए। ‘भरतपुरमा हामीले विरोध जनाउदा जनाउदै पनि राज्यले दमन गरेरै चुनाव जितेको हो', उनले भने, 'अन्य ठाउँमा रामै्र संग निर्वाचन सम्पन्न भएपनि भरतपुरमा भने लोकतन्त्रले हारेको छ।'
उनले पैसा र पहुँचका भरमा भरतपुरमा कांग्रेस माओवादी गठबन्धनले जितेको आरोप लगाए। भरतपुर निर्वाचनको मौन अवधिमा २ वटा गाडीलाई पास दिएको भए पनि गठबन्धनका सबैजनाले हुलका हुल गाडी लिएर जनतालाई प्रभावित पर्न घर घरमा गएको खनालले बताए।
चुनावको परिणाम सहर्ष स्विकारेको बताउदै उनले भरतपुरको विषयमा अदालतको निर्णय नै दुर्भाग्य साबित भएको बताए।यद्यपी खनालले अदालतको निर्णयलाई एमालेले सधै सम्मान गर्ने बताए । उनले अहिले सरकार प्रदेश र संघीय तहको निर्वाचन टार्ने खेलमा लागेको बताए।
अहिले सम्म निर्वाचनको मिति तोक्न नसक्नु लज्जास्पद कुरा भएको उनको बुझाई छ। उनले तत्काल निर्वाचनको मिति तोक्न समेत एमालेले दवाब दिई रहेको बताए। अबका निर्वाचनमा एमाले पहिलो हुन कुनै पनि शक्ति रोक्न नसक्ने उनको जिकिर थियो।