श्रीलङ्कामा डेंगु प्रकोप नियन्त्रण बाहिर
कोलोम्बो: केही महिनाअघिदेखि जारी रहेको प्रकोप नियन्त्रणका लागि सरकारले केही प्रभावकारी कार्यक्रम ल्याएको भए पनि श्रीलङ्कामा यसको प्रकोप नियन्त्रणमा आएको छैन।
स्वास्थ्य अधिकारीहरूले सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको भए तापनि त्यो प्रभावकारी हुन सकिरहेको छैन भनेका छन्। श्रीलङ्कामा यस वर्षको शुरुदेखि यसको प्रकोप सुरु भएको हो। यसबाट हालसम्म डेङ्गुबाट तीन सयभन्दा बढीको मृत्यु भएको छ।
डेङ्गुबाट एक लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन्। श्रीलङ्का रेडक्रश सोसाइटीले हालैमात्र सार्वजनिक गरेको तथ्यांकमा यो अवस्था देखाइएको छ।
त्यहाँ अघिल्लो वर्ष पनि यसको प्रकोप थियो। तर सन् २०१६ को तुलनामा यस वर्षको शुरुदेखि अहिलेसम्म डेङ्गु प्रभावितको संख्या दोब्बर भएको जनाइएको छ।
श्रीलङ्का रेडक्रशका स्वयंसेवकको ठूलो संख्याले डेङ्गु प्रभावितको रोकथामको लागि सरकारलाई सहयोग गर्दै आएको पनि जनाइएको छ।
लामखुट्टेको कारण लाग्ने यस रोगको नियन्त्रणका लागि घरआँगन सरसफाइ राख्न पनि स्वयंसेवकले सल्लाह दिएका छन्। रासस/सिन्ह्वा